२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नाकाबन्दीमा थुप्रिएका ग्यास सिलिन्डर बल्ल बजारमा

पोखरा - कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा उपभोक्ताले ग्यास अभाव हुने ठाने पनि उद्योगीले भने आपूर्ति सहज रहेकाले मागअनुसार पाइने बताएका छन्। उद्योगीका अनुसार अहिले गण्डकी प्रदेशका सबै जिल्लामा पर्याप्त ग्यास उपलब्ध छ। पहिलेकै आकारमा आयात भइरहेकाले ग्यास अभाव नरहेको उद्योगीले बताएका छन्। पर्याप्त मात्रामा भित्रिएकाले आवश्यक भन्दा बढी सिलिन्डर घरमा थुपार्न जरुरी नरहेको पनि ग्यास उद्योगी र व्यापारीले बताएका छन्।  

गण्डकी प्रदेशको कास्कीमा गृहलक्ष्मी र शक्ति कम्पनीका ग्यास प्लान्ट छन्। ती उद्योगले नियमित रुपमा ग्यास आयात भएकाले अभाव नरहेको बताएका छन्। पोखरा क्षेत्रमा ग्यास बेच्ने अरु कम्पनीले पनि पहिलेकै आकारमा आयात गरेकाले अभाव नरहेको व्यवसायीले बताए। कोरोना भाइरसको त्रासले उपभोक्ताले ग्यास अभाव हुने ठाने पनि अहिलेका लागि पर्याप्त रहेको उद्योगीले बताएका छन्। शक्ति ग्यास उद्योगका कार्यालय प्रमुख मेघनाथ पौडेलले पहिलेकै आकारमा ग्यास बुलेट आउने क्रम जारी रहेकाले अभाव नरहेको बताए। ‘ग्यास पहिलेकै अवस्थामा सहज र सर्वसुलभ रुपमा पाइएको छ। भाइरसको त्रासले अभाव हुने हो कि भनेर हाउगुजी भएको हो,’ पौडेलले भने, ‘तत्काललाई ग्यास अभाव छैन। उपभोक्ताले मागेका बेला आवश्यकता अनुसार ग्यास किन्न सक्छन्।’

ग्यास पर्याप्त आयात भइरहेकाले अहिले नै उपभोक्ता डराउन आवश्यक नरहेको उनले बताए। पौडेलका अनुसार नाकाबन्दीका बेला घरघरमा सिलिन्डर थुपारेका उपभोक्ताले अहिले तिनै सिलिन्डर भरिभराउ राख्न खोज्दा बजारमा अभावको हल्ला फैलिएको हो। ‘नाकाबन्दीका बेला धेरै उपभोक्ताले घरमा सिलिन्डर भित्र्याए। ती सबै सिलिन्डर प्रयोगमा आएका थिएनन्,’ पौडेलले भने, ‘अहिले कोरोनाको त्रासपछि ग्यास अभाव हुने हो कि भनेर उपभोक्ताले नाकाबन्दीका बेला थुपारेका तिनै रित्ता सिलिन्डर भरेर राख्न खोज्दा अभाव हुने आशंका बढेको हो। तर, कुनैपनि हल्लाका पछि नलाग्दा हुन्छ।’ यतिबेला ग्यासको माग केही बढी भए पनि उपभोक्ताले नयाँ सिलिन्डर किनेका भने छैनन्। नाकाबन्दीका बेला थुपारेका तिनै सिलिन्डर बल्ल बाहिर आउन थालेको उनले बताए। ‘नयाँ बसोबासको व्यवस्थापन गर्नेले सिलिन्डर किन्न सक्छन्।

तर, नयाँ सिलिन्डरको माग पनि छैन,’ उनले भने, ‘पुराना ग्राहकले सिलिन्डर किनेका छैनन्। घरमा थुप्रिएका सिलिन्डर भरिभराउ राख्न मात्र चाहेका हुन्।’ शक्तिसँग सात हजार सिलिन्डर बुलेटमै स्टक राख्ने क्षमता छ। बुलेट र भरिभराउ अवस्थामा १२ हजार सिलिन्डरको क्षमता रहेको उनले बताए। अहिले दैनिक तीन हजार सिलिन्डर ग्यास शक्तिको उद्योगबाट बाहिरिएको उनले बताए। बजारमा ग्यास अभावको हल्ला सुनेपछि उपभोक्ता मञ्च र प्रदेशको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलगायतका निकायले मंगलबार ग्यास उद्योगमै पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा पनि पहिलेकै आकारमा ग्यास भित्रिएको र बजारमा अभाव नरहेको पनि अनुगमनकर्ताले भेटाएको बताएका छन्। निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बजारमा ग्यास अभाव नरहेको बताए। पौडेलले बजारमा कृत्रिम अभाव सिर्जना गरेको सुनेपछि बजार अनुगमनमा निस्किएपनि ग्यास अभाव नरहेको बताए।

नाकाबन्दीका बेला घरघरमा सिलिन्डर थुपारेका उपभोक्ताले अहिले तिनै सिलिन्डर भरिभराउ राख्न खोज्दा बजारमा अभावको हल्ला फैलिएको हो।

‘ग्यास सर्वत्र छ। पर्याप्त रुपमा आयात भएकाले अभाव छैन। उपभोक्ताले बढी मूल्यमा ग्यास किन्न जरुरी पनि छैन,’ पौडेलले भने, ‘कुनै पनि कम्पनीको आयात घटेको छैन।’ उनले बजारमा नयाँ सिलिन्डरको बिक्री नरहेको बताए। ‘नाकाबन्दीको बेला थुपारेका सिलिन्डर उपभोक्ताले भरेर राख्न खोज्दा बढी माग देखिएको हो। तर, अभाव छैन,’ उनले भने, ‘यतिबेलदा बिजुली पर्याप्त रहेको र गर्मी सिजन सुरु भएकाले पनि ग्यासको प्रयोग कम गर्ने विकल्प छन्। निरन्तर रुपमा ग्यास आयात रहेकाले अभाव सिर्जना भएको छैन।’ उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले पनि बजारमा पर्याप्त ग्यास रहेको बताए। कोइरालाका अनुसार यतिबेला नयाँ सिलिन्डरको साटो पुरानै साट्न चाहेका ग्राहक धेरै छन्। ‘पर्याप्त ग्यास स्टक राख्ने उपभोक्ताको चाहनाले अभावको हल्ला फैलिएको हो। तर, अहिले बजारमा ग्यास अभाव छैन,’ कोइरालाले भने, ‘उपभोक्ताले घरमै स्टक राख्ने गर्दा कहिलेकाँही बजारमा अभाव हुन जान्छ। तर, यो बेला बजारमा पर्याप्त ग्यास छ। आयात पनि पहिलेकै आकारमा नियमित भइरहेको छ।’

कोइरालाका अनुसार गृहलक्ष्मी कम्पनीको क्षमता पनि दैनिक तीन हजार सिलिन्डर रहेको छ। ‘उपभोक्ताले पुराना सिलिन्डर भर्न खोज्दा केही माग बढेको देखिए पनि अभाव छैन। कोरानोले ग्यास आयातमा असर पारेको छैन। धान्न सक्ने अवस्था छ,’ उनले भने, ‘केही मात्रामा माग बढे पनि नयाँ सिलिन्डर बिक्री बढेको छैन। नाकाबन्दीका बेला थुपारिएका खाली सिलिन्डर बल्ल बजारमा भर्न थालेका छन्।’ ग्यास बिक्रेता संघ कास्कीका पूर्वअध्यक्ष नारायण पौडेलले पनि ग्यास अभाव कतै नरहेको बताए। उनका अनुसार घरमा पर्याप्त सिलिन्डर स्टक राख्ने बानिले गर्दा केही माग बढेको देखिए पनि अभाव नरहेको बताए। ‘नाकाबन्दीका बेला एकै घरमा पाँच–सातवटा सिलिन्डर थुपारेका थिए। अहिले नाकाबन्दी होइन, अवरोध पनि कतै,’ उनले भने, ‘सर्वसाधारण अनावश्यक आत्तिएका हुन्। यो बेला ग्यास अभाव भयो कि भनेर कोलाहल मच्चाउन जरुरी छैन।’

आवश्यकभन्दा बढी मात्रामा घरमा नथुपार्ने हो भने ग्यास समस्या नरहेको उनले बताए। पौडेलका अनुसार सामान्य आकारको परिवार भएका उपभोक्ताले घरमा नाकाबन्दीका बेला १२ वटासम्म सिलिन्डर थुपारेका थिए। ती मध्ये कतिपय सिलिन्डर बल्ल प्रयोगमा आएको भनेर उपभोक्ता साट्न आउने गरेको उनले बताए। ‘कतिपय सिलिन्डर त वर्षाैदेखि प्रयोगमै आएका छैनन्। अहिले तिनै रित्ता सिलिन्डर लिएर उपभोक्ता ग्यास माग्न आएका छन,’ उनले भने, ‘उपभोक्ताले एक वर्षसम्म धान्न सक्ने गरी ग्यास स्टक राख्ने गरेका छन्। ६–७ महिनाका लागि थुपार्ने उपभोक्ता त धेरै नै छन्। तर, अहिले आवश्यक छैन।’ पौडेलका अनुसार यहाँका उद्योगले एकसाता र डिलरले तीन दिन माग थेग्न सक्छन्। पोखरामा मासिक एक लाख २० हजार सिलिन्डर ग्यास माग छ। यो माग बर्सेनि १० प्रतिशत माग बढ्छ। पर्यटकीय क्षेत्र भएकाले पनि अरुबेला ग्यासको माग बढी भए पनि यो बेला पर्यटक कम आएकाले लेकसाइडका होटल र रेस्टुरेन्टमा खपत कम रहेको उनले बताए।

प्रकाशित: २८ फाल्गुन २०७६ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App