४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

थन्किए ग्यास बुलेट

धादिङ थाक्रे गाउँपालिका वडा नं ७ को जुँगेखोलामा रहेको श्री ग्यास उद्योग परिसरमा थन्किएका ग्याँस ढुवानी बुलेट। तस्बिर : सरिता / नागरिक

धादिङ – विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि देशभर लकडाउन छ। लकडाउन अगावै भान्साका लागि आवश्यक ग्यास सिलिण्डरको जोहो गरेकाहरूले खाली सिलिण्डर फिर्ता नगर्दा उद्योगमा आएका बुलेट थन्किएका हुन्। धादिङका १३ ग्यास रिफिल उद्योगले करिब १० लाख सिलिन्डर बजार पठाएका छन्। यी उद्योगले सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर बजार पठाउने गरेका छन्। ग्यासका बुलेट आए तर बजारमा पठाएका सिलिण्डर नआउदा समस्या परेको उद्योग संचालकहरू बताउँछन्।  

जिल्लाको थाक्रे गाउँपालिका वडा नं ७ जुंगेखोलामा रहेको श्री ग्यास उद्योगले काठमाण्डौं र धादिङमा एक लाख एक हजार चार सय ६४ सिलिण्डर बजार पठाएको छ। पठाएका सबै सिलिण्डर उद्योगमा नआएकाले बुलेटहरु थन्किएको उद्योगका स्टोर किपर श्यामकृष्ण उप्रेतीले बताए। ‘दैनिक ३५ सय देखि ४ हजार सिलिण्डर बजार पठाउने यस कम्पनीमा आएका २३ वटा ढुवानी वुलेट थन्किएको छ’, उनले भने, ‘पृथ्वी राजमार्गमा संचालित ग्याँस उद्योगहरूमा सिलिण्डर फिर्ता नभएपछि दुवानी गर्ने बुलेट थन्किनुपरेको छ।’ 

लकडाउनसँगै  बजारमा ग्यासको अभाव भएपछि सरकारले केही समय अघि आधा ग्यास मात्रै बजार पठाउन आग्रह गरेका थिए। सिलिण्डरमा आधा मात्रै भर्ने सरकारी निर्णयले बजारमा गएका ग्यास सिलिण्डर नै बिक्री नभएको उद्योगको भनाई छ। १४ दशमलव २ केजी ग्यास भरेर बजार पठाउने भएकोले भर्न सजिलो भए पनि आधा भर्दा पुरै समय निगरानी गर्नु पर्ने, ढुवानी खर्च र जनशक्तिको खर्च पनि उत्तिनै लाग्ने भएकोले घाटा समेत पर्ने उप्रेतीले बताए। ६ वटा वुलेट भण्डारण क्षमता भएको उक्त कम्पनीको मासिक २ सय ४८ टन आयात गर्न पाउने अनुमति हो।

 राजधानी काठमाडौं र छिमेकी जिल्लाहरूलाई मुख्य बजार बनाएर पृथ्वी राजमार्गमा संचालित ग्यास उद्योगहरूमा सिलिण्डर फिर्ता नभएपछि दुवानी गर्ने ६८ वटा ग्यास बुलेट धादिङमै थन्किएका छन्। जसका कारण रिफिलिङ कम्पनीमा बुलेट ट्याङकरहरूबाट ग्यास अनलोड समेत गर्न पाएका छैनन्। बुलेट ट्याङकर खाली नहुदाँ चालकहरू समेत अप्ठ्यारोमा परेका छन्। बजारमा लकडाउनअघि नै उपभोक्ताले ग्याँसको जोहो गरेकाले आधा सिलिन्डर ग्याँस नबिकेर होल्ड भएका छन्।

बुलेट आउने, सिलिन्डर नआउने यहीक्रम जारी रहे समस्या देखिने एक्लेफाँटस्थित श्रीराम ग्याँस उद्योगका व्यवस्थापक मिलन कार्कीले बताए। ‘बजारमा लकडाउन अघि नै ग्राहकहरूले ग्यासको जोहो गरेर राखेपछि आधा ग्यास किन्न नमानेपछि पनि आधा भरेर पठाएका सिलिण्डरहरू बजारमै होल्ड भएका छन्’ उनले भने, ‘जसका कारण उद्योगमा आएका ग्यास बुलेट त्यतिकै थन्किनु परेको छ।’ चितवन कुरिनटारदेखि धादिङ नौबिसेको पृथ्वी राजमार्ग क्षेत्रमा मात्रै १९ वटा ग्यास बोटलिङ उद्योग छन्।

बजारमा ग्यासको अभाव भएको गुनासो पछि स्थानीय प्रशासनले उद्योगहरुमा अनुगमन पनि गरेका थिए। अनुगमन गर्दा जिल्लामा रहेका १३ वटै उद्योगहरूबाट दैनिक माग भन्दा बढी ग्याँस काठमाडौं लगायतका ठाउँहरूमा वितरण गरिएको देखिन्छ। भारतबाट ग्याँस बोकेर आउने बुलेटका चालकलाई कोरोना भाइरस परीक्षण गर्न अध्यागमनमै २४ घण्टा निगरानीमा राख्न थालेपछि आपूर्तिमा ढिलाई भए पनि उद्योगहरूले बजारमा मागे भन्दा बढी नै पठाएको उद्योग संचालकहरूको भनाई छ। 

नेपाल आयल निगमले कोटा अनुसारको ग्याँस उठाउन उद्योगीहरूलाई दवाब दिँदै आएको र उद्योगीहरूले पुरै सिलिण्डर ग्याँस बजार पठाउन नपाउँदा रिफिलीङ उद्योगहरू दोहोरो मारमा परेको हुन। धादिङका प्रत्येक ग्याँस उद्योगहरुमा ७ देखि २३ ओटासम्म भारतबाट ग्याँस बोकेर आएका बुलेट ट्याङरहरू अनलोड हुनसकेको छैन। भारतबाट पर्याप्त मात्रामा खाना पकाउने ग्याँस आउने गरेको तर सिलिण्डरको अभावका कारण बजारमा आफुहरुले ग्याँस पठाउन नसक्दा आएका बुलेट ट्याकरहरु खाली गरेर समयमा नै फर्काउन नसकिएको कम्पनीको भनाई छ। 

 

प्रकाशित: १ वैशाख २०७७ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App