९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

स्थानीयलाई विश्वास दिलाउन जापानी स्वयंसेवक प्रभावकारी

भूमिगत खानेपानी पाइपलाइनको चुहावट पत्ता लगाउने प्रविधिबारे जानकारी गराउँदै जापानी स्वयंसेवक चिस्यो सिमुजु। तस्बिर : नागरिक

सिन्धुली - जापान सरकारले नेपाललाई उपलब्ध गराउने प्राविधिक सहायता अन्तर्गत परिचालित स्वयंसेवकहरुको काम गराई नेपालीको तुलनामा प्रभावकारी पाइएको छ। जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाइकाबाट रामेछाप र सिन्धुलीमा खटिएका स्वयंसेवकहरुले स्वदेशी अधिकारी र जनप्रतिनिधिले भन्दा प्रभावकारी रुपमा स्थानीलाई विश्वास दिलाउन सकेको सम्बद्ध अधिकारीहरुले बताएका छन्।

‘हामीले भनेको भन्दा विदेशीले भनेको धेरै फरक पर्ने रहेछ,’ कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीले त्यहाँ परिचालित जापानी स्वयंसेवक साकुरा सावाकीलाई इंगित गर्दै भने, ‘उहाँहरुको काम सकारात्मक दिशामा गएको छ।’ सावाकी एक वर्षदेखि कमलामाई नगरपालिकामा स्वयंसेवकको रुपमा कार्यरत छिन्। सावाकीको प्रयासले फोहोरमैला व्यवस्थापनको क्षेत्रमा निकै सुधार आएको नगरपालिकाका अर्का अधिकृत सागरकुमार ढकालले बताए। सावाकीले अपांगता परिचयपत्रका विषयमा सर्वसाधारणलाई जागरुक बनाएको पनि ढकालले जानकारी गराए। ‘सावाकीको प्रयासपछि अपांगता परिचयपत्रका विषयमा सर्वसाधारण निकै सचेत भएका छन्,’ उनले भने, ‘उहाँलाई अब सहकारीमा खटाउने योजनामा छौं।’

नगरपालिकाले सरसफाइमा स्थानीयलाई नै सक्रिय बनाएको कार्यकारी अधिकृत सुवेदीले बताए। ‘हरेक टोलमा टोल विकास संस्था गठन गरेर मासिक १०–१० हजार रुपैयाँ दिएर सरसफाइमा सक्रिय गराएका छौं,’ उनले भने। सावाकीले भने ग्रामीण भेगका नागरिकलाई अपांगता परिचयपत्रका विषयमा जानकारी गराउनुपर्ने आवश्यकता औंल्याउँछिन्। ‘एफएम रेडियोमार्फत गाउँगाउँमा परिचयपत्रबारे जानकारी गराउनुपर्ने आवश्यकता देखेको छु,’ फरर नेपाली बोल्ने सावाकीले गत शुक्रबार कमलामाई नगरपालिकाको हलमा आयोजित कार्यक्रममा भनिन्। एक वर्षदेखि नेपालमा रहेकी सावाकी अब एक वर्ष यतै बस्नेछिन्।

सोही नगरपालिकाको धुराबजारमा सञ्चालित सौगात ललिपप उद्योगकी सञ्चालक बिमला थापा उक्त उद्योगमा औद्योगिक वातावराण् बनाउन र बजारीकरणमा जापानी स्वयंसेवकले ठूलो सहयोग गरेको बताउँछिन्। जापानी स्वयंसेवककै कारण उक्त उद्योगका लागि स्थानीय सरकारले एउटा भवन बनाइदिएर मेसिन समेत किनिदिएको थापाले बताइन्। ‘उहाँसँग भेट नभएको भए हामी अहिलेको अवस्थामा पुग्ने थिएनौं,’ उनले भनिन्। उक्त उद्योगले स्थानीय किसानबाट संकलित दूधबाट ललिपपलगायत स्थानीय कच्चा पदार्थमा आधारित वस्तु उत्पादन गर्दै आएको छ।

चारजनाले प्रत्यक्ष रोजगारी पाएको उद्योगमा थप लगानी आवश्यकता रहेको तर कसिला प्रावधानका कारण बैंक, वित्तीय संस्थाबाट कर्जा लिन नसकेको उनको गुनासो छ।   रामेछापको गोठपानीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानअध्यापक केशवराज सापकोटाको अनुभव पनि उस्तै छ। करिब चार महिना उक्त विद्यालयमा स्वयंसेवकको रुपमा काम गरेकी हिरोको नाकामुराले धेरै कुरा परिवर्तन गरिदिएको उनले सुनाए। ‘हाम्रा गाउँका महिलाले त हाम्रा छोरी–बुहारी पनि यस्तै भइदिए हुन्थ्यो भनेको पनि सुनेँ,’ प्रधानअध्यापक सापकोटाले भने। जापानको कोबेबाट आएकी नाकामुराले उक्त विद्यालयका विद्यार्थीलाई सफा–सुग्घर रहन, चित्र कोर्न सिकाउनुका साथै नियमित विद्यालय आउन प्रोत्साहित गरेको प्रधानअध्यापक सापकोटाको भनाइ छ।

नाकामुराले आफ्नो विद्यालय र गाउँमा लगाएको गुनकै कारण उनीहरुको कामको समीक्षा कार्यक्रममा भाग लिन तीन घन्टा हिँडेर सदरमुकाम मन्थली आइपुगेको सापकोटाले सुनाए। नाकामुरा भने एकजना जापानी साथीले नेपाल प्राकृतिक रुपमा सफा भए पनि यहाँ फोहोरको समस्या निकै रहेको सुनाएपछि आफूले सरसफाइलाई फोकस गरेको सुनाइन्। रामेछाप र दोलखामा अहिले चारजना जापानी स्वयंसेवक खटिएका छन्। तेरुको सवादा नामकी स्वयंसेवकले कृषि ज्ञान केन्द्र रामेछापमा रहेर तरकारी खेतीको क्षेत्रमा काम गरिरहेकी छिन्। उनले स्थानीय किसानलाई व्यवसायी तरकारी खेतीमा लग्न अभिप्रेरित गर्नुका साथै जापानी तरकारी र फलफूल खेतीको सम्भाव्यता अध्ययन गरिरहेकी छिन्। अर्का स्वयंसेवक चिस्यो सिमुजुले रामेछापमा खानेपानीको पाइपलाइन प्रणालीमा हुने चुहावट पत्ता लगाउने प्रविधिको क्षेत्रमा काम गरिरहेका छन्।

उनको प्रविधिले जमिनमाथिबाटै भूमिगत खानेपानीको पाइपलाइनमा रहेको चुहावट पत्ता लगाउँछ। निकै सस्तो यो प्रविधिले चुहावट पत्ता लगाउन पिच अथवा ढलान भइसकेको ठाउँ भत्काउनुपर्ने झन्झट अन्त्य गर्ने सिमुजुले बताए। नौ महिनादेखि रामेछापमा कार्यरत उनी सहरी क्षेत्रको भूमिगत पाइपलाइनमा रहेको चुहावट पत्ता लगाउने जापानी प्रविधि नेपालका लागि पनि उपयुक्त रहेको निष्कर्षमा पुगेका छन्। जाइकाका प्रमुख सल्लाहकार सुशीलकुमार भट्टचनका अनुसार जापानले नेपाललाई गर्ने प्राविधिक सहायताको एक हिस्सा स्वयंसेवक परिचालन हो। उसले नेपालको आवश्यकता अनुसार मागका आधारमा स्वयंसेवक पठाउँछ। नेपालमा जापानी सहयोग सुरु भएको ५० वर्षको अवधिमा १५ सय हाराहारी स्वयंसेवकले यहाँ आएर काम गरेको भट्टचनले जानकारी दिए। यसले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै सांस्कृतिक आदानप्रदानमा समेत योगदान गरेको उनको भनाइ छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App