२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुन्तला खेतीबाट कृषक सन्तुष्ट

सुन्तला बिक्रीका लागि बजार पठाउन तयारी गर्दै किसान । तस्बिर : मञ्जु /नागरिक

काठमाडौं - अर्घाखाँची पाणिनी गाउँपालिका–१ पणेना सिम्लेका ४५ वर्षीय केशवराज पौडेल आफ्नै आँगनबाट सात लाखको सुन्तला बिक्री हुँदा खुसी छन्। लामो समयदेखि वैदेशिक रोजगारका लागि दुबई रहेका पौडेल पाँच महिनाअघि मात्रै घर फर्केका हुन्। वर्षौंदेखि खाडी मुलुकमा पसिना बगाउँदै आएका उनलाई आफ्नै देशको माटोमा सोचेभन्दा पनि राम्रो सुन्तला उत्पादन हुँदा अब विदेशिने रहर मरिसकेको छ।

सुन्तलाको फूल फूल्ने र फल लाग्ने बेलामा परेको असिना र हिउँका कारण गत वर्षभन्दा १५ क्विन्टल कम सुन्तला उत्पादन भएको उनी बताउँछन्। आफू वैदेशिक रोजगारमा भए पनि परिवारका सदस्यले विगत १० वर्षदेखि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आए पनि विगत दुई वषदेखि सुन्तला उत्पादनमा वृद्धि आएको उनको भनाइ छ। उनका अनुसार पछिल्लो समय केजीकै हिसाबले पनि सुन्तलाको बिक्री मूल्य बढ्दो भएकाले आम्दानी सन्तोषजनक छ।
१२ वर्षअघि ६–७ हजारको गहुँ, तोरी फल्ने उनको बारीमा अहिले तीन सयवटा सुन्तलाका बोट फल्ने भएका छन्, साथै नयाँ बिरुवा बढ्ने क्रममा छन्। १० वर्षअघि प्रतिकिलो १० रुपैयाँका दरले बिक्री हुने सुन्तला अहिले ६५–७० रुपैयाँमा बिक्री हुँदा आफूलाई हौसला मिलेको उनले बताए।

अर्घाखाँचीका नीलराज पौडेल र होमनाथ पौडेलले सुन्तला खेती सुरु गरेपछि अन्य कृषकले पनि उक्त खेती विस्तार गरेका छन्। अहिले सुन्तला सबै सिम्लेबासीको आयआर्जनको बलियो स्रोत बनेको छ।

विदेशमा भन्दा बढी आम्दानी त आफ्नै बारीमा हुने रहेछ,’ पौडेल भन्छन्, ‘आफ्नै आँगनबाट लाखौंको सुन्तला बिक्री गर्न पाउँदा म खुसी छु, स्वदेशमै उत्पादन गरेर घरखर्च चल्ने भएपछि अब म खाडी मुलुक जाँदिन, परिवारसँगै बसेर सुन्तलाकै खेती गर्छु,।’सोही गाउँमा १२ वर्षदेखि सुन्तला खेती गर्दै आएका ४१ वर्षीय इन्द्रमणि पाण्डे पनि आफ्नो बारीमा लटरम्म फलेका सुन्तला हेरेरै दंग छन्। सुरुवाती समयमा १५ सय २५ सयको सुन्तला बिक्री गर्दै अगाडि बढेका उनले गत वर्ष ६ लाखको सुन्तला बिक्री गरे। यस वर्ष भने उनका बारीका सुन्तला अझै टिप्नै बाँकी छन्। उनी सुन्तला टिपेर बिक्रीका लागि पठाउने तयारीमा छन्।

यस वर्ष साढे ६ लाख रुपैयाँको सुन्तला बिक्री हुने उनको अनुमान छ। ‘अहिले सुन्तला उत्पादन हुने बारीमा पहिला पहिला तीन–चार मूरी मकै हुन्थ्यो,’ पाण्डे भन्छन्, ‘थोरै बाली फल्ने जमिनमा ६–७ लाखको सुन्तला उत्पादन हुँदा हामी सबै खुसी छौं, बिक्री मूल्यमा पनि सन्तुष्ट छौं।’ प्रदेश सरकारको पहलमा पोखराथोकमा बन्दै गरेको कोल्ड स्टोर प्रयोगमा आएपछि कृषकलाई अझै बढी सजिलो हुने उनले बताए।असिना र हिउँले असर पारे पनि यस वर्ष नौ लाखसम्मको सुन्तला बिक्री हुने अनुमान लगाउँछन् ४० वर्षीय कृषक रेवतीराज पौडेल। सुन्तला जातको नर्सरीबाट वार्षिक पाँच लाख कमाउने उनका बारीमा भने तीन जात (स्थानीय जात, किन्नो जात र उन्सु जात) का सुन्तला फल्ने गर्छन्।

पौडेलका अनुसार बारीमा साढे चार सय फल्ने बोट छन् भने ७५ वटा नयाँ बोट हुर्किने क्रममा छन्। ‘हामीले १२–१५ लाखसम्मको आम्दानी हुने बगैंचा तयार गरिसकेका छौं,’ पौडेल भन्छन्, ‘यहाँ भएका ४९ घर सबैमा सुन्तला खेती नै छ, तत्काल सुरु गर्नेहरुको पनि एक लाखभन्दा कम आम्दानी हुने बगैंचा छैन।’ बिचौलियापनका कारण किसानले अलि कम मूल्य पाए पनि आफ्नो बारीमा फलेको सुन्तलाबाट आफू सन्तुष्ट भएको उनी बताउँछन्। सुन्तलाको स्याहारसुसारलाई हेर्दा आम्दानीको २० प्रतिशत खर्च गरे मात्रै पनि सुन्तलामा मलजल, काटछाँट, व्यवस्थापन, औषधि उपचार गर्ने बताउँदै उनले सुन्तलाको रेखदेख, स्याहारसुसार र व्यवस्थापन गरिएन भने उत्पादन गुणस्तरहीन हुने उनको दाबी छ।

त्यस्तै अर्का कृषक होमनाथ पौडेलको बारीबाट यस वर्ष १३ लाख हाराहारीको सुन्तला बिक्री भएको छ। आफ्नो बारीको सुन्तला बुटवल, भैरहवा हुँदै नारायणघाटसम्म पुग्ने होमनाथ बताउँछन्। पाणिनी–१ बाँसबोटका कृषक रेवती भट्टराईले पाँच लाखको सुन्तला बिक्री गरेका छन्। परम्परागत खेतीभन्दा आधुनिक प्रविधिले खेती गर्न सके बढी फाइदा हुने बताउँदै उनले सुन्तलाको बगैचा बर्सेनि बढ्ने क्रममा रहेको बताए। उनले सुन्तला खेतीसँगै क्रिमसन एग्रो नामक फर्म पनि सञ्चालनमा ल्याएका छन्। चार वर्ष खाडी मुलुकमा बसेर फर्केका उनले आफ्नै गाउँको माटोलाई माया गरी सुन्तला, च्याउ, तरकारी लगायत उत्पादन गर्न थालेको र कम दुःखमा धेरै पैसा कमाउन सकेको बताउँछन्।

अर्घाखाँची जिल्लाकै सुन्तला पकेट क्षेत्रका रुपमा परिचित पणेना सिम्लेमा सुन्तला उत्पादन बढ्ने क्रममा रहेको कृषक बताउँछन्। सुन्तला उत्पादन बढेसँगै कृषक नयाँ बिरुवा उत्पादन गर्नेतर्फ पनि लागिपरेका छन्। गत वर्ष अढाइ करोडको सुन्तला बिक्री गरेका सिम्लेबासीले यस वर्ष भने मौसमका कारण दुई करोडको सुन्तला बिक्री हुने अनुमान गरेका छन्। नीलराज पौडेल र होमनाथ पौडेलले सुन्तला खेती सुरु गरेपछि अन्य कृषकले पनि उक्त खेती विस्तार गर्दै जाँदा सुन्तला अहिले सबै सिम्लेबासीको आयआर्जनको बलियो स्रोत बनेको छ।

प्रकाशित: १२ माघ २०७६ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App