२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

एकीकृत जाँच चौकी निर्माण सुस्त

रसुवागढीमा निर्माण हुन भइरहेको एकीकृत जाँच चौकी ।

रसुवा - चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) भवन निर्माण सुस्त छ । गत पुसदेखि निर्माण सुरु भएको भवन निर्माणको कामले गति लिन नसकेको हो ।

निर्माण सामग्री समयमै आयात हुन नसक्नु, रसुवागढी नाकामा पुल निर्माण तथा वर्षाको समयमा काम गर्न कठिनाइलगायत कारण देखाउँदै ठेकेदारले सुस्त गतिमा काम गरिरहेको छ । निर्माणस्थलमा थोरै मात्र जनशक्ति परिचालन गरिएको छ ।

ठेकेदार कम्पनी श्यामसुन्दर–रबिना जेभी कन्सट्रक्सनले भवन निर्माण गरिरहेको छ । १० महिनामा करिब १० प्रतिशत मात्रै काम भएको छ । अहिले डिपिसीको काम भइरहेको छ । पुसबाट निर्माण सुरु भएको भवनको शिलान्यास गत जेठ अन्तिममा अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए । 

निर्माण प्रक्रिया सुरु भएपछि आपूmले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुस १९ गते सर्वोच्च अदालतमा रिट हालेको थियो । अदालतमा परेको रिट निवेदन २०७५ जेठ २४ मा खारेज भएको थियो । न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेपछि निर्माणको काम सुरु भएको थियो । सम्झौता अनुसार २०७७ असार २५ गतेभित्र भवन निर्माण गरिसक्नुपर्छ ।

भवन निर्माण गर्न तीन वर्ष लाग्ने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । तोकिएको समयमध्ये दुई वर्ष बितिसकेको छ । भवन निर्माणका लागि करिब ६२ करोड खर्च हुनेछ । ६१ करोड ९८ लाख ६८ हजार ७५ रुपयाँ खर्च हुने विभागले जनाएको छ । भवन पाँच तल्लाको हुने छ । यसमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहने छन् । ठेक्का प्रक्रिया, अदालती प्रक्रियाका कारण निर्माणमा ढिलाइ भएको देखिन्छ।

भवन निर्माणपश्चात जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गरिरहेका छन् ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दुरी पार गर्नुपर्छ ।

प्रकाशित: १४ कार्तिक २०७६ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App