काठमाडौं - ओखलढुंगाकी ३२ वर्षीया दुर्गाकुमारी सुनुवार १० वर्षअगाडि ३० हजार रुपैयाँ खर्च गरेर लेबनान गएकी थिइन्। त्यहाँ कमाएर फर्केपछि उनले दुई वर्षअघि बौद्धस्थित नयाँबस्तीमा खाजाघर खोलिन्, अहिले उनको खाजाघरले राम्रै कमाइ दिइरहेको छ।
गाउँमा कमाइ गर्ने कुनै माध्यम, रोजगारी नभएपछि उनी लेबनान गएकी थिइन्। पहिलोपटकजाँदा उनले लेबनानको बेरुतस्थित एक घरमा काम पाइन्। उनको काम थियो– कपडामा आइरन लगाउने, खाना पकाउने, बालबालिका हेर्ने। सुरुमा उनलाई भाषाको ज्ञान नहुँदा काममा धेरै सकस परेको थियो। त्यतिबेला उनकोमासिक तलब एक सय २५ डलर पाउँथिन्। उनले त्यहाँ तीनवर्ष काम गरेर नेपाल फर्किन्। नेपाल आउँदा उनीसँग दुई लाख रुपैयाँ थियो। नेपालमा आएको केही महिनापछि फेरि उनी लेबनान नै जाने निर्णय गरिन्। सुरुमा साहुसँग ऋण लिएर गएकी उनी दोस्रोपटकजाँदा भने ऋण जोहो गर्नुपरेन। दोस्रोपटक उनले विभिन्न घर–अफिस सरसफाइ गर्ने काम पाइन्,मासिकतलब थियो, दुई सय डलर जति।
उनले बालबालिका हेर्ने, विद्यालय पुर्याउनेदेखि घरको सरसफाइ र भान्साको काम गर्नुपथ्र्यो। उनी भन्छिन्, ‘दुःख भए पनि एउटा घरमा भने राम्रो व्यवहार र तलब पाउन थालेँ। वर्षैपिच्छे ५० डलरको हाराहारीमा तलब बढेको थियो।’ त्यही घरमा काम गरेर उनी ६ वर्षपछि देश फर्किन्, १५ लाख रुपैयाँ जति कमाएर। उनी भन्छिन्, ‘देशमै उद्यम गर्ने ऋण पाइन्थ्यो, रोजगारी पाइन्थ्यो भने को विदेश जान्थ्यो ?’ पहिले कक्षा ९ पढ्दापढ्दै छाडेकी उनले २०७५ मा प्राइभेट एसइई दिइन्, अहिले उनी बौद्धको समता कलेजमा ११ कक्षामा अध्ययनरत छिन्। उनी भन्छिन्, ‘यो ३२ वर्षको उमेरमा पढ्न रहर जागेको छ। १२ पास गरेपछि विदेश जाने सोच छ।’
वैदेशिक रोजगारीमा कति महिला छन् भनेर अनुमान लगाउन राहदानी लिने र श्रम स्वीकृति लिने महिलाको संख्या नियाल्नुपर्ने हुन्छ। आव २०६७/६८ देखि ०७५/०७६ सम्म ११ लाख ३२ हजार तीन सय ७५ महिलाले राहदानी लिएका छन्।
नुवाकोटकी कमला तामाङ १० महिनाअगाडि वैदेशिक रोजगारी खोज्नदलालमार्फत दीपज्योति म्यानपावर प्रालिमा गइन्। म्यानपावरका सञ्चालकलेउनलाई जापान पठाइदिने प्रलोभन देखाउँदै सुरुमा केही रुपैयाँ जम्मा गर्न लगाए। ‘विदेशबाट कमाएर साहुको ऋण तिर्ने सोचेँ र ऋणधन गरी दुई लाख ४० हजार रुपैयाँ उनीहरुले भनेको खातामा हालिदिएँ,’उनी भन्छिन्, ‘कम्पनीले जापान पठाउने भनी रकम जम्मा गर्न लगाएको थियो, तर पठाएन।’ काठमाडौंमा बस्दा–खाँदा उनको उल्टै खर्च बढ्दै गयो, तर जापान जाने सपना अधुरै रह्यो। अहिले उनी रकम फिर्ताका लागि वैदेशिक रोजगार विभाग पुगेकी छिन्। वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंका अनुसार, अहिले वैदेशिक रोजगारीका सिलसिलामा व्यक्क्तिगत र संस्थागत तवरबाट ठगिएका८–१० जना जतिले दैनिक विभागमा उजुरी गर्ने गर्छन्।
श्रम स्वीकृतिको अवस्था
चार वर्षयता सरकारले महिलालाई घरेलु कामदारका रुपमा खाडी मुलुक पठाउन प्रतिबन्ध लगाएको छ। जसकारण महिलाहरु अवैध बाटो हुँदै खाडी मुलुक गइरहेका छन्। सरकारले विदेश जानेको विवरण राख्ने तर फर्कनेको नराख्ने गर्दा विदेशमा भएका महिलाको संख्या यकिन छैन। वैदेशिक रोजगारीमा कति महिला छन् भनेर अनुमान लगाउन राहदानी लिने र श्रम स्वीकृति लिने महिलाको संख्या नियाल्नुपर्ने हुन्छ। राहदानी विभागका अनुसार, आर्थिक वर्ष २०६७/६८ देखि ०७५/०७६ सम्म ११ लाख ३२ हजार तीन सय ७५ महिलाले राहदानी लिएका छन्। आर्थिक वर्ष ०६७/०६८ मा मा २९ हजार चार सय ९८ महिलाले राहदानी लिएका थिए भने आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दाएक लाख ५४ हजार ६ सय ७५ ले राहदानी लिए।
वैदेशिक रोजगार विभागका अनुसार, २०७५/७६ सम्म दुई लाख १८ हजार दुई सय ७३ महिलाले श्रम स्वीकृति लिएका छन्। जसमध्ये कतारका लागि १९ हजार दुई सय ५४ महिलाले, मलेसियाका लागि ३० हजार ६५, साउदी अरबका लागिआठहजार तीन सय २१, युएईका लागि ५९ हजार एक सय २६, कुवेतका लागि ४२ हजार ६ सय ७७ महिलाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, बहराइनका लागि चार हजार ४ सय ४५, ओमानका लागिपाँच हजार ७ सय १७, दक्षिण कोरियाका लागितीन हजार साय सय ११, लेबनानका लागि ११ हजार पाँच सय ४२, इजरायलका लागि चार हजार चार सय ९२, अफगानिस्तानका लागि ५२, जापानका लागि एक हजार ६ र अन्य देशका लागि २७ हजार ८ सय ६५ महिलाले श्रम स्वीकृति लिएका छन्।
प्रकाशित: २५ फाल्गुन २०७६ ०४:२९ आइतबार