२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खरिद ऐनविपरीत बिनाटेन्डर करोडौंको औषधि खरिद

धनगढी - सुदूरपश्चिमका स्वास्थ्य संस्थाहरूमा किर्ते करचुक्ता प्रमाणपत्र पेस गरेर औषधि बिक्री गर्ने गरेको पाइएको छ। धनगढीस्थित गेटा आँखा अस्पतालमा अमित मेडिसिन डिस्ट्रिब्युटर्सले किर्ते करचुक्ता प्रमाणपत्र पेस गरेर तीन करोड ५० लाखको औषधि बिक्री गर्न सफल भएको छ। सो डिस्ट्रिब्युटरले करोडौंको औषधि नक्कली करचुक्ता प्रमाणपत्रका आधारमा मात्र नभई सार्वजनिक खरिद ऐनविपरीत बिनाटेन्डर बिक्री गरेको हो।

सार्वजनिक खरिद ऐनविपरीत कर्मचारी र आपूर्तिकर्ताको मिलेमतोमा करोडौंको औषधि खरिद–बिक्री गर्ने, इच्छाएको व्यक्तिलाई टेन्डर पार्ने, गुणस्तरहीन र कम परिमाणमा औषधि दिएर बिल मिलाउनेजस्ता अनियमितता हुने गरेको पाइएको छ।

२० लाखभन्दा बढीको औषधिजन्य वस्तु खरिद गर्न टेन्डर गरिनुपर्ने प्रावधान सार्वजनिक खरिद ऐन नियमावलीमा छ। गेटा आँखा अस्पताल नेत्र ज्योति संघद्वारा सञ्चालित सो अस्पतालमा नियमावलीअनुसार नै औषधि खरिद गरिएको अस्पतालका लेखा प्रमुख मानबहादुर चौधरीले दाबी गरे।

नेत्र ज्योति संघ कैलालीका अध्यक्षको संयोजकत्वमा रहेको पाँच सदस्यीय आपूर्ति समितिले औषधि खरिदसम्बन्धी निर्णय गर्ने उनले बताए। एक आर्थिक वर्षमा करिब पाँच करोड रुपैयाँबराबरको औषधि अस्पतालले खरिद गरेको उनको भनाइ छ। ‘करिब पाँच करोडबराबरको तीन सय बढी प्रकारका औषधि खरिद हुन्छ,’ उनले भने, ‘टेन्डर प्रक्रियाबाट नभई दरभाउपत्र (कोटेसन)का आधारमा खरिद गर्ने गरेका छौं।’

सुरुमा विभिन्न प्रकारका औषधिका लागि दरभाउपत्र आह्वान गरिने र दरभाउपत्र सदर भएको व्यवसायी संस्थाबाट नै पटकपटक गरेर वर्षभरि औषधि खरिद गरिने उनले बताए। आर्थिक वर्ष २०७५/७६ मा १२ वटा संस्थाका दरभाउपत्र सदर भएकोमा तीमध्ये आर्थिक वर्ष २०७५/७६ मा अमित मेडिसिनबाट दुई करोड ८९ लाख ४२ हजार को औषधि खरिद गरिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा अमित मेडिसिनाटै ६१ लाख ५६ हजारको औषधि खरिद गरिएको उनले बताए।

सुदूरपश्चिम प्रदेश कोष लेखा तथा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव जोशीले सार्वजनिक खरिद नियमावलीको नियम ८४ र ८५ मा २० लाखभन्दा बढीको औषधि खरिद गर्न राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर टेन्डर आह्वान गर्नुपर्ने व्यवस्था गरिएको बताए। ‘पटकपटक होस् वा एकैपटक २० लाखभन्दा बढीको औषधि खरिद गर्न टेन्डर आह्वान गरिनुपर्ने नियमावलीमा उल्लेख छ,’ उनले भने।

कुनै पनि संघसंस्थाले सरकारको प्रचलिन ऐन, नियमविपरीत नियमावली, बिनियम बनाउन नपाइने कानुन व्यवसायी गम्भीर ऐरले बताए। ‘२० लाखभन्दा बढीको औषधि दरभाउपत्रका आधारमा खरिद गर्ने कुरा सार्वजनिक खरिद ऐनविपरीत छ,’ उनले भने।

आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरेर दुई वर्ष नै नक्कली करचुक्ता प्रमाणपत्र पेस गरेर बिनाटेन्डर तीन करोड ५० लाखको औषधि अमित मेडिसिनले बिक्री गरेको छ। आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख चन्द्रकुमार श्रेष्ठले अमित मेडिसिन डिस्ट्रिब्युटर्सले गेटा आँखा अस्पतालमा औषधि बिक्री गर्न पेस गरेको दुई आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र नक्कली फेला परेकाले अनुसन्धान गरी कारबाहीको गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेको बताए।

नक्कली करचुक्ता पेस गर्ने सञ्चालक फरार
किर्ते गरेकोमा मुद्दा दर्ता भएसँगै अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल फरार रहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए। नेपालगञ्जलगायत विभिन्न ठाउँमा परिपत्र गरेर र सिभिल पोसाकमा प्रहरी खटाएर उनीहरूको खोजी भइरहेको उनले बताए। जिल्ला अदालतले गत सोमबार अमित मेडिसिनका सञ्चालकलाई पक्राउ गर्न अनुमति दिएको हो।

अमित मेडिसिनले गेटा आँखा अस्पताल मात्र नभई सुदूरपश्चिमका प्रायजसो सबै स्वास्थ्य संस्थामा औषधि आपूर्ति गर्न टेन्डर लिने भएकाले अन्यमा पनि किर्ते करचुक्ता प्रमाणपत्र तथा कागजपत्र पेस गरेकोमा छानबिन हुनुपर्ने स्थानीयले माग गरेका छन्। प्रहरी नायब उपरीक्षक बस्नेतले अहिलेसम्म अन्यमा किर्ते कागजपत्र पेस गरेको जानकारी आइनसकेको बताए।

सरकारी कागजपत्र र छाप किर्ते गरेकोमा सात वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान रहेको उनले बताए। पछिल्लो केही समययता स्वास्थ्य निर्देशनालय र विभिन्न अस्पतालले औषधि र उपकरण खरिदका लागि खोलेका अधिकांश टेन्डर विवादमा तानिँदै आएका छन्। आफूले इच्छाएको व्यक्तिलाई टेन्डर दिन मिल्ने गरी टेन्डरमा बँुदा राखिने गरेको तिवारी मेडिसिनका सञ्चालक दीपेन्द्र तिवारीले बताए।

सुदूरपश्चिम प्रदेशमा अधिकांश औषधि र उपकरण खरिदको टेन्डर वर्षौंदेखि डिबी मेडिसिन, अमित मेडिसिन र ड्रग सेन्टरले पाउँदै आएका छन्। मन्त्रालय, निर्देशनालय र अस्पतालका स्टोर तथा लेखाका कर्मचारीले आपूर्तिकर्तासँग मिलेमतो गर्दै आर्थिक चलखेलका आधारमा टेन्डर स्वीकृत गर्ने र औषधि खरिदमा पनि विभिन्न चलखेल गर्ने, गुणस्तरहीन र कम परिमाणमा समेत उपलब्ध गराएर बिलमा मिलाउने गरिएको औषधि व्यवसायी नै बताउँछन्।

‘हाम्रो देशमा सक्नेले जे गर्दा पनि हुँदोरहेछ, टेन्डरबिना करोडौंको औषधि बिक्री हुँदा पनि सबै चुप छन्, टेन्डरमा औषधि खरिद–बिक्रीमा पनि त्यस्तै लुट छ,’ एक औषधि व्यवसायीले भने।

प्रकाशित: २६ मंसिर २०७६ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App