४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ब्यारेकभित्र सुन्दर स्याउ बगैंचा

ब्यारेकभित्र स्याउका बिरुवा रोप्दै सैनिक। तस्बिर : नागरिक

जुम्ला - यो समयमा जुम्लास्थित २४ नम्बर बाहिनीमा कार्यरत हरेक सैनिक स्याउ बगैंचा व्यवस्थापनमा जुटेका छन्। उनीहरु स्याउको बिरुवा रोप्न खाल्डो खन्नेदेखि मलखाद व्यवस्थापन र गोडमेलमै व्यस्त छन्। कर्णालीमै पहिलो पटक सेनाको ब्यारेकमा सुन्दर स्याउ बगैंचा बनाउने अभियानमा २४ नम्बर बाहिनी जुटेको छ। यो सिजनमा मात्र ६ सय स्याउका बिरुवा रोपिएको बाहिनीपति दिपक बाँनिया बताउँछन्। उनले भने, ‘जुम्ला सुहाउँदो फलफूल खेती भनेको स्याउ नै हो। स्याउखेतीको संरक्षण र प्रवद्र्धन गर्न ब्यारेकभित्र बगैंचा स्थापना गरेका छौं।

उनका अनुसार नेपाल सरकारले एक नागरिक एक बिरुवा अभियान थालेकामा नेपाली सेनाले पनि एक सैनिक एक फलफूल बिरुवाको अवधारणा अघि सारेको छ। यो कार्यक्रम अनुसार जुम्लाको सैनिक ब्यारेकमा सुन्दर स्याउ बगैंचाको परिकल्पनाका साथ स्याउ रोपिएको हो। बाहिनीपति बाँनिया भन्छन्, ‘सेनाले भूगोल सुहाउँदो फलफूल बिरुवा रोप्नुपर्ने भनेपछि जुम्लामा स्याउका बिरुवा रोपियो। सैन्य ब्यारेक वरिपरिको बाँझो पाखोभरी स्याउ रोपियो। यो जुम्ली स्याउका लागि राम्रो कामको सुरुवात पनि हो। स्याउ खेती ब्यारेकभित्र पनि गरेका छौं। यहाँका हरेक सैनिक परिवारलाइ पनि स्याउ खेती गर्न उत्साहित बनाएका छौं।’

सरकारको एक नागरिक एक बिरुवा अभियान अनुसार जुम्लाको सैनिक ब्यारेकमा सुन्दर स्याउ बगैंचा बनाउने परिकल्पनाका साथ स्याउखेती सुरु गरिएको हो ।

स्थानीय अनुकूलको स्याउको बिरुवा ब्यारेकभित्र रोपेपछि स्याउ किसान उत्साहित छन्।  जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरेर स्याउखेती थालिएको २४ नम्बर बाहिनी अड्डाले जानकारी दिएको छ। यो स्याउ खानलाई भन्दा पनि स्याउ प्रचारप्रसारमा सहयोग पुगोस् भन्नका लागि लगाइएको हो। कुनै पनि संरचना निर्माण गर्न पनि नसकिने र ध्वस्त पनि नहुने जमिनमा स्याउ बगैंचा स्थापना गरिएको छ। यो स्याउ अर्गानिक ब्रान्डका रुपमा उत्पादन हुनेछ। प्रत्यक्ष कृषि प्राविधिकको निगरानी रहिरहनेछ।

बगैंचामा रोपिएका सबै बिरुवामा नम्बरिङ गरिएको छ। विभिन्न दर्जाका सैनिकलाई बिरुवा हुर्काउने जिम्मेवारी दिइएको छ। कृषि प्राविधिक बोलाएर खाल्डो खन्नेदेखि काँटछाँट तथा व्यवस्थापन पक्षलाई बलियो बनाइएको छ। प्रत्यक्ष कृषि प्राविधिकको निगरानीमा बगैंचा स्थापना गरिएकाले सुन्दर बगैंचाको सपना साकार हुनेमा दुईमत नरहेको बाहिनीपति बाँनिया बताउँछन्। उनले भने, ‘यो बगैंचालाई सुन्दर बनाउने छौं ।’ यो बगैंचा जहाजबाट सहजै रुपमा देखिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्न सक्ने सम्भावना पनि रहेको कृषि प्राविधिक बताउँछन्।

पुरानो बिरुवालाई गोडमेल, किटनाशक औषधि लगाउने कामसमेत भइरहेको छ। सैनिकलाई स्याउ व्यवस्थापन तालिम प्रदान गरिँदै आएको छ। नेपाली सेनाको कल्याणकारी निर्देशनालयको कार्यक्रम अनुसार पूर्वसैनिक र आश्रित परिवारका ४० जनालाई स्याउखेतीबारे दुई साताको तालिम दिइएको छ। ‘सुन्दर स्याउ बगैंचा स्थापना गर्ने कार्यक्रम ब्यारेकभित्र मात्र केन्द्रित छैन्,’ बाहिनीपति बाँनिया भन्छन्, ‘सैनिक परिवारलाई पनि स्याउखेती गर्न उत्साहित गरिएको छ। ठाउँ अनुसारको उत्पादनसँग जोडिँदा सैनिक परिवारको आर्थिक आयआर्जनमा समेत टेवा पुग्ने देखिन्छ।’

बगैंचामा स्थानीय जातको रेड र गोल्डेन डेलिसियस जातको स्याउ रोपिएको हो। ब्यारेकभित्र हरियाली हुने भयो। स्याउ सिजनमा निकै आकर्षक बगैंचा देखिने भयो। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भन्छन्, ‘जुम्लामा स्याउखेती गरेर सेनाले उदाहरणीय काम गरेको छ। यो कामको किसान स्तरमा उच्च प्रशंसा भइरहेको छ ।’ कृषि कार्यालयको समन्वयमा स्याउ स्थानीय किसानको नर्सरीबाटै खरिद गरिएको हो। काँटछाँटमा नियमितता छ। तालिम प्राप्त जनशक्ति ब्यारेकभित्र पनि उत्पादन भइसकेको छ। यो निकट भविष्यमै सबैको मन लोभ्याउने बगैंचा बन्ने देखिन्छ।

स्याउ बगैंचा स्थापनाको कार्यलाई नेपाली सेनाले ‘वृहत् वृक्षरोपण कार्यक्रमका रुपमा हेरेको छ। रोपिएका बिरुवाको अभिलेख राख्ने काम गरिनुका साथै ‘वृक्षरोपण र संरक्षणमा सहभागिता, जिम्मेवारी र निरन्तरता’लाई पालना गरी संरक्षण गर्ने व्यवस्था गरिएको छ । ‘यो बगैंचा सबैको हेर्न लायक बन्न सक्छ। सेनासँग समन्वय गरेर स्याउखेती अध्ययन गर्ने थलोका रुपमा स्थापित हुन सक्छ,’ कृषि विकास कार्यालय प्रमुख देवकोटा भन्छन्, ‘यो प्राविधिक जनशक्तिका लागि राम्रो प्रयोगशालाजस्तो बन्ने छ। यो बगैंचालाई नमूना बनाउने कार्यमा कृषि कार्यालय पनि जिम्मेवार रहने छ ।’

सरकारी बाँझो जग्गामा बगैंचा स्थापना गर्न अनुदानमा बिरुवा उपलब्ध गराइएको थियो।  यसले स्याउको क्षेत्रफल ह्वात्तै बढ्यो। राष्ट्यि स्तरमा स्याउको महत्व अझै बढाउन मद्दत ग-यो। ब्यारेकभित्रको २० हजार वर्गमिटरमा स्याउखेती गरिएको छ। स्याउको संरक्षण पनि सहजै रुपमा गर्न सकिनेछ। रोगकिरा नियन्त्रण, बगैंचा व्यवस्थापन, स्याउबारे अध्ययन गर्न सहयोग पुग्ने छ। ब्यारेकभित्रको बगैंचालाई तालिम केन्द्रका रुपमा स्थापित गर्ने लक्ष्य कृषि विकास कार्यालय जुम्लाको छ।

जुम्ली स्याउको प्रचारप्रसारसँगै संरक्षणमा टेवा पुग्छ। यसको सिको अरु जिल्ला जिल्लाले पनि अनुसरण गर्न सक्नेछन्। जुम्ला स्याउको पकेट क्षेत्र पनि हो। हाल जुम्लामा तीन हजार चार सय ५० हेक्टरमा स्याउखेती गरिएको छ। यहाँको स्याउ शुद्ध अर्गानिक भएकाले माग पनि अत्यधिक बढ्दो छ।

प्रकाशित: १९ माघ २०७६ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App