कैलाली - सरकारी कर्मचारीलाई सरकारले ६० वर्ष उमेर पुगेपछि उमेरको हदवन्दी लगाउँदै सेवाबाट निवृत्त गर्छ। निवृत्त भएका कर्मचारी जीवनभर काम गरेर थाकित भएको भन्दै ऐस आरामको जीवन बिताउन खोज्छन्। तर, सेवाबाट अनिवार्य अवकास पाएका कैलालीका एक शिक्षक भने अवकास लगत्तै कृषि कर्ममा जुटेका छन्। कैलालीको गौरीगंगा नगरपालिका–३, गोप्काका पूर्वशिक्षक तपराज भट्ट भने अवकासपछि व्यावसायिक रुपमा नर्सरी र तरकारी खेतीमा जुटेका छन्।
भट्टले स्थानीय पशुपति माध्यमिक विद्यालयबाट २०७२ मा सेवा निवृत्त पाएका थिए। सेवा निवृत्तलगत्तै उनले भागेश्वर नर्सरी फर्म दर्ता गरेर कृषि कर्ममा जुटेका हुन्। जीवनका ३९ वर्ष शिक्षण पेसामा बिताएको बताउँदै उनी भन्छन्, ‘अबका दिन भने कृषि कर्ममै समर्पित गर्नेछु।’ धेरैले सेवा निवृत्तपछि ऐश आरामको जीवन बिताउने गरेको बताउँदै उनले भने, ‘अवकासपछि दिनभरको फुर्सदिलो समयलाई सदुपयोग गर्दै कृषि कर्ममा जुटेँ।’ उनले करिब पाँच कट्ठा जमिनमा लहरे बाली, तरकारी खेती र च्याउ खेती गरेका छन्। १० हजारबाट सुरु गरेका उनले अहिले तरकारी खेतीबाट पाँच लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्न थालेका छन्।
कृषिप्रति पहिलेदेखि नै रुची रहेको बताउँदै उनी भन्छन्, ‘मेरो कृषिप्रतिको रुची सानैदेखि थियो, बीचमा शिक्षण पेसामा लाग्दा त्यो कर्म गर्न सकिन, अहिले भने अवकासपछि कृषिलाई नै रोजेँ।’ उनले विशेष गरेर च्याउ खेतीलाई आफ्नो फर्मको विशेषता देखाएका छन्। ‘मैले बारीमा अर्गानिक तरकारी रोपेको छु, त्योसँगै च्याउलाई बढी प्राथमिकता दिएको छु,’ उनले भने, ‘बारीमा गोब्रे च्याउलाई प्राथमिकता दिँदै बढाएको छु।’ उनले करेसा बारीमा तरकारी तथा फलफूलको बेर्ना उत्पादन गर्ने गरेका छन्। बेर्नामा पनि बढीजसो लहरे बाली र सिजनल तरकारी बालीका बेर्ना उत्पादन गर्ने गरेको उनी बताउँछन्। ‘म सिजनमा तरकारीका बेर्नाबाटै दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्छु,’ उनले भने, ‘बाँकी तरकारी र च्याउ पनि बेच्छु।’
कैलालीको गौरीगंगा नगरपालिका–३, गोप्काका पूर्वशिक्षक तपराज भट्ट भने अवकासपछि व्यावसायिक रुपमा नर्सरी र तरकारी खेतीमा जुटेका छन्।
अवकासपछि धेरै कर्मचारीले फुर्सदिलो समय बिताउने गरेको बताउँदै उनी भन्छन्, ‘फुर्सदिलो समय सदूपयोग गर्दै दिनभर करेसा बारीमै समय व्यतित गर्छु।’ करेसा बारीमा काम गर्दा शारीरिक व्यायाम पनि हुने र स्वस्थ पनि हुने गरेको उनको अनुभव छ। सरकारले नै अब काम गर्न सक्दैनौ भनेरै ६० वर्षको उमेरमा अनिवार्य अवकास दिने गरेको बताउँदै उनले भने, ‘सरकारले नै काम गर्न सक्दैनस् भनेर हामीलाई घर पठाएको हो, तर मैले घरमा बसेर पनि करेसाबारी हेरचाह तथा गोडमेल गरेरै काम गर्न सक्षम भएको देखाएको छु।’ रोजगार नभएर विदेशिनेका लागि नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा पनि मिल्ने भएकाले पनि आफूले बुढेसकालमा कृषि कर्म नै रोजेको बताउँदै उनी भन्छन्, ‘युवा स्वदेशमा काम पाइएन भनेर विदेश पलायन हुन्छन्, उनीहरुले स्वदेशमै तरकारी खेती गरे यही रोजगारीको पर्याप्त अवसर छ।’
सुदूरपश्चिममा उनी कहाँ मात्रै पाउँने डल्लो जातको गोब्रे च्याउको बजार माग अत्याधिक भएकाले उनलाई माग अनुसार पूर्ति गर्न गाह्रो परेको छ। ‘च्याउको माग गरेर आउने फोनले बेला बेलामा हैरानी पार्छ,’ उनले भने, ‘यो च्याउको माग बढीजसो पोखरा र काठमाडौंमा छ।’ यहाँबाट उनी च्याउ प्याक गरेर पोखरा र काठमाडौंसम्म पठाउने गर्छन्। उनले फर्ममा काउली, बन्दा, मुला, चुकन्दर, मेवालगायत तरकारी साथै फूलखेती गरेका छन्। सुदूरपश्चिममा डल्लो जातको गोब्रे च्याउखेती गर्ने भट्ट पहिलो किसान भएको बताउँदै प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने, ‘सुदूरपश्चिममा पहिलो पटक डल्लो जातको गोब्रे च्याउखेती सुरु गर्ने किसान भट्ट नै हुन्।’ गोब्रे च्याउ अन्य च्याउको तुलनामा मीठो र स्वास्थ्यका लागि पोषक तत्व अत्याधिक पाइने उनी बताउँछन्। ‘यो च्याउबाट स्वास्थ्यलाई चाहिने पोषक तत्व अत्याधिक पाइन्छ,’ उनले भने, ‘त्यसैले पनि गोब्रे च्याउको बजारमा माग अत्याधिक छ।’
शिक्षण पेसामा अवकासपछि कृषि कर्म गरेर कृषकलाई उत्प्रेरणा जगाउने अगुवा कृषक भएको बताउँदै उनले भने, ‘भट्टले गरेको कृषि कर्मले बेरोजगार युवालाई प्रेरणा पनि हो।’
प्रकाशित: २५ फाल्गुन २०७६ ०३:५८ आइतबार