२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

लुम्बिनीमा भ्रमण वर्षको तयारी शून्य

लुम्बिनीको शान्तिदीप तथा मायादेवी मन्दिर जाने नहर अघिल्तिर बाटोमा जमेको पानी। तस्बिर : रेखा/नागरिक

बुटवल – प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष चलिरहदा बुद्ध जन्मस्थल लुम्बिनी पुगेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले लुम्बिनीभित्र जे देखे र भोगे त्यसले उनलाई खिन्न बनायो। तिलोत्तमाको लगानी सम्मेलनमा भाग लिन रुपन्देही आएका बेला असोज ८ गते उनी लुम्बिनी पुगेका थिए। लुम्बिनीमा उनले यत्रतत्र लेउ लागेको देखे। फोहोर, झाडी, धुलो र हिलोले लुम्बिनी भ्रमण वर्ष र पर्यटन वर्ष २०२० को तयारीलाई गिज्याइरहेको अनुभूति गरे। ‘विश्वमा नेपाललाई चिनाउने महत्वपूर्ण पर्यटकीय स्थलको सरसफाइ नै गर्न सक्दैनौ भने विदेशीलाई के देखाउन नेपाल बोलाउने ?’ सम्मेलनको औपचारिक समारोहमै मुख्यमन्त्री पौडेलले प्रश्न गरे। भ्रमण वर्षको तयारीमा लागेको भनिएका संघ र प्रदेश सरकार कहाँ छन् भन्ने प्रश्न लुम्बिनी पुग्दा स्वभाविक लाग्ने टिप्पणी उनको थियो।

मुख्यमन्त्री पौडेलले भनेजस्तै प्रदेश ५ को लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षको तयारीले लुम्बिनीलाई छोएकै छैन। लुम्बिनी भित्रैका बाटाघाटा व्यवस्थित छैनन्। यत्रतत्र फोहोर छ। पानी जमेका खाल्डाखुल्डी, धुलो र झाडीले बुद्ध जन्मस्थलको सौन्दर्य बिगारेको छ। मुख्य प्रवेशद्वार, ४ नम्बर गेट तथा बसपार्कबाट पसेपछि शान्ति दीप, मायादेवी मन्दिर तथा अन्य बौद्ध स्तुपा पुग्ने भत्केका बाटा, हिलो, झाडी र लेउले बिरुप देखिन्छन्। मायादेवी मन्दिरको प्रवेशद्वारबाटै जुत्ता चप्पल चोरी हुन्छ। आइतबार गेट अगाडि एक जना श्रीलंकाली पर्यटक चप्पल हराएर खोजिरहेका भेटिए। मूल प्रवेशद्वारमा नेपाल प्रहरी, सशस्त्र र लुम्बिनी विकास कोषका सुरक्षा गार्ड छन्। तर, तिनले जुत्ता चप्पल हराउने  समस्या सामान्य भएको बताए। कोषका सुरक्षा गार्ड शैलेन्द्र गुप्ताले जुत्ता चप्पल चोरिने, साटिने समस्या नौलो र ठूलो विषय नभएको प्रतिक्रिया दिए।

बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार अघिल्तिरको सडकमा जमेको फोहोर पानी। यो सडक भत्काएको तीन महिना भयो। पानी पर्दा हिलेपानी गन्हाएर पर्यटक नाक थुन्दै  भित्र पस्छन्। घाम लाग्दा धुलो उडेर बसी नसक्नु हुन्छ।

लुम्बिनी परिषरका सार्वजनिक सौचालयमा केहीका ढोका बिग्रेका छन् भने केहीका धारा नै बिग्रेका छन्। सरसफाइको त कुरै छाडौं। ‘कहिलेकाँही त पर्यटक सद्दे ट्वाइलेट सोध्दै आउछन्। त्यतिबेला हामीलाई नै लाज लाग्छ,’ लुम्बिनीका क्युरियो व्यापारी बिष्णु बाँनियाले भने। आइतबार श्रीलंकाली पर्यटकको टोली लिएर लुम्बिनी आएका टुर गाइड सुरज तुलाधरले पनि बेलहियादेखि नै सुरु भएको भत्केको बाटो, धुवा, धुलो, हिलो र फोहोर लुम्बिनीभित्रैसम्म देखिँदा पर्यटकका सामु आफ्नो शीर झुकेको प्रतिक्रिया दिए।

२० लाख पर्यटक भित्र्याउने भनिएको नेपाल भ्रमण वर्ष सुरु हुन तीन महिना बाँकी हुँदा देशकै प्रमुख पर्यटकीय गन्तब्यमा पुग्ने सडकको अवस्था बिजोग छ। लुम्बिनी प्रवेशद्वार अगाडिको सडक भत्काएको तीन महिना भयो। जहाँ वर्षामा ढल मिसिएको पानी जमेर नाक थुन्नुपर्छ। दायाँबायाँ निर्माण सामग्री थुपारिएको छ। बिचको साघुरो बाटोबाट पर्यटकका गाडी जाम छिचोल्दै गुड्छन्।

स्थालमार्ग बेलहिया र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी पुग्ने बाटो पनि भत्किएर बिजोग छ। बेलहिया–भैरहवा, भैरहवा–लुम्बिनी–तौलीहवा सडकमा ठूला–ठूला खाल्डा, धुलो, हिलोले सवारी आवागमनमा निकै समस्या छ। २० मिनेटको भैरहवा लुम्बिनी यात्रा अहिले पौने घण्टाको भएको छ।। २०७६ को पुसमा निर्माण सक्ने गरी २०७३ को असारमा ठेक्का सम्झौता भएको भैरहवा–लुम्बिनी–तौलीहवा सडक ५० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। त्यसमा पनि भैरहवा–लुम्बिनी खण्डको कार्यप्रगती ३५ प्रतिशतको हाराहारीमा छ। भारतीय कम्पनी गावर कन्स्ट्रक्सन गुडगाव हरियाणाले विभिन्न बहानामा सडक निर्माणमा ढिलाइ गरिरहँदा पनि सरकारी निकाय मौन छ।

सडककै कारण पर्यटकले सास्ती भोग्नु परेको लुम्बिनीका पर्यटन व्यवसायी गोविन्द प्रसाद ज्ञवालीले बताए। कपिलबस्तु पुग्ने लुम्बिनी–तौलीहवा सडककै कारण पर्यटकलाई ऐतिहासिक तिलौराकोट पु¥याउन नसकिएको पनि उनले बताए। ‘विदेशीलाई यहाँका अन्य बुद्धस्थलमा पु¥याउन पहल गरेका छौं। तर पर्यटकले पहिल्यै बाटोघाटोको अवस्था सोधिदिन्छन् त्यतिबेला हामी नाजवाफ हुनुपर्छ,’ मायादेवी गेस्ट हाउसका सञ्चालक ज्ञवालीले भने। कपिलबस्तुमै पनि अधिकांश बुद्धस्थलमै पुग्ने सडक कुनै जीर्ण छन् त कुनै कच्ची र साँगुरा छन्।

लुम्बिनी, नवलपरासी र कपिलबस्तुका बुद्ध स्थल जोड्ने बुद्ध परिक्रमा सडक विस्तार अलपत्र छ। नवलपरासीको रामग्राम, बुद्धमावली देवदह, पण्डितपुर, लुम्बिनी र कपिबलस्तुको तिलौराकोटसहितका महत्वपूर्ण बुद्ध स्थल जोड्ने यो सडक दुई वर्षदेखि अलपत्र परेको हो। यो सडकले नवलपरासी र कपिलबस्तुका बुद्धस्थलको पर्यटन प्रवद्र्धन हुनुका साथै पर्यटकको बसाइ लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको थियो। तर, यस्ता महत्वपूर्ण आयोजना बिचमै अलपत्र पारिँदा त्यसले पर्यटन क्षेत्रलाई ठूलो नोक्सानी भइरहेको पर्यटनविद बताउँछन्। रोकिएका र अलपत्र पारिएका यस्ता पर्यटकीय पूर्वाधारको विकास र विस्तारबिना पर्यटन वर्ष सफल हुन नसक्ने उनीहरु बताउँछन्।

वार्षिक झण्डै डेढ लाख विदेशी नेपााल घुम्न आउने रुपन्देहीको बेलहिया नाकाकै अवस्था दयनीय छ। यो पर्यटकीय नाकामा सडक भत्काएर अलपत्र छाडेको नौ महिना भयो। धुलो, हिलो, फोहोरलाई छल्दै नेपाल प्रवेश गर्ने पर्यटक नाकामै घण्टौंसम्म जाममा पर्छन्। पर्यटन बोर्डको सूचना केन्द्र डेढ वर्षदेखि रित्तो छ। पर्यटकलाई लुम्बिनी या यहाँका अन्य पर्यटकीय स्थलबारे जानकारी उपलब्ध गराउने व्यवस्था न नाकामा छ न त भैरहवा विमानस्थलमा न लुम्बिनीमा। लुम्बिनी होटल व्यवसायी संघका अध्यक्ष मिथुनमान श्रेष्ठले पर्यटन वर्षको प्रवद्र्धनमा योगदान दिन आफूहरु तयार भए पनि प्रदेश र केन्द्र सरकारले सरोकारवालालाई उपेक्षा गरिरहेको बताए।

सौचालय, खानेपानी, सरसफाइजस्ता आधारभूत तयारी र पूर्वाधारबिना मनाउने भनिएको भ्रमण वर्षले सफलता पाउन नसक्ने ठहर श्रेष्ठको छ। धुलो र फोहोरसँग रमाउन कोही पनि पर्यटक नेपाल नआउने भन्दै उनले लुम्बिनीको वर्तमान अवस्थाकै कारण बाह्य  पर्यटकले बुकिङ क्यान्सिल  गरिरहेको बताए। ‘लुम्बिनी आएर दुःख पाएका पर्यटकले आफ्ना साथीलाई पनि दुःखै सुनाउँछन्। घुम्न जाउ भन्ने सल्लाह दिदैनन्,’ श्रेष्ठले भने।

लुम्बिनी विकास कोषका सूचना अधिकृत खगेन्द्र काफ्लेले निर्माणाधीन सडकको सास्ती, पूर्वाधार अभाव र लुम्बिनीको आन्तरिक व्यवस्थापनका कारण पर्यटकीय चहलपहल घटेको बताए। कोषकै अर्का कर्मचारीले पनि नेपाल भ्रमण वर्षको तयारीबारे अनभिज्ञता जनाए। ‘लुम्बिनीमा कसैको केही तयारी छैन, सुनसान छ। बहिर मिडियाबाजी गरिए पनि पर्यटक आकर्षित गर्ने कुनै कार्यक्रम या तयारी हामीले थाहा पाएका छैनौं,’ कोषका अधिकृत स्तरका ती कर्मचारीले भने।

प्रकाशित: १५ आश्विन २०७६ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App