१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

ड्याम र डुबान क्षेत्रमा मुआब्जा वितरणको तयारी

सिन्धुली - सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोसी–मरिण डाइभर्सन आयोजनाको काम सुरु गर्न तयारी तीव्र पारिएको छ। यहाँको सुनकोसी गाउँपालिकास्थित वडा नंं ७ को सुनकोसी नदीमा ड्याम बनाइने र उक्त ड्याम बनाउँदा डुब्ने क्षेत्रका स्थानीयलाई मुआब्जा वितरणको तयारी भएको आयोजनाले जनाएको छ।

आयोजनाको भौतिक संरचना निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारका स्थानीयलाई मुआब्जा दिएर अधिग्रहण गरिसकिएको र अब सुनकोसीको ड्याम र त्यसको डुबानले प्रभावित हुने स्थानीयको जग्गा अधिग्रहण गर्ने कार्य सुरु भएको आयोजनाका निर्देशक सुशीलचन्द्र आचार्यले जानकारी दिए।

शनिबार सुनकोसी गाउँपालिकाको वडा नं. ६ खाल्टेमा आयोजित आयोजनाको डुबान क्षेत्रको जग्गा प्राप्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी गोलञ्जोर गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले आयोजनाबाट सुनकोसी गाउँपालिका मात्रै प्रभावित नभएर त्यसको प्रत्यक्ष प्रभाव गोलञ्जोर गाउँपालिकाले समेत भोग्नुपर्ने भएकाले गोलञ्जोरका सुनकोसीको तिर आसपास बस्ने स्थानीयलाई समेत व्यवस्थित गर्नुपर्ने माग गरे।

उनले सुनकोसीको पानीले चिसोको अनुभूति हुने गरेको र पानी डाइभर्सन गरेर लगेपछि मरुभूमि हुने भएकाले त्यसतर्फ पनि आयोजनाले सोच्नुपर्ने जनाए। आयोजनाले स्थानीय मठमन्दिर बाटो खानेपानी सहायक कच्ची सडकलाई व्यवस्थित गर्नुका साथै क्षमता अनुसारको रोजगारी स्थानीयलाई दिनुपर्ने स्थानीयले सुझाए।

आयोजनाको सिन्धुली सम्पर्क कार्यालयका प्रमुख सिनियर डिभिजन हाइड्रोजिओलोजिस्ट विश्वबन्धु केसीका अनुसार आयोजनाको भौतिक संरचना निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्त गर्ने प्रक्रिया अनुसार सिन्धुलीको कुसुमटार क्षेत्रका ५० जना स्थानीयलाई मुआब्जा दिई जग्गा अधिग्रहण गर्ने कार्य सुरु भएको र ड्याम क्षेत्रमा पर्ने डुबान हुने जग्गाको मुआब्जा दिने तयारी भएको हो। ‘हामी विवेकपूर्ण तरिकाले मुआब्जा वितरण गर्छौं,’ मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, ‘राज्यले पनि मुआब्जा दिन संकुचित भएर सोच्न भएन। अनि प्रभावितले पनि बढी महत्वाकांक्षी माग देखाउनु हुँदैन। सबै मिलेर आयोजना निर्माण सम्पन्न गर्नुपर्छ।’

सुनकोसी गाउँपालिकाको वडा नं. ७ को सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध बाँधी ६७ क्युबिक प्रतिसेकेन्ड पानी १३.१ किलोमिटर सुरुङको माध्यमबाट कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारस्थित मरिण खोलामा खसालिने यो आयोजनाको मुख्य लक्ष्य हो। उक्त आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने र त्यसबाट साढे २८ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख आचार्यले जनाए। विद्युत् आयोजनाको पावरहाउस भने कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटार फाँटमै रहनेछ।

तराईका विभिन्न जिल्लालाई सिँचाइको सुविधा पु¥याउन सरकारले यो आयोजना अघि बढाएको हो। ‘तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको एक लाख २२ हजार हेक्टरमा सिँचाइ पु¥याउने यो आयोजनाको प्रमुख उद्देश्य हो,’ आयोजना प्रमुख आचार्यले भने, ‘सुनकोसीको पानी डाइभर्सनपछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिका–२ कुुसुमटार फाँटमै खसालिने छ।’ उक्त फाँटबाट मरिण नदी हुँदै ४२ किलोमिटर दूरीमा रहेको बागमती बाँधमा पानी पु¥याई सिँचाइको सुविधा बढाउने लक्ष्य सरकारको छ।

हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ। सुनकोसी–मरिण–डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने देखिएको छ।देशमा भएका विभिन्न परिवर्तकारी व्यवस्थामा सिन्धुलीले कुनै न कुनै भूमिका खेलेर चर्चा पाएको र हाल देश संघीयतामा गइसकेपछि सिन्धुली जिल्लामा देश विदेशसम्म चर्चा हुने आयोजना बन्न लागेको भन्दै सुकोसी गाउँपालिका अध्यक्ष दिपा बोहोराले खुसी व्यक्त गरिन्। उनले स्थानीयको माग र सुझावलाई आयोजनाले सहज तरिकाले ग्रहण गर्नुपर्ने भन्दै आयोजनालाई गाउँपालिकाका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने प्रतिबद्धता जनाइन्।

प्रकाशित: २७ फाल्गुन २०७६ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App