खोटाङ – छँदाखाँदाको नेपाली सेनाको जागिर छाडेर गाउँ फर्किँदा खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर मालदेलका राजकुमार राईलाई ‘मति बिग्रियो’ भन्ने धेरै थिए। १० वर्ष पसिना बगाएको सरकारी जागिर छाडेर खेती किसानीको काम गर्ने भन्दै राजकुमार घर आउँदा परिवारलाई पनि स्वीकार्य थिएन। तर, खाइरहेको जागिर चटक्क छाडेर घर फर्किएका राजकुमार अहिले गाउँमा अगुवा कृषकका रुपमा परिचित छन्। व्यावसायिक कृषिबाटै उनले घरैमा बसिबसि आकर्षक आम्दानी भइरहेको बताए।
०२२ मा जन्मिएका राजकुमार ०४४ मा नेपाली सेनामा भर्ती भएका थिए। आफ्नै गाउँमा केही गर्ने सोचसाथ उनी ०५४ मा नेपाली सेनाको जागिरे जीवनबाट बिदा भएका थिए। ‘अहिले खेतीपातीको काममा व्यस्त छु, १० वर्षसम्म जंगीअड्डामा परेड खेलेको सम्झना ताजै छ,’ राजकुमारले भने, ‘मासिक तलब दुई हजार थियो। गाउँमै केही गर्न सकिन्छ भन्ने सोचमा जागिर छाडेर घर फर्किएको हुँ।’
जागिर छाडेर आएको दुई वर्षपछि २०५६ देखि मात्र उनले व्यावसायिकरुपमा खेती सुरु गरेका हुन्। खेती गर्नका लागि उनले बसाइ सरिसकेका तीन आफन्तको घरजग्गा किनेर टमाटर, काउली, कोपी, प्याज, तितेकरेला, भिण्डी, बोडी, खुर्सानी, काँक्रा, धनिया, केरा, अलैंची लगायत तरकारी खेती सुरु गरेका हुन्। सैनिक जीवनमा हातहतियार चलाउन सिकेका उनी मालदेलका खेतबारीमा तरकारी तथा फलफूलका बिरुवा गोडमेल, स्याहारसुसारको काममा तल्लिन हुन्छन्।
सुरुमा सात रोपनी जग्गामा टमाटर र कोपी लगाएर व्यवसायीकरुपमा तरकारी खेती सुरु गरेका राईले हाल १० रोपनी जग्गामा टमाटार, काउली, तितेकरेला, भिण्डी, बोडी, काँक्रा, धनिया, खुर्साली, प्याज लगायत मौसमी तथा बेमौसमी बाली लगाउने गरेका छन्। खेर गइरहेको जग्गामा बनाइएको बगानमा उनले ११ सय बोट केरा हुर्काएका छन्। पानी प्रशस्त भइरहने जग्गामा उनले अलैंची बगान बनाएका छन्। उनले अलैंची बगान तथा तरकारी खेती टाढा–टाढाबाट समेत देख्न सकिन्छ। व्यावसायिक कृषिकर्म गर्न उनले ०७२ मा बार्षिफार कृषि फर्म दर्ता गरेका छन्। उनको फर्म कतिपयका लागि अध्ययन र अवलोकन गर्ने थलो बनेको छ।
बगानमा उत्पादित तरकारी तथा फलफूल केपीलासगढी गाउँपालिकाको केन्द्रकारुपमा रहेको बाक्सिलाबजार, ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा बिक्री हुने गरेको छ। उनले आफ्नो बगानमा उत्पादित कृषि उपज बाक्सिलामा बुधबार र ऐसेलुखर्कमा लाग्ने शनिबारे हाटमा पु¥याउने गरेका छन्। भाउ पर्दा कुनै बेला एक हप्तामा ५० हजारको हाराहारीमा आम्दानी हुने गरेको राजकुमारले बताए। ‘कृषिबाट घाटा त छैन। श्रम गरेअनुसार फाइदा हुन्छ,’ राईले भने, ‘हप्तामा १०–१५ हजार घट्दैन। भाउ परेको बेला हप्तामा ५० हजारको हाराहारीमा आम्दानी हुन्छ।’
ठूलो क्षेत्रमा गरिएको कृषि फर्ममा वार्षिक दुई लाखमा एक जनाले रोजगार पाएका छन्। आवश्यक परेको समयमा गोलमेल वा अर्मपर्म तिनै कामदारले मिलाउने गरेका छन्। दुई वर्षसम्म राम्रो काम गरे कामदारलाई थप एक लाख बोनस दिने गरिएको राजकुमारले बताए। कृषि फर्ममा काम गर्ने जनशक्ति अभाव छ। कृषिमा काम गर्न हिच्किचाउँछन्। त्यही भएर कामदारलाई टिकाउन उनले दुई वर्षपछि बोनस दिने व्यवस्था मिलाएका हुन्। ‘गोठालो नबस्, बदनाम भो भनिदिन्छन्, कृषि कर्मका लागि कामदार पाउनै गा¥हो छ,’ राईले भने, ‘बोनस दिन्छु नभने कामदारलाई दुई वर्षसम्म टिकाउनै सकिन्न।’
पहिला डोकोमा अहिले गाडीमा ढुवानी
सडकको पहुँच विस्तारसँगै पछिल्लो समय राजकुमारले उत्पादन गरेको फलफूल तथा तरकारी गाडीमार्फत विभिन्न बजारमा पुग्ने गरेको छ। हाल अधिकांश ठाउँमा कच्ची सडकको पहुँच पुगेकाले कृषि उपज डोकोमा बोक्न पर्दैन। गाडीमा हालेरै तरकारी तथा फलफुल बाक्सिला, ऐसेलुखर्क र दिक्तेलबजार पु¥याउने गरिएको छ। दिक्तेलका तरकारी व्यवसायीलाई गाडीमा तरकारी तथा फलफूल पठाइदिने गरेको र महिना दिनपछि पैसा लिन जाने गरेको उनले बताए।
हरेक वर्षको चैत, वैशाख र जेठको बीचमा लगाइने तितेकरेला, काँक्रा, भिण्डी, बोडीबाट उनले सबैभन्दा राम्रो आम्दानी लिने गरेका छन्। ‘अहिले गाडीले सहज बनाएको छ। तरकारी र फलफूल डोकोमा बोकिरहन पर्दैन। गाडीमा हालेर पठाउँदा हुन्छ,’ राईले भने, ‘एक सिजनमा टमाटारबाट डेढ लाख हात पर्छ। प्याजबाट एक सिजनमा एक लाख आम्दानी हुन्छ। गर्न सक्दा बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ।’
राजकुमारलाई कृषि फर्म सञ्चालनमा श्रीमती पूर्णलक्ष्मीले साथ दिएकी छन्। दुई छोरा र दुई छोरीको शिक्षादिक्षासम्मको काममा कृषि पेशाकै आम्दानी काफी भए। हाल जेठो रामकुमार बिदेशमा छन्। कान्छो उमेर ल्याव टेक्नेसियन अध्ययनरत छन्।
प्रकाशित: २० पुस २०७६ ०६:१२ आइतबार