६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बैंक चल्दा कारोबार रकम साढे दुई अर्बमाथि

काठमाडाैँ - सेयर बजार सूचक नेप्से निरन्तर बढिरहे पनि खासै भाउ बढ्न नसकेको बैंकिङ समूहका कम्पनीमा लगानीकर्ता आकर्षित भएसँगै सोमबार साढे दुई अर्बमाथिको कारोबार भएको छ। यस दिन नेप्से ३४.२६ विन्दुले बढेको छ। पछिल्लो समय खासगरी बिमा र लघुवित्त समूहका कम्पनीको सेयर भाउ निरन्तर बढे पनि बैंकिङलगायत समूहको मूल्य खासै बढ्न सकेको थिएन।

यस दिन १३६३.९८ विन्दुमा खुलेको बजार कति बेलै पनि रातो नभई १३९८.२४ मा पुगेर बन्द हुँदा दिनभरिको उच्च विन्दु १४०३.४३ बन्न पुग्यो। बजारले यसअघि बलियो अवरोधका रूपमा रहेको १३५५–१३६० आसपासको विन्दुलाई आइतबार छिचोलेपछि लगानीकर्ता बजार अझै बढ्ने विश्वासमा सक्रिय बने, जसले कारोबार रकमका साथै नेप्से बढाउन मद्दत ग-यो। दैनिक चार्टमा यस दिन माथिपट्टि छोटो धर्सो (छाया) सहितको लामो शरीर भएको हरियो महिनबत्ती बनेको छ। यसले बजारमा विक्रेतामाथि क्रेता आक्रामक ढंगले हावी भएको संकेत गरेको छ।

बजारले यसअघि बलियो अवरोधका रूपमा रहेको १३५५–१३६० आसपासको विन्दुलाई आइतबार छिचोलेपछि लगानीकर्ता बजार अझै बढ्ने विश्वासमा सक्रिय बनेका छन्, जसले कारोबार रकमका साथै नेप्सेलाई पनि बढाउन मद्दत पु-याएको छ।  

नेप्से २.५१ प्रतिशत वृद्धि हुँदा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८१ प्रतिशत (८.०४ विन्दु) ले बढेर २९३.८६ मा पुग्यो। नेप्सेको तुलनामा सेन्सेटिभ इन्डेक्सको वृद्धिदर बढी देखिएको छ। यसले ठूलो चुक्तापुँजी भएका र राम्रा कम्पनीको सेयर भाउ तुलनात्मक रूपमा बढी वृद्धि भएको संकेत गरेको छ। बैंकिङ समूहको सेयर भाउमा वृद्धि भएसँगै सेन्सेटिभ इन्डेक्सको वृद्धिदर बढ्न पुगेकाले पनि यसलाई पुष्टि गरेको छ। पुँजीकरणका हिसाबले ठूला १० कम्पनीमध्ये आठवटा बैंकिङ समूहकै कम्पनी छन्।

सबै समूहमा हरियाली
यस दिन कारोबार भएका सबै समूहको सूचक हरियो छ। सबैभन्दा बढी उकालो लाग्नेमा व्यापार समूह देखिएको छ। त्यसपछि बैंकिङ समूह छ। व्यापार समूहको सूचक ४.९८ प्रतिशतले उकालो लाग्दा बैंकिङ समूह पनि ३.५८ प्रतिशतले वृद्धि भएको छ। यस्तै जलविद्युत् समूहको सूचक पनि ३.१६ प्रतिशतले विस्तार भएको छ। विन्दुगत आधारमा हेर्दा सबैभन्दा बढी वृद्धि निर्जीवन बिमा समूहमा देखिएको छ भने दोस्रो स्थानमा जीवन बिमा समूह छ। यी दुवै समूहको सूचक अत्यधिक माथि रहेकाले थोरै प्रतिशत वृद्धि हुँदा पनि विन्दुगत वृद्धि धेरै देखा पर्छ। यस दिन निर्जीवन बिमा समूहको सूचक १८१.८२ विन्दुले बढ्दा जीवन बिमा समूहको सूचक ११७.७२ विन्दुले हरियो छ। यस्तै व्यापार समूहको सूचक ४१.९७ र बैंकिङ समूहको सूचक ४१.१३ विन्दुले हरियो छन्। जलविद्युत् समूह ३२.१८ विन्दुले उकालो लाग्दा विकास बैंक २७.३, होटल्स २०.९४, उत्पादनमूलक समूह १०.६५, वित्त ९.७९, लघुवित्त ९.६७, अन्य ६.२१ र म्युचुअल फन्ड ०.१ विन्दुले हरियो बनेका छन्।  

कारोबार रकम साढे दुई अर्बमाथि
बढ्दो नेप्सेलाई कारोबार रकमले पनि साथ दिएको छ। यस दिन दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार चार सय ४२ रूपैयाँको सेयर कारोबार भएको छ। यो नेपाली सेयर बजारको इतिहासमै हालसम्मको सबैभन्दा बढी कारोबार रकम हो। यसअघि नेप्से सर्वाधिक उच्च विन्दुमा पुग्दा दैनिक कारोबार रकम दुई अर्बभन्दा केही माथिमात्रै थियो। सोमबारको कारोबार रकम अघिल्लो दिनको तुलनामा ३५.९ प्रतिशतले बढी हो। आइतबार एक अर्ब ९७ करोड ८१ लाख आठ हजार सात सय एक रूपैयाँको सेयर किनबेच भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार संख्याका साथै किनबेच भएको कित्तामा पनि वृद्धि भएको छ। आइतबार १८ हजार आठ सय ८५ कारोबारबाट एक सय ७६ कम्पनीका ४१ लाख पाँच हजार एक सय ३४ कित्ता सेयर किनबेच भएकोमा सोमबार २४ हजार आठ सय पाँच कारोबारबाट एक सय ७५ कम्पनीका ६४ लाख ७४ हजार सात सय ५० रूपैयाँका सेयर खरिदबिक्री भएका छन्।

शिवमको उच्च कारोबार
कारोबार रकमका आधारमा यस दिन शिवम सिमेन्ट पहिलो स्थानमा छ। यस कम्पनीको १२ करोड ९४ लाख ९० हजार दुई सय ३८ रूपैयाँको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा रहेको शिखर इन्सुरेन्सको ११ करोड २१ लाख ९६ हजार तीन सय ७३ रूपैयाँको सेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्सुरेन्स र नेको इन्सुरेन्स क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। एनआइसी एसिया बैंक, नेपाल इन्सुरेन्स, एनएमबी बैंक, एसियन लाइफ इन्सुरेन्स र ग्रामीण विकास लघुवित्त पनि उच्च कारोबार हुने १० कम्पनीभित्र परेका छन्। यस दिन कारोबार भएका एक सय ७५ कम्पनीमध्ये एक सय १७ कम्पनीको सेयर भाउ उकालो लाग्दा ३६ वटा कम्पनीले भने गुमाउन पुगेका छन्। ६ वटा कम्पनीको अन्तिम मूल्यमा भने कुनै परिवर्तन आएन।

यस दिन सबैभन्दा बढी मूल्य बढ्नेमा पञ्चकन्यामाई हाइड्रोपावर, ङादी हाइड्रोपावर र राष्ट्रि बिमा कम्पनी रहेका छन्। यी तीनवटै कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्दा नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाउनुपरेको थियो।

प्रकाशित: ६ फाल्गुन २०७६ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App