१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

उदयपुर सिमेन्टले क्षमता बढाउँदै

उदयपुर – गैंडा छाप सिमेन्ट उत्पादन गर्ने उदयपुर सिमेन्ट उद्योगले क्षमता बढाउने भएको छ। त्रियुगा नगरपािलका ६ जलजलेस्थित पूर्ण सरकारी स्वामित्वको यो उद्योगको दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमता छ। उद्योगले हाल सात सय ५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ।

आठ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगलाई अब छिट्टै एक हजार दुई सय मेट्रिक टन प्रतिदिन उत्पादन गर्नेगरी स्तरोन्नति गर्न लागिएको उद्योगका महाप्रबन्धक (जिएम) नवलकिशोर साहले बताए। उद्योगको स्तरोन्नति भए दैनिक दुई हजार मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्न सकिने साह बताउँछन्।

साहका अनुसार त्रियुगा–१६ चिलाउनेको सिंधालीस्थित खानीमा उद्योगको चुनढुंगा छ। सिमेन्ट उत्पादनमा आवश्यक सम्पूर्ण कच्चा पदार्थ उद्योगसँग पर्याप्त रहेको छ। त्यसैले क्षमता बढाउने उपकरण मात्र थप्दा पनि उत्पादन बढ्ने जिएम साहको भनाइ छ। उद्योगसँग आफ्नै स्वामित्वको मौज्दात चुनढुंगा खानी दुई सय वर्षसम्म पुग्ने उनले बताए।

उद्योग स्थापनाको २५ वर्ष पुग्दासम्म भर्खर १५ प्रतिशत खानी उत्खनन भएको छ भने सिमेन्ट बनाउन चाहिने अन्य कच्चा पदार्थ रातो माटो पनि उद्योगको आफ्नै स्वामित्वमा वर्षौं पुग्नेगरी पर्याप्त रहेकाले कोइला मात्र भारतबाट ल्याउनुपरेको, बाँकी सबै कच्चा पदार्थ आफ्नै स्वामित्वको छ।

दुई–तीन दशकसम्म निरन्तर काम गर्ने दक्ष प्राविधिकको ठूलो समूह पनि उद्योगसँग रहेकाले उत्पादन बढाउन खासै धेरै लगानी गर्नु नपर्ने साहले बताए।

उद्योग स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सरकारले एक करोड ५० लाख रुपैयाँ अनुदान दिने भएको छ। अपुग रकम उद्योगको आन्तरिक स्रोतले बेहोर्ने गरी काम अघि बढाउने तयारीमा रहेको साहले जानकारी दिए।

उत्पादन क्षमता बढाउन उद्योगमा ‘रेनफोर्स सन्सेन्पेन्सर प्रिहिटर प्रणाली’ थप्नुपर्ने जिएम साहले बताए। जसका लागि झन्डै पाँच करोड रुपैयाँ चाहिने र लगभग नौ महिनाभित्र काम भइसक्ने प्राविधिकको अनुमान छ।

प्रकाशित: १६ पुस २०७६ ०५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App