८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट पर्यटक भित्रिने क्रम बढ्यो

सुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ पर्यटकका सामग्री जाँच गरिँँदै। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक भित्रने क्रम बढेको छ। पछिल्लो ११ महिनामा नाकाबाट साढे ३० हजार पर्यटक नेपाल आएका छन्। अध्यागमन कार्यालय रसुवाका अनुसार सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्ममा ३० हजार पाँच सय १७ पर्यटक भित्रिएका हुन्।

सन् २०१८ जनवरीदेखि नोभेम्बर अन्तिमसम्ममा २८ हजार पाँच सय ९२ पर्यटक भित्रिएका थिए। कार्यालयको तथ्यांक हेर्दा यो वर्ष एक हजार नौ सय २५ पर्यटक बढी आएको देखिन्छ। गत वर्षको तुलनामा पर्यटक आगमन बढेको कार्यालयका सूचना अधिकारी गणेश भण्डारीले बताए।

रसुवागढी नाका हुँदै आएका पर्यटक सिधैं काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन्। नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेको छ। केही चिनियाँले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् भने अधिकांश पर्यटक नेपालकै सवारी साधनको प्रयोग गर्दै आएको देखिन्छ।

रसुवागढी नाकाबाट ५२ देशका पर्यटक नेपाल आएका छन्। चीन, सार्क राष्ट्रका अफगानिस्तान बाहेक अन्य देश र १० वर्ष मुनिका बालबालिकाले ग्रेटिस भिसा पाउँछन्। यसकारण पनि चिनियाँ पर्यटक बढेका हुन्। नाकाबाट सन् २०१९ को जनवरीमा आठ सय ४२, फेब्रुअरीमा चार सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा एक हजार चार सय ९१, मेमा तीन हजार पाँच सय ३७, जुनमा ६ हजार ७५ पर्यटक भित्रिएका थिए।

यस्तै जुलाईमा चार हजार चार सय चार र अगस्टमा पाँच हजार तीन सय ७५, सेप्टेम्बरमा चार हजार तीन सय ३३, अक्टोबरमा दुई हजार एक सय ३१ र नोभेम्बरमा एक हजार दुई सय चार चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१५ मा चिनियाँ पर्यटक मात्र आएका थिए। सन् २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेका कार्यालयले जनाएको छ।

सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार चार सय ७८, सन् २०१८ मा २९ हजार एक सय ५४ र सन् २०१९ को ११ महिनामा ३० हजार पाँच सय १७ पर्यटक नेपाल आएका कार्यालयको तथ्यांक छ।

२०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको थियो। त्यो महिना दुई सय ९१ पर्यटक आएका थिए। यो नाका भएर नेपाल भित्रने प्रमुख देशमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्यान्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकी र अस्ट्रेलिया पर्छ।

नेपाल घुम्न आउने धेरै जसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन्। अधिकांश चिनियाँ पर्यटकले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन्। करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन्।

रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्दा धेरै ठाउँमा हुने चेकजाँचले यात्रा गर्न समस्या भएको चिनियाँ पर्यटकले गुनासो गरेका छन्। रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अनअराइभल भिसा उपलब्ध गराउँदैन।

सरकारी र कूटनीतिक राहदानीबाहक बाहेक नायजेरिया, घाना, जिम्बाबे, स्विजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनुपर्छ।

भिषाको लागि अनलाइन फारम (पर्यटक भिसा) भर्ने व्यवस्था मिलाइएको उनले बताए।  विभागको वेभसाइटमा गएर फारम भर्न सकिन्छ। अध्यागमन अधिकृतले कागजात छानबिन गरी नेपालमा प्रवेश दिन उपयुक्त देखेमा पर्यटक भिसा जारी गर्नेछन्। कार्यालयले केआइओएसके मेसिन जडान गरेपछि पर्यटकलाई फाराम भर्न सजिलो भएको छ।

प्रकाशित: ९ पुस २०७६ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App