७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटकलाई अर्गानिक खान्की

जुम्ला – जुम्ला कनकासुन्दरी गाउँपालिकाका सर्जन बुढाको एक चुलोमा मार्सी चामलको भात पाकिरहेको छ। अर्को चुलोमा सिमीको दाल। अनि अर्कोमा तरकारी र कचौंरामा भांगोको चटनी। यो सबै तयारी हेर्दा कुनै चाडपर्वमा खानपिनका लागि तयारी गरेको जस्तो भान हुन्थ्यो। तर, त्यो मेलापर्वको खान्की थिएन। त्यो मुगुमा रहेको अप्सरा हेर्न आउने पर्यटकका लागि बनाएको अर्गानिक खान्की थियो।

उनले भने, ‘यहाँ पर्यटकको रोजाइको खाना पाउँछ। उनीहरु अर्गानिक खान्की खोज्छन्। जतिसक्दो नयाँ स्वाद चखाउन चाहन्छौं।’ धुलाम्मे सडकमा कठिन यात्रा गरेर कनकासुन्दरीको गोठिज्युलामा पुगेका पर्यटकलाई अर्गानिक खान्कीको स्वादले निकै आराम अनुभूति दिने गरेको छ। फापरको लगर, मकैको ढिडो, कोदाको रोटी र खुर्सानीको रातो नुन्। सिँजा क्षेत्रको परिचित खान्की हुन्। सर्जन भन्छन्, ‘सिँजा अन्नको भण्डार हो। हालसम्म यहाँको उत्पादनले पर्यटकको रोजाइ पूरा गर्दै आइरहेको छ। किसान पनि अर्गानिक खेतीका लागि हौसिएका छन्। आन्तरिक तथा बाह्य पर्यटकका लागि यहाँको खान्की आकर्षणको केन्द्र हो।’

नाग्म गमगडी सडक हुँदै दिनहुँ न्यूनतम पाँच सय पर्यटक ओहोरदोहोर गर्छन्। ‘पर्यटक आरामदायी यात्रा, मिठो खान्की, आकर्षक दृश्य दख्न चाहन्छन्,’ स्थानीय दिपेन्द्र उपाध्याय भन्छन्, ‘आरामदायी यात्राबाहेक सबैको अनुभूति गर्छन्।’ साघँुरो सडक, खाल्डाखुल्डीको यात्रा र धुलोले निकै सास्ती भएको अनुभव सुनाउँछन्। सरकार पर्यटकका गुनासा सुन्न तयार नभएको स्थानीयको गुनासो छ। पर्यटक सडकका कारण कर्णाली आउन नमान्ने स्थनीयको बुझाइ छ। स्थानीय गत वर्षभन्दा यो वर्ष पर्यटकको कम ओहोरदोहोर भइरहेको उनी बताउँछन्। ‘सडकको कठिन यात्रा हो या अन्य कारण, उनले भने, ‘पर्यटक आगमन घटिरहेको छ।’

पर्यटकले आफूले खोजेको खान्की पाइराखुन् भन्ने हेतुले कनकासुन्दरी गाउँपालिकाले पनि पर्यटनमैत्री व्यवहार गर्न स्थानीय र व्यवसायीलाई पटक पटक आग्रह गर्दै आइरहेको छ। स्थानीय उत्पादनमा जोड दिन र पर्यटकको हितमा कार्य गर्न छलफल गरिरहेको छ। गाउँपालिका अध्यक्ष नरविर रावत भन्छन्, ‘यहाँ सिँजा राज्यको खोजतलास गर्न र रीति, संस्कृति चालचलन बुझ्नसमेत पर्यटक आउने गर्छन्।’ बाटोमा जुम्ली स्याउ राखिएका छन्। होटलमा चाहे अनुसारको खान्की पाउँदै आएको छ।

यहाँका व्यवसायी पर्यटकको खानाको विषयमा जानकार हुँदै छन्। पछिल्लो समय सरसफाइ पनि पर्याप्त भएको भेटिएको छ। बिहान गोठिज्युला पुगेका पर्यटक दिउँसोको खाना रारामै खान्छन्। अहिले गोठिज्युला बजारमा रहेका दुई दर्जनभन्दा बढी होटलमा अर्गानिक खान्की पाक्छ। स्थानीय दिपेन्द्र उपाध्याय प्रतिकेजी धान एक सय ४० रुपैयाँमा किनेर होटल व्यवसाय चलिरहेको बताउँछन्। स्थानीय उत्पादनको माग बढ्दा किसान पनि स्थानीय अन्न फलाउनतिर लागेका छन्।

कर्णाली प्रदेश सरकारले छनोट गरेका ४० पर्यटकीय गन्तब्यभित्र सिँजा सभ्यता पनि पर्छ।  वाणगंगा, गरुडनुहानी, गुप्तपोखरी, देउल दत्तरा गुफा, पाण्डवगुफा, र विराट दरबार छन्। हिउँदमा निकै धुलो र बर्खा निकै हिलो हुनाले आवतजावतमा समस्या छ। स्थानीय स्याउ, सिमी, आलु, फापर, चिनो, कागुनो, मकै, केराउ सबै यो क्षेत्रमा फल्छ। सडक जोडिएसँगै अल्छी बन्न थालेका यहाँका स्थानीय पर्यटकको माग तीव्र बनेपछि खेतीपातीमा लागेका छन्।

सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी तीनवटै स्थानीय तहमा मार्सी धान फल्छ। स्याउ, नास्पाती, आरु, ओखर फल्छ। पर्यटकले नासोको रुपमा स्थानीय उत्पादन लैजाने गरेका छन्। यो समयमा यहाँका होटल पर्यटकले भरिभराउँ छन्। न्यूनतम ५० देखि एक सयसम्म सवारीसाधनको आवागमन हुने गरेको छ। जुम्ला सदरमुकाम खलंगाका होटलमा पनि पर्यटकले रोजेको खानेकुरा खान पाइन्छ। पर्यटकले मिठो मानेर अर्गानिक खाने कुराको स्वाद लिने गर्छन् र फेरि फर्केर आउने बाचासहित प्रस्थान गर्छन्। कर्णाली प्रदेश सरकारले पनि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ४० वटा पर्यटकीय क्षेत्रलाई गन्तब्यका रुपमा सूचीकृत गरेको छ। त्यो भएर पनि रारा घुम्न आउने पर्यटक बढ्दै गएका छन्।

प्रकाशित: २४ कार्तिक २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App