८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

गल्छी–मैलुङ सडक, ६० प्रतिशत काम सकियो

रसुवा - रसुवागढी नाका जोड्ने छोटो दूरीको गल्छी–मैलुङ सडक स्तरोन्नतिको काम ६० प्रतिशत सकिएको छ। गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अघि बढाइएकोमा गल्छीदेखि मैलुङसम्मको ६० प्रतिशत काम सकिएको हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो सडकको मैलुङ–स्याफ्रु खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

यस्तै स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि बिजुलीको पोल सार्ने काम भइरहेको छ। त्यस्तै सडक क्षेत्रमा पर्ने अस्थायी तथा स्थायी संरचना हटाउने प्रक्रिया अघि बढाइएको छ। संरचना हटाउनका लागि करिब एक महिना लाग्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

योजनाका अनुसार पिपलटारदेखि बेत्रावतीसम्मको सडक खण्डमा काम भएको छैन। अदालतमा मुद्दा परेपछि यो खण्डको काम तीन महिनादेखि रोकिएको छ। बेत्रावतीदेखि नयाँपुलसम्म सडक चौडा गर्ने, वाल लगाउने, नाला र कल्भर्ट बनाउने काम चलिरहेको छ।

योजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार सडक छेउका संरचना हटाउनका लागि मंगलबारदेखि काम अघि बढाइनेछ। पछिल्लो समय थपिएको समयसीमा अनुसार आयोजनाले आउँदो जेठ २२ गतेसम्म स्तरोन्नतिको काम सक्नुपर्छ।

२०७२ वैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्र¥याक खोल्ने कार्य सम्पन्न भएको थियो। अहिले यो सडक खण्डमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना (२०७५/७६ र ०७७/७८) मा उल्लेख भए अनुसार आर्थिक वर्ष २०६१/६२ सालदेखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना २०७५/७६ भित्र निर्माण तथा स्तरोन्नति हुने उल्लेख छ। तर विभिन्न समस्याका कारण कामले गति लिन सकेको देखिँदैन। यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रु सडक ५४ किलोमिटर छ। बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक २९ किलोमिटर छ।

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा घुम्ती पार गर्नुपर्ने भएपछि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्नु पर्दैन। मैलुङ­–स्याफ्रुबेंसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक अगाडि सारिएको हो। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती–धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: २५ फाल्गुन २०७६ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App