२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

व्यापारीसँग कोठा भाडा नलिन घरधनीलाई आग्रह

त्रियुगा नगरपालिका कार्यालय । तस्बिरः महेश्वर

उदयपुर- उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाले चैतदेखि असारसम्मको घरबहाल कर नलिने निर्णय गरेको छ । नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण चैत ११ देखि सुरु लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै व्यापारी व्यवसायीलाई राहतस्वरुप ४ महिनाको घरबहाल कर नलिने निर्णय गरेको हो ।

नगरपालिकाको राजश्व परामर्श समितिको निर्णय अनुसार लकडाउनले मर्माहत भएका व्यापारी व्यवसायीलाई राहतस्वरुप चैतदेखि असारसम्मको बहाल कर नलिने निर्णय गरेको नगरप्रमुख बलदेव चौधरीले बताए । उनका अनुसार रिक्सा, अटो र ठेलागाडाको पार्किङ शूल्क आर्थिकवर्ष ०७६/७७ र ०७७/७८ सम्मकै नलिने निर्णय पनि नगरपालिकाले गरेको छ । बैठकपछि मेयर चौधरीद्वारा जारी विज्ञप्तीमा नगरभित्रका साना तथा मझौला घरेलु उद्योग दर्ता र नविकरणमा  ५० प्रतिशत कर छुट गर्ने निर्णयसमेत गरेको उल्लेख छ ।

‘विश्वब्यापी कोरोनासँग लडिरहेको अवस्थामा भाईरस नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउनले देशको आर्थिक अवस्था धरासायी बन्दै गएको हुनाले राहतस्वरुप घरबहाल कर र पार्किङ शूल्क नलिने निर्णय गरिएको छ’ विज्ञप्तीमा उल्लेख छ ‘यसले निश्चय नै व्यापार व्यवसाय र स्वरोजगार गरिखाने नगरबासीलाई राहत महसुस गराउने हाम्रो अपेक्षा छ ।’

विज्ञप्तीमा ३ नं. वडा भुल्केका २८ जनामा संक्रमित देखिएपछि कोरोनाको केन्द्रबिन्दु बन्न पुगेपछि सिंगो नगरपालिका आतंकित हुन पुगेको भन्दै नगरक्षेत्रका उद्योगी, व्यापार, व्यवसायी र अटो, टेम्पो चालकलाई कर छुट दिने निर्णय गरेको उल्लेख छ । ‘नगरबासी व्यापार, व्यवसायी लकडाउनको चपेटामा परेका बेला आफू पनि बाँचौं र अरुलाई पनि बँचाऔं भन्ने नारासहित चैतदेखि असारसम्मको घरबहाल कर तथा अटो, टेम्पो र रिक्सा चालकलाई पार्किङ शूलक नलिने निर्णय गरिएको छ ।’

मेयर चौधरीले नगरपालिकाका सम्पूर्ण घरधनीलाई लकडाउनभरीको घरभाडा नलिन पनि आग्रह गरेका छन् । ‘लकडाउनले सिर्जना गरेको विषम परिस्थितिमा आम व्यापारी व्यवसायीलाई घरभाडा मात्र नलिए पनि निकै ठूलो सहयोग हुने भएकाले यो आग्रह गर्दछु’ उनले भनेका छन् ।

त्रियुगाले चालु वर्ष घरबहाल करवापत ४५ लाख संकलन हुने प्रक्षेपण गेको थियो । जसमा चैत पहिलो सातासम्म ५० लाखभन्दा बढी राजश्व उठिसकेको छ । राजश्व शाखाका सुब्बा गुरु ढकालका अनुसार घरबहाल करतर्फ चालु वर्षको प्रक्षेपणभन बढी संकलन भईसकेको र पार्किङ शूल्क १७ लाख ७७ हजारमा ठेक्का लागेको छ । आगामी वर्षदेखि पार्किङ शूल्क हटाउनेबारे छलफल भईरहेको पनि उनले बताए ।  

 

प्रकाशित: २४ वैशाख २०७७ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App