लोथर (चितवन) – चेपाङ गाउँमा जन्मिएर डाँडापाखामा घाँस काट्ने, बाख्रा चराउँदै बाल्यकाल बिताएका एक चेपाङ युवक अहिले मह व्यापारी बनेका छन्। घरबाट स्कुल जाने भनेर हिँड्ने अनि दिनभर चिउरीको बोटमा बसेर समय कटाउने ती युवकलाई त्यही चिउरीको फूल चुसेर मौरीले तयार पारेको महले मालामाल बनाइदिएको छ। करिब अढाईदशकको आरोहअवरोहपछि ती युवक सफल व्यवसायी र उद्यमशील बनका हुन्।
२०५२ सालतिर लोथर खोलापारि मकवानपुरको सिलिङे डाँडाबाट दिनेश प्रजा पाँचवटा कुचो बोकेर बिक्रीका लागि लोथर बजार झर्थे। ११ वर्षको उमेरमा काँधमा कुचो बोकेर बजार झर्नुको उनको उद्देश्य हुन्थ्यो– लोथरको पुलपारिबाट हुइँकिएर आउने गाडीलाई नजिकैबाट हेर्नु। गाडी पर पुग्दासम्म आँखा झिमिक्क नगरी हेर्थे उनी। पछाडिबाट आएको अर्को गाडीको आवाजले तर्सेर भाग्थे पनि। उनले जीवनमा पहिलोपटक गाडी देखेपछिको २४ वर्षमा लोथर खोलामा निकै पानी बगिसक्यो।
अहिले दिनेशसँग पल्सर बाइक छ। एउटा बोलेरो जिप र ट्रयाक्टर पनि छ। पल्सरमा उनी हुइँकिन्छन्। जिप र ट्रयाक्टरमा मह ओसार्छन्। उनले महको संगत गर्न थालेको १३ वर्ष भयो। राक्सिराङ गाउँपालिका–६ मा रहेको जनचेतना साना किसान कृषि सहकारी संस्था लिमिटेडको साथ पाएर उनी महको संगतमा पुगेका हुन्।
सुरुमा गाउँगाउँमा गएर मह संकलन गर्ने उनले अहिले सहकारीको मह प्रशोधन केन्द्र र बिक्री केन्द्रमा काम गर्छन्। मह प्रशोधन केन्द्र चितवनको राप्ती नगरपालिका–१ लोथरमा उनी आफैंले स्थापना गरेका हुन्।
नुनसँग साटिन्थ्यो मह
मकवानपुरको काँकडा र राक्सिराङ अनि चितवनको कोराक र लोथरमा चेपाङ समुदायले परम्परागत मौरीघारमा सेरेना जातको मौरी पाल्थे। अहिले उनीहरुले मेलिफेरा जातको मौरी आधुनिक घारमा पाल्न थालेका छन्। दिनेश २०६३ सालमा सहकारीका लागि मह संकलन गर्न गाउँगाउँ पुग्थे। ‘लोथर बजार झरेर नुन र तेलसँग मह साट्ने उनले त्यसपछि पैसासँग साट्न थाले’, विगत सम्झँदै उनी भन्छन्, ‘सहकारीले किसानसँग एक सय ४० रुपैयाँ किलोमा मह किनेर हल्का प्रशोधनपछि एक सय ८० रुपैयाँ किलोमा बिक्री गथ्र्यो। नुन र तेल दिएर अर्गानिक मह किन्न पल्केका केही व्यापारीले मलाई लखेट्नेसम्म काम गरे तर म आत्तिइनँ।’
महसँगको बाह्रवर्षे संगतले दिनेश प्रजालाई उँभो लगाएको छ। उनका तीनटी छोरीमध्ये जेठी भारतको देहरादुन, माहिली र कान्छी लोथरमा बोर्डिङ स्कुलमा पढ्छन्। उनी वार्षिक एक करोड रुपैयाँबराबरको महको कारोबार गर्छन्।
महको कारोबारमा लागेको एक वर्षपछि चेपाङले लोथर बजारमै ल्याएर सहकारीको मह संकलन केन्द्रमा बिक्री गर्न थाले। गाउँबाट चाकासहितको मह आउँथ्यो। त्यसलाई ठूलो भाँडोमा राखेर चाका हटाएर सहकारीले मह बिक्री गथ्र्यो। यस्तैमा २०६४ सालमा सहकारीको चारदिने भ्रमणमा उनी पनि सहभागी भएर काठमाडौं पुगे। काठमाडौंमा रहेको हिमालयन हनीले वार्षिक एक टन मह खरिद गरिदिने आश्वासन दियो। संकलित मह बिक्री गर्न समस्या नुहने भयो तर मह खरिद गर्न रकम कसरी जुटाउने ? उनका सामु समस्या खडा भयो।
यसरी गरे पैसाको जोहो
काठमाडौंबाट फर्केपछि सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) को आर्थिक सहयोग १० हजार, सहकारीको पाँच हजार र उनले व्यक्तिगत एक हजार रुपैयाँ जम्मा गरेर मह किन्ने पैसाको जोहो गरे। नुनसँग साटिने महले सुनकै भाउ पाउन थालेपछि मह संकलन केन्द्रमा दिनहुँ मह बेच्न आउने चेपाङहरूको लर्को लाग्न थाल्यो। पैसा नपुगेपछि सिसिडिएनले ५० हजार रुपैयाँ घुम्तीकोषका नाममा उपलब्ध गरायो। त्यो रकमले त्यस वर्ष तीन टन मह संकलन भयो।
वार्षिक एक टन मह खरिद गर्ने सम्झौता गरेको हिमालयन हनीले पहिलो वर्ष दुई टन मह खरिद ग¥यो। महले पैसा तान्न थालेपछि चेपाङ समुदायलाई मौरी पाल्न आग्रह गर्न थालियो। ‘सुरुमा त चेपाङलाई आधुनिक घारमा मौरी पाल्न सम्झाउनै गाह्रो भयो’ दिनेश भन्छन्, ‘एउटा घारलाई आठदेखि १० हजार रुपैयाँ पथ्र्यो। पैसाको अभावमा चेपाङले मौरी पाल्नै मानेनन्। अहिले ८४ जनाले पाँच हजार घार मौरी पालेका छन्। प्रतिकिलो दुई सय ५० रुपैयाँमा मह बेच्छन्। वर्षको १२ लाख रुपैयाँसम्म कमाएका छन्।’
मह प्रशोधन केन्द्र स्थापना
चेपाङ गाउँको मह भन्दै भारतबाट आयातित मह बिक्री भइरहेको थाहा पाएपछि दिनेशमा गाउँ नजिकै अत्याधुनिक मह प्रशोधन केन्द्र स्थापना गर्ने सोच आयो। सेमिअटोमेटिक मेसिनकै ६५ लाख पर्ने भएपछि सहकारीले पनि प्रशोधन केन्द्र स्थापना गर्ने आँट गरेन। तर महलाई मेसिनबाट प्रशोधन गरेपछि राम्रो भाउमा बिक्री गर्न सकिन्छ भन्ने बुझेका दिनेशले पुनः सिसिडिएनलाई गुहारेर ६५ लाख रुपैयाँको मेसिन झिकाए।
मेसिन सञ्चालनका लागि विद्युत् चाहिन्थ्यो। सिलिङे डाँडामा बिजुली नभएकाले पिप्लेमा एक कट्ठा जग्गा खरिद गरेर टिनको छााप्रोमुनि स्थापना गरियो सहकारीकै नामबाट मह प्रशोधन केन्द्र। मह प्रशोधन केन्द्रमा मेसिन राखेको एक वर्ष भयो। दिनेश आफैंले यो मेसिन चलाउँछन्। मेसिन राखेपछि उनले महिनामा १५ टन मह प्रशोधन गर्छन्। पहिले उनलाई एक टन मह हातले प्रशोधन गर्न १५ दिन लाग्थ्यो। मेसिनले उनको समय बचत भएको छ।
चेपाङ गाउँमा वार्षिक ७० टन मह उत्पादन हुने गरेको र त्यसमध्ये वार्षिक ४५ टन मह आफूले संकलन र प्रशोधनपछि बिक्री गर्दै आएको दिनेश बताउँछन्। उनीसँग अप्रशोधित ६ टन र प्रशोधित चार टन मह स्टकमा छ। उनले चेपाङ गाउँबाट संकलित मह प्रशोधनपछि पाँच सय रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दै आएका छन्।
महसँगको बाह्रवर्षे संगतले दिनेशलाई उँभो लगाएको छ। उनकी पत्नी पार्वती गुरुङले सुनाचुरी माध्यमिक विद्यालयमा पढाउँछिन्। उनका तीनटी छोरीमध्ये जेठी भारतको देहरादुनमा, माहिली र कान्छी लोथरमै बोर्डिङ स्कुलमा पढ्छन्। वार्षिक एक करोड रुपैयाँबराबरको महको कारोबार हुने गरेको उनी बताउँछन्। अहिले महको संगतले मग्मगाएको छ दिनेशको जीवन।
प्रकाशित: २६ फाल्गुन २०७६ ०१:०० सोमबार