४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

कर्णालीमा कृषिजन्य उत्पादन घट्दो

जुम्ला -  कर्णालीमा उत्पादित अर्गानिक कृषिजन्य वस्तुको माग अत्यधिक बढेको छ। कर्णाली भित्रिने हरेक अन्तरिक तथा बाह्य पर्यटकले स्थानीय बालीबाट बनेको खाना निकै मन पराउँछन्। उनीहरुको माग पनि अत्यधिक हुने गरेको होटल व्यवसायी बताउँछन्। तर अर्गानिक कृषि उत्पादन क्षेत्र दिनप्रतिदिन घट्दै गइरहेको छ।

‘कर्णाली घुम्न आउने पर्यटकले स्थानीय रातो मार्सी धानको चामल, चिनो, कागुनो, कोदोलगायत स्थानीय खाद्यान्नबाट बनेका खाद्य परिकार निकै रुचाउँछन्,’ स्थानीय किसान जीवनबहादुर बुढा भन्छन्, ‘माग उच्च भए पनि विदेश जनसंख्या वृद्धि र युवा पलायनले उत्पादन घट्दै गएको हो। यो अवस्थामा यहाँका किसानले बाहिर जिल्लाबाट आयातित खाद्यान्न उपभोग गरिरहेका छन्। यो राम्रो विषय होेइन्। सिँचाइ र स्थानीय बाली उत्पादन गर्ने कृषकको अभाव छ। उनले भने, ‘त्यसैले रैथाने स्थानीय बाली उत्पादन घट्दो अवस्थामा छ।’ कर्णाली आउने पर्यटकको पहिलो रोजाइमा यहाँका स्थानीय बालीबाट उत्पादित खाद्य परिकार पर्छन्।

स्थानीय बालीबाट उत्पादन भएका खानाको परिकारको माग उच्च छ तर उत्पादनमा कमी भएपछि पर्यटकको माग पूरा गराउन समस्या भएको कालीकोट मान्मस्थित होटल हिलसाइटका सञ्चालक धर्मराज शाही बताउँछन्। ‘कर्णाली घुम्न आउने अधिकांश स्थानीय उत्पादनबाट बनेका परिकार नै खोज्छन, उनले भने, ‘उत्पादन ह्रासका कारण मागअनुसार पूर्ति गर्न सकेका छैनौं।’ कर्णालीको रारा, जुम्ला घुम्न आउने पर्यटक स्थानीय उत्पादनबाट बनेका परिकारको स्वाद लिन चाहन्छन्। तर उत्पादन कम हुँदा परिकार नै नपाउने अवस्था आउन थालिसकेको छ। कर्णालीमा पाइने स्थानीय बाली रातो मार्सी धान, चिनो, कागुनो, कोदोलगायत स्थानीयस्तरमा उत्पादन हुने बाली कमैले उत्पादन गर्न थालेका छन्। धेरैजसो किसान बाहिरबाट आउने खाद्यान्न प्रयोग गर्न थालिसकेका छन्।

स्थानीय खाद्यान्न ‘माग उच्च भए पनि विदेश जनसंख्या वृद्धि र युवा पलायनले उत्पादन घट्दै गएको हो।

बाहिरबाट आउने खाद्यान्नलाई त्यति मिहेनत गर्न नपर्ने भएकाले बाहिरबाट आउने खाद्यान्नतर्फ स्थानीय आकर्षण बढेको कालीकोट खाँडाचक्र नगरपालिकाका कृषि शाखा प्रमुख परशुराम काफ्ले बताउँछन्। कर्णालीमा उत्पादन हुने रातो मार्सीको चामल मोटो र खस्रो हुन्छ। बाहिरबाट आउने चामल मीठो र मसिनो पनि हुन्छ। मार्सी उत्पादनमा मिहेनत पनि धेरै गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले स्थानीय बाहिरबाट आउने खाद्यान्नतर्फ आकर्षित भएका छन्। तर यो राम्रो पक्ष होइन। पोषक तत्व यही हाम्रो माटोमा उत्पादन भइरहेको बालीनालीमा नै हुन्छ। ’

सडक सञ्जाल नभएको बेला र बाहिरबाट खाद्यान्न आयात नहुँदा यहाँका स्थानीयले रातो मार्सी धान, चिनो, कागुनो र कोदो उत्पादन राम्रो गर्ने गरेका थिए। त्यही खाद्यान्नको अधिकतम प्रयोग भइरहेको थियो। तर, अहिले बाहिरबाट आयात हुँदा उत्पादनमा ह्रास आएको स्थानीय बताउँछन्। ‘अहिले सडक सञ्जालले छोयो। यहाँका मानिसले स्थानीय बालीभन्दा बाहिरबाट आएको खाद्यान्न बाली मन पराउँछन्,’ स्थानीय खड्क भण्डारी भन्छन्, ‘त्यसैले पनि उत्पादन हुन छाड्यो। अब यहाँ उत्पादित बालीनाली विस्तार गर्न जरुरी छ। कृषि लक्षित अनुदानका कार्यक्रम वास्तविक किसानसम्म पुग्नुपर्छ।’ कर्णालीमा पाइने रातो चामल र पोषकीय हिसाबले राम्रो मानिने चिनोको चामलको मूल्य बराबर छ। स्थानीयस्तरमा रातो चामलको मूल्य एक सय ५० छ भने चिनोको मूल्य पनि एक सय ५० नै रहेको स्थानीय बताउँछन्। कर्णाली प्रदेश सरकारले पनि स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न अर्गानिक खेती प्रणालीतर्फ जोड दिइएको छ।

जुम्ला एक दशक अघिदेखि नै अर्गानिक जिल्लाका रुपमा घोषणा भइसकेको छ। आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकको माग सम्बोधन गर्न कृषिमैत्री कार्यक्रम सञ्चालन गरेर अर्गानिक कृषि उत्पादनमा जोड दिनुपर्ने कृषि विज्ञ बताउँछन्। सडकले नछुँदासम्म कर्णालीमा अर्गानिक खेती हुन्थ्यो। अहिले बाहिर जिल्ला हुँदै खाद्यान्न जाने गरेकाले किसानको जोस जाँगर हराउँदै जान थालेको हो।

प्रकाशित: २५ फाल्गुन २०७६ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App