२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

बैँकका सीमित शाखा खुला, विद्युतीय कारोबार बढ्दै

काठमाडाैँ – मुलुकका बैँक तथा वित्तीय संस्थाले गत आइतबार आफ्ना सम्पूर्ण शाखा कार्यालय सञ्चालन गरी बैँकिङ सेवा दिए पनि मंगलबार सीमित शाखा मात्र खोलेका छन्।

गत चैत ३० गते चालु आवको तेस्रो त्रैमासिकको अन्तिम दिन भएकाले बैंकहरुको ऋण तथा सरकारी राजस्व भुक्तानी गर्न सम्पूर्ण शाखा कार्यालय सञ्चालन गरेका थिए। वैशाख २ गते केही शाखामात्र सञ्चालन गरेका हुन्। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार वैशाख १ गते सार्वजनिक बिदा परेकाले सम्पूर्ण बैँक तथा वित्तीय संस्थाका शाखा कार्यालय बन्द भएका थिए। वैशाख २ गते प्रदेश नम्बर १ र २ मा सिरुवा पर्व परेका कारण कुनै पनि शाखा कार्यालय नखुलेका हुन्।

मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएकाले प्रदेश १ र २ मा स्थानीय प्रशासनले पनि शाखा कार्यालय सञ्चालन गर्न रोक लगाएको हो। अन्य प्रदेशमा भने बैँक तथा वित्तीय संस्थाका केही शाखा आंशिक रुपमा खुलेको संघले जनाएको छ।सरकारले लकडाउन अवधिमा भीडभाड कम गरी विद्युतीय माध्यमको कारोबारलाई प्राथमिकता दिन अनुरोध गरेकाले विद्युतीय माध्यमबाट कारोबार गर्न नसक्ने ग्राहकलाई मात्र बैँक तथा वित्तीय संस्थामा आउन अनुरोध गर्दै आएको संघका अध्यक्ष भुवन दाहालले बताए।

बैँक तथा वित्तीय संस्थामा भीड कम गराउने उद्देश्यले जुनसुकै बैँकका एटिएम कार्ड जुनसुकै बैँकमा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिँदै उनले भने, ‘लकडाउनका बेला सर्वसाधारणलाई आफू नजिकैको एटिएमबाट पैसा झिक्न सजिलो होस् भन्ने उद्देश्यले सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको हो।’ लकडाउन घोषणा भएपछि विद्युतीय कारोबार बढ्दै गएको नेपाल क्लियरिङ हाउस लिमिटेडले जानकारी दिएको छ। लकडाउनका पहिलो साता करिब साढे १८ अर्ब रुपैयाँ बराबरको विद्युतीय कारोबार भएकोमा दोस्रो सातामा कारोबार रकम दोब्बर भएको छ।

दोस्रो सातामा करिब ३५ अर्ब ६० करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार फस्र्यौट भएको जनाइएको छ। क्लियरिङ हाउसले हाल कनेक्ट आरटिजिएस, एनपिआई, कनेक्ट आइपिएस, एनसिएचएल–आइपिएस र एनएचरिएल–इसिसी भुक्तानी प्रणाली सञ्चालनमा सेवा दिँदै आएको छ। उक्त भुक्तानी प्रणालीमा नेपाल राष्ट्र बैँक लगायत अन्य बैँक तथा वित्तीय संस्था आवद्ध छन्।

प्रकाशित: ३ वैशाख २०७७ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App