३ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

ल्होसार मनाउन लाङटाङ र क्यान्जिनका होटल व्यवसायी काठमाडौंमा

पर्यटकीय क्षेत्र क्यान्जिन उपत्यका। तस्बिर : हिमनाथ/नागरिक

रसुवा - पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिनका होटल व्यवसायी ग्याल्पो ल्होसार मनाउन काठमाडौं जाने क्रम सुरु भएको छ। २०७२ वैशाख १२ गतेअघिसम्म गाउँमै ल्होसार मनाउने गरेको भए पनि त्यसयता ल्होसार मनाउन काठमाडौं जाने क्रम सुरु भएको हो।

पर्यटकीय क्षेत्र लाङटाङ तथा क्यान्जिनका बालबालिका काठमाडौं बसेर पढिरहेका छन्। पहिले उनीहरू ल्होसार मनाउन गाउँ आउने गरेको भए पनि अहिले अभिभावक काठमाडौं जाने गरेका क्यान्जिनका होटल व्यवसायी ग्याल्बो तामाङले बताए। ‘अहिले पर्यटनको सिजन सुरु भइसकेको छैन,’ उनले भने, ‘ल्होसारपछि पर्यटक आउन थाल्छन्।’ करिब १० दिन त्यहाँ स्थानीय नहुने उनले बताए। तर होटल भने पूर्ण रुपमा बन्द हुँदैनन्। ‘त्यहाँ आएका पर्यटकलाई खान तथा बस्न समस्या हुँदैन,’ उनले भने, ‘होटलमा काम गर्ने कामदार रहन्छन्।’ अहिले त्यहाँ दैनिक पाँच–सात पर्यटक गइरहेका छन्।

लाङटाङमा खासगरी चैतपछि पर्यटक जाने गरेका छन्। अहिले हिउँ हेर्नका लागि पर्यटक आउने गर्छन्। चैतपछि फूलहरू तथा हिउँ हेर्न जाने पर्यटक बढी आउँछन्। भूकम्प गएपछि पर्यटकको आगमन घटेको भए पनि पछिल्लो समय पर्यटकीय सिजनमा पहिलेको जस्तै आउने गरेका छन्। भूकम्प गएको वर्ष पर्यटकको आगमन घटेको थियो। त्यसपछिका वर्षहरूमा पर्यटक आउने क्रम निरन्तर बढ्दै गएको छ। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरे पनि असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैशााख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्।

२०७२ वैशाख १२ गतेअघिसम्म गाउँमै ल्होसार मनाउने गरेको भए पनि त्यसयता ल्होसार मनाउन काठमाडौं जाने क्रम सुरु भएको हो।

काठमाडौंबाट नुवाकोट, बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेंसी, लामा होटल, घोडा तबेला हुँदै लाङटाङ पुग्न सकिन्छ। लाङटाङ जाने पर्यटक सरदर १० दिनसम्म बस्ने गरेका छन्। ‘यहाँ आउने पर्यटक सरदर १० दिनसम्म बस्छन्,’ होटल व्यावसायी सुप्पा लामाले भने, ‘गन्जला पास गर्नेहरू बढी समय रहन्छन्।’
एक हप्ताको प्याकेज बनाएर त्यहाँ जान सकिने उनले बताए। काठमाडौंबाट स्याफ्रुसम्म सवारीमा यात्रा गर्न सकिन्छ। स्याफ्रुमा बास बसेर भोलिपल्ट लामा होटलमा बास बस्न पुगिन्छ। पर्यटक लाङटाङमा एक दिन बस्ने गर्छन्। त्यसपछि क्यान्जिनसम्म पुग्ने गरेका पर्यटन व्यवसायी बताउँछन्। लाङटाङ पुग्ने पर्यटकमध्ये सीमित पर्यटकले गन्जला पास गर्ने गरेका छन्। केही पर्यटक भने धार्मिकस्थल गोसाइँकुण्ड हुँदै सुन्दरीजलसमेत जान्छन्।

नेपालको तेस्रो गन्तव्य स्थलको रूपमा परिचित लाङटाङमा लाङटाङ हिमाल, पुरानो गुम्बा, क्यान्जेन उपत्यका र नेपालको पहिलो चिज कम्पनीलगायत पर्यटकीय क्षेत्र छन्। याला पिक, क्यान्जिन रि, च्यारकुरी पिक त्यहाँका थप ट्रेकिङ स्थल हुन्। ती क्षेत्रमा बर्सेनि हजारौं पर्यटक पुग्ने गरेका छन्। गाइड र पोर्टरबिना पनि जान सकिने भएकाले यस क्षेत्रमा पर्यटक आगमन बढेको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका महासचिव निशान गजुरेलले बताए। ‘लाङटाङ क्षेत्रमा ट्रेकिङका लागि पर्यटक आउने गरेका छन्,’ उनले भने, ‘पदयात्रा छोटो र सहज भएकाले पर्यटक थप आकर्षित भएका हुन्।’

इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिंगापुरलगायत देशका पर्यटक आउने गरेका बताइएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्। लाङटाङबासी तिब्बतियन भाषा बोल्ने गर्छन्। लाङटाङमा तिब्बतियन, नेपाली र अंग्रेजी भाषा बढी बोलिन्छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App