चितवन – नारायणी नदीमा तटबन्धन गर्न थालिएको दशक पुग्न लाग्यो। आर्थिक वर्ष ०६६/६७ मा ‘जनताको तटबन्धन’ योजना सुरु भएपछि नदीमा तटबन्धन गर्ने काम कार्यालय स्थापनासमेत गरियो। नदी तटबन्धनको काम सोही बेलादेखि सुरु भए पनि हालसम्म पूरा हुन सकेको छैन।
अहिले आयोजनाको नाम परिवर्तन भएर नारायणी नदी तटबन्धन परियोजना कार्यालयले हेर्ने गरेको छ। दुई ठूला नदी नारायणी, राप्तीसँगै कयर खोलामा तटबन्धन गर्ने काम आयोजनाले गरिराखेको छ।
नारायणीको चितवन र साविकको नवलपरासी जिल्ला तथा राप्तीको मकवानपुर र चितवनमा हुने तटबन्धको काम कार्यालयबाट भइरहेको आयोजनाका निर्देशक मेखनाथ शर्माले बताए। बस्ती र खेतीयोग्य जमिन जोगाउन तटबन्धन गर्ने योजना सुरु भएको दशक बित्दा पनि काम तटबन्धन निर्माणको काम आधा पनि पूरा हुन सकेको छैन। नारायणी नदीमा चितवनतर्फ नारायणगढको नारायणी पुलदेखि गोलाघाटसम्मको ३५ किलोमिटरमा तटबन्धन गर्नुपर्ने भए पनि अहिलेसम्म १४ किलोमिटर काम भएको छ।
नवलपरासीतर्फ नारायणीमा ६३ किलोमिटर तटबन्धन गर्नुपर्ने भए पनि अहिलेसम्म १० किलोमिटर मात्र काम भएको शर्माले जानकारी दिए। यस्तै राप्तीमा एक सय पाँच किलोमिटर तटबन्ध गर्नुपर्नेमा अहिलेसम्म २५ किलोमिटर मात्रै तटबन्धन भएको छ । राप्ती नदीमा मकवानपुरको सामरी पुलदेखि चितवनको गोलाघाटसम्म तटबन्धन गरिनेछ । राप्ती नदीमा अहिलेसम्म मकवानपुरमा ६ किलोमिटर र चितवनतर्फ पुरानो तटबन्धन १८ किलोमिटर रहेको छ । सौराहादेखि पश्चिममा एक किलोमिटर नयाँ तटबन्धन बनेको छ । यो वर्ष नारायणी नदीमा चितवनतर्फ काम गर्न ६ करोड र नवलपरासीतर्फ तटबन्धन गर्न पाँच करोड रुपैयाँ बजेट आयोजनालाई प्राप्त भएको छ।
यति रकमले केही काम नहुने आयोजना निर्देशक शर्मा बताउँछन्। चितवनमा पुरानो ठेक्का कै करिब चार करोड बराबरको भुक्तानी तिर्न बाँकी छ। त्यसैले दुई करोडले मात्र नयाँ ठाउँमा थप तटबन्धन गरिने उनले बताए। ‘चितवनको पुरानो ठेक्काको रकम तिरेर आपतकालीन स्थिति बनेको ठाउँमा नयाँ तटबन्धन गर्नेछौं,’ उनले भने, ‘यस्तै स्थिति सबै नदीको रहेको छ।’ नवलपरासीतर्फ भने पाँच करोडको नयाँ योजना बनाएर काम गरिने छ। राप्ती नदीमा चितवनतर्फ १.५ करोड रुपैयाँ यो वर्षको बजेट छ। पुरानो काम र ठेक्काको रकम तिर्न नै आधाजसो लाग्ने र आधा बजेटले मात्र यो वर्ष थप नयाँ काम हुनेछ।
मकवानपुरतर्फ राप्ती नदीमा पाँच करोड बजेट भएको र यसले पुरानो ठेक्कालाई नै नपुग्ने उनी बताउँछन्। राप्ती नदीमा लोत्थरदेखि सौराहासम्म ड्याक बनाउन अध्ययन गर्ने काम प्रारम्भिक चरणमा रहेको उनले बताए। ‘नदी ठूला छन्, बजेट कम छ,’ शर्मा भन्छन्, ‘काम गर्नुपर्ने धेरै भएकाले वर्षौं लागेको हो।’ जनताको तटबन्ध आयोजना हुँदा नारायणीमा चितवनतर्फ तीन अर्ब ७९ करोड र नवलपरासीतर्फ ६ अर्ब ७२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। शर्माका अनुसार अहिलेसम्म तटबन्धका लागि एक अर्ब ६१ करोड रुपैयाँमात्र खर्च भएको छ। नदी किनार हुँदै बनाइने रिङरोडका लागि अहिले सर्भे भइरहेको छ।
नारायणी नदीतर्फ ४३ किलोमिटर सडकखण्ड पर्दा २५ किलोमिटर चाँही जोखिमको एरियामा परेको शर्माले बताए। यस वर्षका लागि केन्द्र र प्रदेश सरकारले पाँच अर्ब बराबरको बजेट नदी तटबन्धनका लागि छुट्याएको र त्यसमा कोशी, गण्डकी र नारायणी नदी र यसका सहायक नदी प्राथमिकतामा राखिएका छन्। त्यसैलै नारायणी नदी तटबन्धनको लागि डिपिआर तयार गर्ने र आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न सरकारसँग आग्रह गरिएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल बताउँछिन्।
नारायणी र राप्ती नदीलाई जोडेर बनाईने रिङ रोडका लागि पहिलो चरणको सर्भे सकिएको उनले बताईन्। ‘पश्चिम चितवनका मेघौली क्षेत्रमा तटबन्धन र स्परहरु निर्माण गरेपनि बाढीले बगाएर लैजाने समस्या छ’ उनी भन्छिन्, ‘ र राप्ती तथा नारायणी दुई वटा नदीलाई तटबन्धन सहित अगाडी बढाउन उनले मन्त्रालयसँग सहयोगको आग्रह गरेका छौं।’
प्रकाशित: २४ कार्तिक २०७६ ०२:३८ आइतबार