काठमाडौं - १२० मेगावाट क्षमताको रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उक्त आयोजनाको बिहीबार शिलान्यास गरिएको हो। गोसाइँकुण्ड–१ र आमा छोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
२० अर्ब ३९ करोड लागत रहेको सो आयोजनामा चिनियाँ निर्माण कम्पनीको ९० प्रतिशत तथा नेपाली पक्षको १० प्रतिशत लगानी रहनेछ। आयोजना निर्देशक खड्काले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको बताए। ‘सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न आयोजनाबाट मद्दत पुग्ने आशा राखेका छौं,’ उनले भने। करिब १२ वर्षअघि सो आयोजना निर्माणबारे अध्ययन थालिएको थियो। यस अवधिमा पटक–पटकको छलफलपछि चिनियाँ लगानीकर्ता लगानी गर्न सहमत भएको निर्देशक खड्काले बताए।
‘देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउनका लागि मैले ऊर्जाको विकासमा हात हाल्ने योजना बुनेको थिएँ। हिजो हाम्रा दिनहरु कहालीलाग्दा थिए,’ उनले भने, ‘दैनिक १८ घण्टासम्म हामीले लोडसेडिङ भोगेका थियौं। त्यो अवस्था देखेर मैले ऊर्जामा लगानी गर्नुपर्छ भन्ने सोच राखेको थिएँ।’ निर्देशक खड्काका अनुसार उक्त आयोजनाले २०७० सालमा स्वीकृति पाएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। नेपालको समृद्धिको लागि ऊर्जा, कृषि, पर्यटन क्षेत्र भरपर्दो आधार भएको पनि उनको भनाइ छ। उनले विकास र समृद्धिका लागि राजनीति गर्न नहुने तर्क गरे। नेपाल विद्युत्मा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेको बताउँदै यहाँ उत्पादित जलविद्युत् भारत, बंगलादेश र चीनलगायत छिमेकी मुलुकमा निर्यात गर्न सकिने पनि बताए। ‘अहिले बंगलादेशबाट विद्युत्को माग बढेको छ। हामी यहाँ उत्पादित विद्युत् बेच्न सक्छौं,’ उनले भने, ‘नेपाल अब बिस्तारै सम्पन्न हुने बाटोतर्फ अघि बढेको छ।’ खड्काको कम्पनी लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि उक्त आयोजनाको प्रवद्र्धक कम्पनी हो।
उनले उक्त परियोजना तोकिएकै समयावधिभित्र सम्पन्न गरिसक्ने पनि विश्वास दिलाए। आयोजना निर्माण गर्न उक्त कम्पनीले ६ वर्षअघि स्वीकृति लिएको हो। आयोजनाको सुरुङ निर्माण थालिएको छ। फङलुङखोला र भोटेकोशीको दोभानदेखि करिब एक सय ५० मिटरमाथि भोटेकोशीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ। यस क्रममा चार हजार आठ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिने छ भने चिलिमेखोला र भोटेकोशीको संगमस्थलमा विद्युत्गृह निर्माण गरिने आयोजनाले जनाएको छ। उत्पादन गरिएको विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत चिलिमे जलविद्युत् आयोजनाको चिलिमे ‘हब’मा जडान गरिने निर्देशक खड्काले जानकारी दिए। रसुवा–भोटेकोशी आयोजनाको प्रवद्र्धक कम्पनी लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी प्रालि रहेको छ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष तामाङले जनप्रतिनिधसित समन्यव गरेर काम गर्न आग्रह गरे। स्थानीय जनप्रतिनिधि र स्थानीयवासी विकास निर्माणमा बाधक नबन्ने उनले स्पष्ट पारे। ‘यहाँ निर्माण गरिने आयोजनाबाट स्थानीयवासीको जीवनस्तरमा परिवर्तन आउनुपर्छ,’ उनले भने। सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष कर्नेल लामा र नेपाली काँग्रेसका जिल्ला सभापति पेम्बा छिरिङ तामाङले विकास निर्माणमा विदेशी लगानी भित्रिनु सुखद भए पनि स्थानीयवासीले आयोजनाबाट बढीभन्दा बढी लाभ पाउनुपर्ने माग राखेका थिए।
प्रकाशित: १८ पुस २०७६ ०२:१७ शुक्रबार