७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल

कपिलबस्तुको तिलौराकोटमा उत्खनन् गरिँदै।

कपिलवस्तु - बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउन विज्ञ विदेशी पुरातत्वविद्सहित नेपाली टोलीले यस वर्ष फेरि उत्खनन् थालेका छन्। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन चार वर्र्षअघि नै युनेस्कोमा प्रस्तावित गरेको पुरातत्व विभागले जनाएको छ।

युनेस्को र जापानिज फन्ड इन ट्रस्टको सहयोगमा काम जारी राखिएको छ। बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले मंगलबारदेखि विधिवतरुपमा कार्य सुरु गरेका  हुन्। अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर पुरातात्विक मूल्य मान्यता अनुसार उत्खनन् थालिएको हो। टोलीले तिलौराकोट प्रवेश गर्नुका साथै प्राचीन सहरको झझल्को दिनेगरी उत्खनन् गर्ने बताएको छ। बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद तिलौराकोटमा टोलीले उत्खनन् गरिने सरोकारवालाबीच राखेको अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले जानकारी दिए।

यही टोलीले तिलौराकोट र आसपासमा ६ वर्ष उत्खनन् कार्य गरेको थियो। उत्खनन् कार्य आगामी दुई महिनासम्म चल्नेछ। यस वर्ष तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, कन्थक स्तुुपा, शिवगढ र तिलौराकोटको उत्तरतर्फको खाली ठाउमा उत्खनन् गनिरे कुँवरले बताए। मध्य भागको सेन्ट्रल कम्प्लेक्सको पश्चिमी गेटको खोजी गरिने छ। यस्तै शिवगढ र तिलौराकोटको उत्तरबाहिर खाली ठाउमा रहेको स्थलमा पहिलो पटक उत्खनन् गर्न लागिएको हो। वैज्ञानिक तवरबाट उत्खनन्, अन्वेषण, भूभौतिक सर्भे, फिल्ड बाकिङ सासोइकनोमिक सर्भे भिजिटर सर्भे गरी अध्ययन अनुसन्धान गरिने कुँवरले बताए ।

रिक्स मेपिङ, टोटल स्टेसन, अगरकिङ गरी अन्वेशषण गरिने छ। विभाग र कोषले सन् २०१२ देखि उत्खनन् र अनुसन्धानको कार्य थालेको थियो। अहिलेसम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत मिलेको पुरातत्व तथा उत्खनन् परियोजनाका सह संयोजक कोषप्रसाद आचार्यले बताए। तिलौराकोटभित्र र बाहिर गरिएको वैज्ञानिक अध्ययनबाट निकै उपलब्धी मिलेको उनले बताए। ‘तिलौराकोटमा भेटिएका पुरातात्विक वस्तुहरुले यसको ऐतिहासिक प्रमाणिकताको क्रमशः पुष्टी हुँदै गएको छ,’ उनले भने। तिलौराकोटमा बुद्धकालीन सयमभन्दा अघि एउटा सुन्दर सहर रहेको धमाधम प्रमाण फेला पर्नुलाई राम्रो संकेत मानिएको उनले बताए। उत्खनन् र अन्वेशणको आउने अन्तिम प्रतिवेदनले तिलौराकोटको ऐतिहासिकताको टुंगो लाग्ने उनले विश्वास व्यक्त गरे।

सन् १९६२ मा भारतीय पुरातत्वविद् देवला मित्राले तिलौराकोटमा उत्खनन् गरी दोस्रो सताब्दीको सहर भएको प्रतिवेदनमा उल्लेख गरेकी थिइन्। उनले नै उत्खनन् गरेका स्थानको थप उत्खनन् गरी अध्ययन गरिएपछि सातौ शताब्दीको प्राचीन खाबोको प्वालहरु भेटिएको दुर्हम विश्वविद्यालयका डाक्टर रबिन कनिङघमले बताए। विगत ६ वर्षको कार्यबाट तिलौराकोट प्राचीन सहर रहेको पुष्टि भएको उनले बताए। सय गुना सयको देवाल, पोखरी, हतियार बनाउने उद्योग, बाटाहरुको भग्नावशेष, मार्यकालीन चादीका सिक्कालगायत वस्तुहरु फेला पारिएकाले आफूहरु निकै उत्साहित भएको उनले बताए।

‘तिलौराकोट र त्यस वरिपरि पुरै ऐतिहासिक प्रमाणले भरिएका छन्, अध्ययनले धमाधम पुष्टि हुँदै गष्एको छ,’ उनले भने। उत्खनन्बाट तिलौराकोटको प्राचीन कालक्रम पत्ता लाग्ने र भित्र प्रवेश गर्नासाथ प्राचीन सहरको ऐहिासिक रुपरंग देख्न सकिने बताइएको छ। उपेक्षित रहेको तिलौराकोट अहिलेको उत्खनन् पछि प्राचीन सहरको झझल्को दिने गरी परिवर्तित हुने हुँदा यस क्षेत्रको विकासमा कोसेढुंगा सावित हुने उत्खनन्मा संलग्न युनेस्को कन्स्ल्टयान्ट तथा वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले बताए। ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्तावित गरिएको छ, यसका लागि आवश्यक प्रमाण र कागजात जुटाउने कामसमेत गर्छौं,’ आचार्यले भने। कार्यक्रममा प्रदेश ५ का प्रदेश सदस्य विष्णु पन्थीले तिलौराकोटको विकासका लागि आफूहरुले सक्दो पहल गर्ने बताए।

अर्का प्रदेश सदस्य अर्जुन केसीले तिलौराकोटको विकासमा अब ढिलाइ गर्न नहुने र यसको विकासका लागि आफूहरुले जोडदाररुपमा आवाज उठाउने बताए। लुम्बिनी विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले वैज्ञानिक अध्ययन अनुसन्धानले लुम्बिनी क्षेत्रकै ब्रृहत्तर विकासमा सहयोग मिल्ने विश्वास व्यक्त गरे। सो अवसरमा सहभागीले तिलौराकोटको जग्गा अधिग्रहण कार्य चाँडै टुंगो लगाउनुपर्नेमा जोड दिए। पूर्वमन्त्री दीपकुमार उपाध्यायले अध्ययनले दुईवटा मानस बुद्धको कर्मथलो प्राचीन कपिलस्तुको पर्यटकीय विकासको बाटो खुल्ने धारणा राखे।

लुम्बिनी विकास कोषका कार्यवाहक सदस्यसचिव सरोज भट्टराईले तिलौराकोटको विकासलाई प्राथमिकतामा राखिएको बताए। उत्खनन् टोलीमा दुर्हम विश्वविद्यालयका १२, पुरातत्वविद् २, पुरातत्व विभागका ५ र लुम्बिनी विकास कोषका पाँच गरी २० जना रहेका छन्। त्यस्तै त्रिभुवन विश्वविद्यालय र लुम्बिनी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी पनि सहभागी हुनेछन्।

प्रकाशित: २५ पुस २०७६ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App