२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मदन भण्डारी लोकमार्गमा मासिएका विरुवा अझै रोपिएन

उदयपुर– निर्माणाधीन ‘मदन भण्डारी स्मृति लोकमार्ग’मा मासिएका रुखको साटो लगाउनुपर्ने नयाँ विरुवा अझै रोप्न सुरु भएको छैन।

साविक धरान–चतारा–गाईघाट–सिन्धुली–हेटौडा (वैकल्पिक मार्ग) भई हाल मेचीको झापादेखि महाकालीको डढेलधरासम्म विस्तार गर्ने काम भईरहेको मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा काटिएका रुखको सट्टा लगाउनुपर्ने झण्डै सवा लाख विरुवा अहिलेसम्म नरोपिएपछि स्थानीयहरु गुनासो गर्न थालेका छन्।

२०७४ कात्तिकदेखि निर्माण सुरु भई कालोपत्रेको कामसमेत अन्तिम चरणमा पुगिसकेको लोकमार्गको पूर्वमा सुनसरीको सीमा चतारादेखि सदरमुकाम गाईघाट–कटारी हुँदै सिन्धुलीको सीमासम्म उदयपुर खण्डमा काटिएका रुखको साटो विरुवा रोप्न ढिलाई हुनुमा स्वयं सरकार जिम्मेवार भएको स्थानीय बताउँछन्।

लोकमार्गले उदयपुर खण्डभित्र १ सय ४७ दशमलव ७७ हेक्टर वनक्षेत्र ओगटेको छ। जस अन्तरगत स्थानीय ३५ वटा सामुदायिक वन उपभोक्ता समूहका ४ हजार ६ सय रुख काटिएका छन्। लोकमार्गले मासेका रुख काट्न ०७४ वैशाख २१ गतेको तत्कालिन मन्त्रीपरिषद बैठकले स्वीकृति दिएको थियो। 

सोही स्वीकृति अनुसार तत्कालीन जिल्ला वन कार्यालय उदयपुरले रुख काट्न स्थलगत प्राविधिक लागत संकलन गरी त्यसको प्रतिबेदन सडक विभाग पठाएको थियो। जस अनुसार सडक खन्दा रुख काटिएको र एउटा काटेवापत २५ गुणा बढी विरुवा लगाउने सम्झौता ०७४ वैशाख २३ गते सडक विभाग र वन कार्यालयबीच भएको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ।

डिभिजनका सहायक वन अधिकृत जागेश्वरप्रसाद साहले लोकमार्गको उदयपुर खण्डमा ७३ हजार ७ सय ८७ दशमलव ५२ क्युविक फिट परिमाण काठ निस्कने गरी ५ हजार १ सय ३९ रुख काट्नुपर्ने प्राविधिक इस्टीमेटसहित ०७५ माघ २९ गते प्रतिवेदन विभागलाई पठाएको बताए। 

काटिएका रुख बराबर २५ विरुवा लगाउनुपर्ने प्रावधान सरकारले तय गरे अनुसार रुख रोप्न ढिलाई भईरहेको पनि सहायक डिएफओ साहले बताए। लोकमार्गले सबभन्दा बढी उदयपुरगढी गाउँपालिकाको चियावारी सामुदायिक वन उपभोक्ता समूहका रुख काटिएको छ। सो समूहको १० हजार ३ सय ८६ दशमलव ८ क्युविक फिट काठ निस्कने गरी ६ सय ५७ रुखको कटान आदेश दिइएको थियो।

त्यस्तै चौदण्डीगढीको साविक बेलटार ६ स्थित कौवाईदेवी समूहका ७ सय ५५ रुख काटिएको छ भने त्रियुगा नगरपालिका ७ स्थित पूर्व चिसापानी सामुदायिक वनको ४ हजार १ सय ५५ क्युविक फिट काठ निस्कने गरी ७० वटा रुख काटिएको छ। ठाउँ हेरेर कुनै समूहका थोरै र कुनैका धेरै रुख काटिएको अधिकृत साहले बताए। 

निर्माणाधीन लोकमार्गले उदयपुरका लिमचुङबुङ र ताप्ली गाउँपालिकाबाहेक सबै स्थानीयतह छोएको छ। पूर्वको बेलका, चौदण्डीगढी, सदरमुकामको त्रियुगा र पश्चिमको कटारी नगरपालिका तथा मध्यभागका रौतामाई र उदयपुरगढी गाउँपालिका छोएको लोमार्गले सामुदायिक र सरकारी वनका रुख काटिएपछि नयाँ लगाउनुपर्ने प्रावधान छ। 

डिभिजन कार्यालयले लगाउनुपर्नेमा पछिल्लो समय सडक विभागले लगाउने कि वनले भन्ने विषय नै नटुंगिएकाले पनि काम ढिला भएको वन कार्यालयले जनाएको छ। लोकमार्ग निर्माणको काम झण्डै अन्तिम चरणमा पुगिसक्दासम्म १ लाख २८ हजार ४ सय ७५ वटा विरुवा रोप्नुपर्नेमा अहिलेसम्म सुरु नै नभएको वनले जनाएको छ। विरुवा रोप्न १ करोड ९० लाख ६९ हजार ८ सय ७२ रुपैंया लाग्ने प्रारम्भिक लागत निकालिएको भए पनि त्यो घटबढ हुनसक्ने डिभिजन वनले जनाएको छ।  

  यता मदन भण्डारी लोकमार्ग निर्देशनालयका सुपरिटेण्डेन्ट इन्जिनियर उमेशविन्दु श्रेष्ठले भने नयाँ विरुवा लगाउने तयारी भईरहेको जानकारी दिए। निर्देशनालयले आफुले लगाउने नभएर विरुवा रोप्न लाग्ने खर्चवापतको रकम वन कार्यालयलाई दिने तर, रकम अहिलेसम्म दिन नसकेको बताए। ‘हामी विरुवा रोप्ने काम गर्दैनौं, त्यसवापत लाग्ने रकम दिन्छौं, अहिले पैसा दिइसकेको छैन, अव छिट्टै दिइन्छ’ श्रेष्ठले भने ‘पैसा दिने र लिने दुवै निकाय सरकारी भएकाले केही ढिला भएको हो, विभागले यसबारे छिट्टै निर्णय गर्ला।’

२०७७ कात्तिकभित्र सक्नेगरी ०७४ कात्तिकदेखि निर्माण सुरु लोकमार्गको उदयपुर खण्डमा चतारादेखि गाईघाट–मुर्कुचीभन्दा हुँदै नेपालटारसम्मको कालोपत्रेको काम भईसकेको छ। धरान–चतारा–बसाहा–फत्तेपुर–कन्चनपुरसम्मको कालोपत्रे तीनवर्षअघि नदाहा–कन्चनपुर खण्डको सडकमा एसियाली विकास बैंक (एडिवी) ले कालोपत्रे गरिसकेको छ। गाईघाट बजारलाई छाडेर पश्चिम र पूर्व दुवैतर्फ कालोपत्रे काम अन्तिम चरणमा पुगिसकेको छ।

प्रकाशित: १७ पुस २०७६ ०९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App