१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सौराहाका होटल कर्मचारीलाई बिदा दिइँदै

चितवन - काेराेना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन्। अचेल यहाँका होटलमा क्षमताको १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक छन्।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ थियो। नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो संख्या निकै न्यून हुने उनको भनाइ छ। अहिले केही मात्रामा युरोपेली, भारतीय र नेपाली पर्यटक छन्। यसअघि भएका सबै बुकिङ रद्द भएका छन्। होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकाले आधा जति होटलले ५० प्रतिशतसम्म कर्मचारीलाई बिदा दिइसकेका छन्। एउटै होटलमा १० देखि ७० सम्म कर्मचारी छन्। अन्य होटलले बिदा दिने तयारी गरिरहेका छन्।

बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ। कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन सुरु गरिएको हो। सौराहाका होटलले १० वर्ष अघिसम्म वर्षात्को समयमा पर्यटक नआएपछि जेठदेखि साउनसम्म बिदा दिने गरेका थिए। पछिल्ला वर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईको भनाइ थियो। संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताउँछन्।

यकिन तथ्यांक नभए पनि सौराहाका एक सय १५ होटल बनाउन आठ अर्बभन्दा बढी लगानी भएको घिमिरेको अनुमान छ। व्यापार हुन नसक्दा त्यसको किस्ता र ब्याज तिर्ने सम्भावना नरहेको उनको भनाइ छ। ऋण ब्याज मिनाहाभन्दा पनि व्यवसायीलाई थप समय दिनुपर्ने घिमिरेको तर्क छ।

प्रकाशित: २२ फाल्गुन २०७६ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App