८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लक्ष्यभन्दा ४७ प्रतिशत बढी राजस्व

रसुवा – रसुवागढी भन्सार कार्यालयले कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। असोज महिनामा लक्ष्यभन्दा केही कम राजस्व संकलन गरेको कार्यालयले कात्तिकमा ४७ प्रतिशत बढी राजस्व संकलन गरेको हो।

कार्यालयले कात्तिक महिनामा ९३ करोड ५७ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा एक अर्ब ४७ करोड एक लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। कार्यालयले चार महिनामा वार्षिक लक्ष्यको ५८.७९ प्रतिशत राजस्व संकलन गरिसकेको छ।

कार्यालयले साउनमा एक अर्ब तीन करोड पाँच लाख ४८ हजार, भदौमा एक अर्ब ५१ करोड २६ लाख ९० हजार र असोजमा एक अर्ब ३८ करोड ८० लाख ३२ हजार राजस्व संकलन गरेको छ।

चार महिनामा लक्ष्यको तुलनामा धेरै राजस्व उठिसकेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। ‘नाकाबाट सामग्री आयात बढेको छ,’ उनले भने, ‘यसकारण राजस्व संकलन पनि निरन्तर बढ्दै गएको हो।’

असोज महिनामा रसुवागढी नाकाबाट भदौमा दसैंका सामग्री, रेडिमेड सामग्री, टेलिकमका सामग्री र प्रोजेक्टको सामग्री बढी आएका छन्। यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।

गत आर्थिक वर्षमा नौ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकामा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

आर्थिक वर्ष ०७२÷७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आर्थिक वर्ष ०७३÷७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आर्थिक वर्ष ०७४÷७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात भइरहेको छ। भाषाका समस्याका कारण दुई महिनादेखि खाद्यवस्तुको आयात तथा निर्यात भने रोकिएको छ।

प्रकाशित: २ मंसिर २०७६ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App