१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

किसानलाई तरुल खन्न भ्याइनभ्याइ

सर्लाही – माघे संक्रान्तिका दिन फलाहारको रुपमा प्रयोग हुने तरुल खनेर निकाल्न जिल्लाको पश्चिम क्षेत्रका किसानलाई भ्याइनभ्याइ छ। कर्मैया, शंकरपुर, राजघाट, हजरिया, बरहथवालगायत स्थानका खेतभरी तरुल खनिरहेको दृष्य बग्रेल्ती देखिन्छ।

विगतका वर्षको तुलनामा तरुलले दोब्बर बढी मूल्य पाएपछि किसान खुसी देखिन्छन्। तरुल यसपालि प्रतिकिलो ८० रुपैयाँसम्म मूल्य पाइएको राजघाटका किसान शंकरकुमार मैनालीले जानकारी दिए। ‘यसवर्ष निकै राम्रो मूल्य पाएका छौं, अन्य वर्षको तुलनामा धेरै व्यापारी तरुल किन्न आइरहेका छन्,’ मैनालीले भने, ‘यसरी मूल्य पाउने हो भने किसानलाई लागत र परिश्रमअनुसार राम्रो फाइदा हुनेछ।’ मैनालीले १० कट्ठामा लगाएको तरुल खेतमै प्रतिकट्ठा २७ हजार रुपैयाँमा बिक्री गरिसकेका छन्। हाल व्यापारीले मजदुर लगाएर तरुल खन्न सुरु गरेको मैनालीले जानकारी दिए।

त्यस्तै राजघाटकै राजलाल महतो पनि यस वर्ष तरुलले गत वर्षको भन्दा निकै राम्रो मूल्य पाएको बताउँछन्। ‘गत वर्ष किलोको मुस्किलले ३० रुपैयाँ पाइएको थियो,’ महतोले भने, ‘यो वर्ष त ५० देखि ८० रुपैयाँसम्म पाइएको छ।’ उनले प्रतिकट्ठा वर्षको दुई हजार पाँच सय रुपैयाँमा १० कट्ठा जमिन ठेक्कामा लिएर तरुलखेती गरेका छन्।

वैशाखमा रोपेको तरुल तीन दिनयता महतो आफैँले मजदुर लगाएर खनाइरहेका छन्। ‘व्यापारीले उचित मूल्य दिए भने यहीं बेच्छु, नत्र ट्रकमा हालेर काठमाडौं लैजान्छु,’ महतोले भने, ‘काठमाडौं पु-याउन सके अझ राम्रो मूल्य पाइन्छ।’

यस वर्ष व्यापारीले प्रतिकट्ठा १० हजारदेखि ३० हजार रुपैयाँसम्ममा तरुल किनेको स्थानीय किसानले बताए। ‘तरुलको फलाइ अनि जात हेरेर व्यापारीले मूल्य दिन्छन्,’ मैनालीले भने, ‘पाताले तरुलको बढी मूल्य पाइन्छ भने आकासे तरुलको कम मूल्य आउँछ।’व्यापारीले सर्लाहीको तरुल काठमाडौं, पोखरा, धनगढी, वीरगन्ज, इटहरीलगायत मुलुकका प्रमुख सहरसम्म पु¥याउने गरेका छन्। फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ। तरुल प्रतिबिघा १० मेट्रिक टनसम्म फल्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित: २२ पुस २०७६ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App