५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

घुम्ती पसलमार्फत किसानको तरकारी उपभोक्ताको दैलोमा

जिल्ला कृषि सहकारी संघ, भक्तपुरले बजार पठाउन ठिक पारेको पठाउने तरकारी प्याकिङ गरिँदै।  तस्बिर : नागरिक

काठमाडौं - लकडाउन सुरु भएको दिन भक्तपुरका च्याउ किसानसँग बजार पठाउन ठिक्क पारेको सात सय किलो च्याउ थियो। लकडाउनले बजारमा लैजाने र बिक्री गर्ने कुरा सहज थिएन। च्याउ घरमै राखेर केही दिन पर्खन सक्ने अवस्था पनि भएन। च्याउ उत्पादक संघका अध्यक्ष प्रेमनारायण अधिकारी लगायतका किसानले एउटा जुक्ति निकाले– नजिकै बसोबास गर्ने चिनजानका साथी तथा आफन्तको घरमा पुर्‍याउने। ‘राति १२ बजे उठ्यौं, च्याउका पाँच–पाँच केजीको पोका बनायौं र तीन बजेतिर घरघरमा लगेर बाहिर झुन्डाइदियौं,’ अधिकारीले भने, ‘घर फर्किएर बिहान सबैलाई फोन गरी च्याउ छाडेर आएका छौं, त्यसको व्यवस्थापन गर्नुहोला भन्यौं।

च्याउ यत्तिकै फाल्नुभन्दा त्यही नै उपयुक्त विकल्प रहेको देखेपछि घरघरमा पुर्‍याएको उनले जानकारी दिए। ‘यसबाट साथीहरु खुसी हुनुभयो। एक–दुई त टर्‍यो तर लकडाउन निरन्तर थियो, समस्या पर्ने देखियो,’ उनले भने, ‘किसानबीच नगरपालिका र प्रशासनसँग समन्वय गरेर जिल्ला कृषि सहकारी संघ भक्तपुरमार्फत टोलटोलमा पुर्‍याउने सल्लाह भयो र लकडाउनको तेस्रो दिनबाट व्यवस्थापन गर्ने गरी टोलटोलमा पुर्‍याउन थालियो।’ भक्तपुरको डोलेश्वरमा कलेक्सन सेन्टर छ। सम्पर्कमा रहेका किसानमार्फत कलेक्सन गर्ने गाडीले जम्मा गर्छ र एउटा टोलीले प्याकेजिङ गर्छ। दिउँसो १ः०० बजेपछि हामी बजारमा र सोसियल डिस्टेन्स कायम गर्दै तरकारी बिक्री गर्छौं,’ अधिकारी भन्छन्, ‘हामी विशेष गरी चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा जान्छौं। यसमा स्थानीय तहको ठूलो सहयोग र साथ छ।’ 

 यो प्रयाससँगै उपभोक्ताले सस्तो मूल्यमा तरकारी र किसानले राम्रो मूल्य पाएका छन्।

यसबाट उपभोक्ताले सस्तो मूल्यमा तरकारी पाएको र किसानले पनि राम्रो मूल्य पाएको अधिकारीको दाबी छ। जिल्ला कृषि सहकारी संघ भक्तपुरले घुम्ती पसल सञ्चालन गरेपछि धेरैतिर माग बढ्दै गएको छ। तर माग अनुसार पुग्न साधन, स्रोत नभएको उनी बताउँछन्। ‘धेरै ठाउँमा बोलाएका छन्। धेरै ठाउँ दोहोर्‍याएर जान पनि सकिएको छैन। सीमित स्रोत र साधनले अप्ठेरो पारेको छ,’ उनले भने, ‘भावनामा बगेर हुने कुरा होइन। यस्तो बेला सबै तर पुर्‍याउन चुनौती खडा हुँदो रहेछ। सामान्य आफ्नै सामानको व्यवस्थापन गर्न भनेर सुरु गरेको अभियानै बन्यो ।’
उक्त टोलीले १० देखि ३० प्रतिशतसम्म नाफा राखेर तरकारी बिक्री गर्दै आएको छ। ‘हामीले नाफाको लागिभन्दा व्यवस्थापन गर्न लागेको लागत र गुणस्तर कायम गर्दा लागत बढ्न जान्छ,’ उनले भने, ‘हामी सकेसम्म मूल्य सुपथ होस् भनेर सचेत छौं। उपभोक्ता र किसान कोही पनि मर्कामा नपरुन् भन्ने हाम्रो मान्यता छ।’

चितवनमा रहेको हंस अर्गानिक कृषि फार्मले आफ्नो र अन्य किसानको फार्ममा फलेका अर्गानिक तरकारी उपभोक्ताका घर, दैलोमा पुर्‍याएर बिक्री गरिरहेको छ। यसलाई संयोजन गरिरहेका व्यवसायी दिनेशकुमार चुके लकडाउनको समयमा भरतपुर नगरपालिकाको बजार क्षेत्रमा उपभोक्ताको घरघरमा तरकारी पुर्‍याउँदै आएको बताउँछन्। ‘एकैपटक ४० टनभन्दा बढी गाजर उत्पादन भयो। बजार पठाउन नसक्दा आधा त कुहिएर गयो। जिल्ला प्रशासन कार्यलयसँग समन्वय गरेर घुम्ती बिक्रीको विकल्प खोज्यौं,’ चुकेले भने, ‘अहिले किसानको खेतमा तरकारी कुहिएर जाने डर पनि छैन र सस्तो दरमा उपभोक्तालाई घरमै पुगेर तरकारी दिँदै आएका छौं।’ अहिले उनीहरुले बन्दा, मुला, गाँजर, भन्टा, चुकुन्दर लगायतका तरकारी बिक्री गर्दै आएका छन्। 

हामीले अहिलेको अवस्थामा सामान्य व्यवस्थापन खर्चको लागि नाफा राखेर गुणस्तरीय तरकारी उपभोक्ताको घर–घरमा पुर्‍याउने अभियान चलाएका छौं। उनले लकडाउनको अवधिमा तरकारीको माग बढेको भए पनि पछिसम्म पुग्ने गरी बिक्रीमा नियन्त्रण गर्दै आएको बताए। आफूहरुले अर्गानिक तरकारी बिक्री गर्दै आए पनि उपभोक्ताले चिन्न नसकेर प्राथमिकता नदिएको उनको गुनासो छ।लकडाउनले बजारमा तरकारी जान नपाएर बिक्री नभएपछि चितवन खैरहनीका अर्का किसान पुरन महतोले एक सामाजिक संस्थामार्फत न्यून आय भएका परिवारलाई निःशुल्क वितरणको लागि सहयोग गरेका छन्। उनले शुक्रबारमात्रै उनले एक ट्याक्टर बन्दा, भन्टा, फर्सी लगायत तरकारी सहयोग गरे। ‘अवस्था यस्तो छ, बाँचे अर्को वर्ष कमाइएला। तरकारी बिक्री भएन भन्ने खासै गुनासो छैन,’ नागरिकसँगको कुराकानीमा उनले भने, ‘खेतमा भएको बाँकी तरकारी पनि निःशुल्क वितरणको लागि सहयोग गर्छु। इच्छुक कोही भए सहकार्य गर्न आउनुहुँदा हुन्छ।’ 

प्रकाशित: १ वैशाख २०७७ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App