१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्थानीयद्वारा ईन्दुशंकर चिनी उद्योगमा तालाबन्दी

बुधबार ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा तालाबन्दीसहित आयोजित धर्नामा सम्बोधन गर्दै हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल। तस्बिर: टंक/नागरिक)

सर्लाही- ईन्दशंकर चिनी उद्योग हरिवनले प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयबासिन्दाले बुधबार उद्योगको मूलगेटसहित उखु ढुवानी हुने गेटमा तालाबन्दी गरेका छन्।

स्थानीयद्वारा गठित संघर्ष समितिको आव्हानमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उद्योगको मूलगेटसहित तीनवटा गेटमा तालाबन्दी गरिएको हो। संघर्ष समितिका संयोजक सुरेश भट्टराईले उद्योगबाट धुलो, धुवाँ र दुर्गन्ध अत्यधिक फैलिएपनि प्रदुषण नियन्त्रणको माग राख्दा व्यवस्थापन पक्षले कुनै चासो नदिएपछि बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रनु परेको बताए।

‘प्रदुषण नियन्त्रणका लागि गत आइतबार तीन दिने अल्टिमेटम दिएर ज्ञापन पत्र बुझाएका थियौं, मंगलबार वार्तामा समेत बस्यौं, वार्ताका क्रममा एक वर्षभित्र प्रदुषण नियन्त्रण गर्ने प्रस्ताव आयो, अनि हामीले मान्यौ तर एक वर्षभित्र प्रदुषण नियन्त्रण नभए उद्योग बन्द गर्न तयार छौं भन्ने लिखित प्रतिबद्धता माग्दा दिईएन’, संयोजक भट्टराईले भने, ‘वर्षौंदेखि प्रदुषणविरुद्ध आन्दोलन गर्ने अनि सहमति गर्ने भईरहेको छ, यसपटक पनि उधारो सहमति गरेर हामीलाई आलटाल गर्न खोजिएकाले तालाबन्दी लगायत आन्दोलनका कार्यक्रम गर्न बाध्य भएका छौं।’

स्थानीयले बुधबार दुई घण्टा उद्योगबाट चिनी लगायत विभिन्न सामानहरु आयात निर्यात हुने मूलगेट तथा उखुका ट्रक एवं ट्याक्टर आयात निर्यात हुने गेटमा तालाबन्दी गरेका थिए। उद्योग व्यवस्थापनले आफूहरुको माग पूरा नगरेसम्म चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम जारी रहने भट्टराईको कथन छ। बिहीबार पनि तालाबन्दीको कार्यक्रम रहेको संयोजक भट्टराईले जानकारी दिए।

तालाबन्दी कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडाध्यक्षहरु शेख मेहबुब रेजा, यज्ञविनोद ढुंगेल लगायतको समेत सहभागिता रहेको थियो। उपमेयर पौडेलले उद्योगले प्रदुषण नियन्त्रणमा उचित चासो नदिएको आरोप लगाईन्। ‘चिनी उद्योगको धुलो र धुँवा अनि डिष्टिलरीको दुर्गन्धबाट वर्षौंदेखि स्थानीय बासिन्दा आजित भएका छन्’, उपमेयर पौडेलले भनिन्, ‘प्रदुषण नियन्त्रणका लािग नगरपालिकाको तर्पmबाट पटक–पटक ताकेता गरिएपनि उद्योगले कुनै सुनुवाई गरेको छैन, स्थानीय बासिन्दाको माग अत्यन्त जायज छ, त्यसमा हाम्रो पनि पूर्ण समर्थन छ।’

मंगलबारको वार्तामा सहभागी हरिवन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेलले प्रदुषण नियन्त्रणका लागि एक वर्षको समयावधी दिँदा पनि उद्योग व्यवस्थापनले लिखित प्रतिबद्धता जनाउन नसकेको जानकारी दिए। वार्तामा उद्योगको तर्फबाट सञ्चालक राजेश केडियाका छोरा शुभम केडिया, प्रशासकीय अधिकृत ठाकुर नेपालसहितका कर्मचारी लगायतको सहभागिता रहेको थियो। झण्डै साढे २ घण्टासम्म चलेको वार्ताका क्रममा उद्योगले लिखित प्रतिबद्धता नजनाएपछि आफूहरु त्यसै उठेर हिँडेको संयोजक भट्टराईले बताए। स्थानीयबासीले चिनी उद्योगको प्रदुषण नियन्त्रणका लागि दबाव दिने उद्देश्यले गत शनिबार दिउँसो संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका थिए।

उद्योगका प्रशासकीय अधिकृत नेपालले वार्ता प्रदुषण नियन्त्रणका लागि प्रयास भईरहेको जानकारी दिए। ‘कर्मचारीसँग मात्रै कुरा गर्दैनौं भन्नु भएकाले यसपटक उद्योगका मालिक राजेश केडियासँगै कुरा गराउने प्रयास भएपनि उहाँ बिरामी हुनु भएकाले उहाँका छोरा शुभम बाबु स्वयं वार्तामा आउनु भएको थियो।’ नेपालले भने, ‘तर संघर्ष समितिको तर्फबाट लिखित प्रतिबद्धता माग्ने सवालमा उठाईएका केही शब्दहरुले हामीलाई गम्भिर बनाएको छ, प्रदुषण नियन्त्रण हुनुपर्छ भन्ने स्थानीयको मागमा हामी सकारात्मक छौं, उद्योगपति लगायत हामी कर्मचारीबीच आन्तरिक छलफल भईरहेको छ।’

संघर्ष समितिका संयोजक भट्टराईका अनुसार चिनीमेल वरिपरी हनुमानचोक, बाँसाटोल, पाख्रीन टोल लगायतका बासिन्दा चिनी उद्योगको प्रदुषणबाट बढी पीडित हुँदै आएका छन्। चिम्नीबाट उड्ने कालो धुलोले धोएर सुकाएको सेतो लुगा कालाम्मे हुने, घरभरी कालो धुलाले छपक्कै बनाउने गरेको तथा घरभित्रै बसेर खाना खाँदा समेत भागभरी कालो धुलोले छपक्कै पार्ने गरेको संघर्ष समितिका प्रचारप्रसार संयोजक विनय न्यौपानेले गुनासो गरे।

धुलो, धुवाँको प्रदुषण र चिनी उद्योग अन्तर्गतकै अमरावती डिष्ट्रिलरीबाट बाहिरिने फोहोर पानीको दुर्गन्धले स्थानीयमा स्वाशप्रस्वाश लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको समितिका संयोजक भट्टराईको दाबी छ। ‘चिनी उद्योगले उत्पादन गर्ने मलको प्लाण्ट तथा डिष्ट्रिलरीबाट बाहिरिने फोहोर पानी गनाएर वरिपरीका गाउँमा बसिनसक्नु भईरहेको छ’, भट्टराइले भने, ‘अनि चिम्नीबाट उड्ने धुलो र धुवाँले सास फेर्नै गाह्रो भईरहेको छ।’

 

प्रकाशित: २२ माघ २०७६ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App