९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

‘सोसल ड्रिंक्स’ बन्दै मदिरा

–निजी कम्पनीमा काम गर्ने प्रमिला देवकोटालाई आजकल परिवारसँग बसेर वाइन पिउन कुनै संकोच छैन। ब्राह्मण समाजमा हुर्केकी देवकोटाका लागि कुनै समय ‘मदिरा’ बर्जित थियो। अहिले उनले हरेक विकेण्डमा सासु, ससुरा र पतिसँगै बसेर वाइन पिउँछिन्। ‘माइती घरमा छँदा मदिरा छुनु पनि हुन्न भन्ने मान्यता थियो,’ देवकोटाले भनिन्, ‘अहिले परिवारसँगै बसेर पिउछौं।’

महिलाले मदिरा सेवन गरेको हेर्न त के सुन्न नसक्ने समाजमा अहिले मदिरा संस्कृतिको विकास हुँदै छ। कुनै बेला ब्राह्मण समुदायमा बर्जित मदिरा अहिले अनिवार्य आवश्यकताको पेय पदार्थ बन्दै गएको छ। व्यक्तिगत प्रयोगमा मात्र नभएर बिहेबारी, भोजभतेरमा मदिरा ‘भेराइटी’ बनेको छ। ‘लुकिछिपी’ उपयोग गर्ने मदिराका ब्रान्डहरु अहिले ब्राह्मण समुदायले पनि सोकेसमा सजाएर आफन्तलाई स्वागत गर्ने माध्यम बनाएका छन्। अन्य समुदायमा त मदिरा स्वभाविक रुपमा प्रयोग हुँदै आएको थियो।

पश्चिमी संस्कृति, खूल्ला अर्थतन्त्रको बढ्दो प्रभाव। नेपालीहरुको वैदेशिक भ्रमण र रोजगार वृद्धि, आम्दानी बढेसँगै क्रयशक्तिमा भएको वृद्धिले मदिराको खपत बढ्दै गएको छ। सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा आएको परिवर्तन र खुल्ला समाजले पनि सबै समुदायमा ‘मदिरा सोसल ड्रिङ्क’ बन्दै गएको छ। पुराना सामाजिक मूल्य, मान्यता फेरिएसँगै परम्परागत संस्कार पनि तोडिएको छ। अहिले पुरुषमात्र होइन महिलामा ‘वाइन कल्चर’को विकास भएको छ।

महिलाहरुमा वाइन खाने कल्चर विकास भएको संकटा वाइन स्टोर्सको सञ्चालक राम थापाले बताए। ‘मदिराको नामै लिन डराउने महिलामा अहिले वाइनप्रतिको आकर्षण बढ्दो छ,’ थापाले भने, ‘वाइनलाई सोसल ड्रिंक्सका रुपमा लिइन्छ।’ वाइन कल्चर बढेसँगै उद्योग खोल्ने क्रम पनि बढेको छ। अहिले वाइनका २७ उद्योग सञ्चालनमा रहेका छन्। उपभोग बढेसँगै उद्योग खोल्ने क्रम बढेको हो। विगतमा विदेशी वाइनले बजारमा ठूलो हिस्सा जमाएकामा अहिले स्वदेशी वाइनले बजार विस्तार गरेका छन्। ‘८० प्रतिशत बजार नेपाली वाइनले लिएका छन्,’ थापाले भने। बिहे, भोजभतेरमा वाइन खाने संस्कृति बढेकाले बजार पनि विस्तार भएको हो।

दसैंतिहार जस्ता चाडपर्वमा मदिराको खपत अझै बढ्छ। प्रयोगकर्ता बढेसँगै व्यापार पनि वृद्धि भइरहेको छ। वाइन उद्योगले उपभोक्ताको रुचीअनुसार रेड, ह्वाइट, हनी वाइन उत्पादन गर्दै आएका छन्। अंगुर, लिची, अम्बा, नासपाती, चुत्रोलगायत स्थानीय फलफूलको समिश्रण गरेर वाइन उत्पादन गरिन्छ।

महिलाले प्रयोग गर्न थाले पनि पुरुषले नपिउने कुरै भएन। नेपाली समाजमा मदिराको प्रयोग खुल्ला बन्दै गएपछि सोसल ड्रिङ्सको रुपमा हेर्न थालिएको हो। आँफूले प्रयोग गर्ने मदिराको ब्रान्ड र मूल्यअनुसार ‘सोसल स्टाटस’लाई तुलना गर्ने प्रचलन पनि देखिन्छ। यहाँ घरपालुवा नामको तीन पानेदेखि अन्तर्राष्ट्रिय ब्रान्डका मदिराले बजारमा राम्रो हिस्सा जनाएका छन्।

प्रयोगकर्ताले सफ्टदेखि हार्ड ड्रिङ्ससम्म आ–आफ्नो रुचीअनुसार सेवन गर्छन्। निम्नदेखि उच्च वर्गीय परिवारका सदस्यको खुसी साट्ने माध्यम मदिरा बनेको छ। पुरुषले ह्विस्की, रम, रक्सी, बियर पिउने गरेकामा पछिल्लो समय महिला, पुरुषले प्रयोग गर्न थालेका छन्। पारिवारिक तथा साथीभाईबीच ‘गेट टुगेदर’ गर्दा मदिरा अनिवार्य भइसकेको छ। मदिरा खुसियाली साटासाट गर्दा, तनाबमा हुँदा, साथीभाईबीच रमाइलोसँग बिदा मनाउँदा, कुनै नयाँ काम सम्पन्न गर्दा या सुरु गर्दा मदिरासहित मनाउने प्रचलन विकास भएको छ।

यहाँ स्वदेशी मदिरा उद्योगको व्यापार पनि फस्टाएको छ। चाडपर्वमा मदिराको खपत ह्वात्तै बढ्ने मदिरा व्यवसायी बताउँछन्। टेन्सबर्ग बियरका प्रबन्ध निर्देशक प्रेम खड्काले चाडपर्वमा बियरको खपत सतप्रतिशत बढ्ने बताए। ‘चाडपर्वमा फुर्सद र रमाइलो गर्ने भएकाले बजारमा खपत निकै बढ्छ,’ खड्काले भने, ‘बियरको बजार बर्सेनि बढिरहेको छ।’

विगतमा लुकिछिपी बियर पिउने अहिले खुल्लमखुला प्रयोग गर्न थालेको खड्काले बताए। ‘परिवारका सदस्य बसेर बियर पिउने कल्चर बढिरहेको छ,’ खड्काले भने, ‘बिहेबारी, जन्मदिन, पास्नीलगायत भोजभतेरमा मदिरा अनिवार्य जस्तै छ।’ हार्ड ड्रिङ्कको तुलनामा बियरलाई सामान्य रुपमा लिने गरेको खड्काले बताए।

घरेलु, स्वदेशी उद्योगले उत्पादन गरेका र विदेशबाट आयात गरेका ब्रान्डेड रक्सीले आ–आफ्नै बर्चस्व जमाएका छन्। मदिरासहित पेय पदार्थ अतिथीलाई सत्कार गर्ने गरिन्छ। चाडपर्वमा त मदिरा नै गिफ्ट पनि दिने गरिन्छ।नेपाली बजारमा टेन्सबर्ग, नेपाल आइस, रुस्लान, ओल्ड दरबार, टुबोर्ग बियर, लन्डन आइस, गोर्खा, काल्सबर्ग बियर, वर्सटाइनर बियर, रुस्लान भोड्का, ओल्ड दरबार ह्विस्कीलगायत ब्रान्डले बजार हिस्सा विस्तार गरिरहेका छन्। सबै कम्पनीले आ–आफ्नै ढंगले उपभोक्तालाई आकर्षित गरेका छन्। सरकारले बजेटमा कडाइ गरेपछि स्वदेशी उद्योग समस्यामा परेको मदिरा उत्पादक संघका अध्यक्ष रवी केसीले बताए।

समग्र बजार विस्तार भए पनि सरकारको नीति भने मदिरा उद्योगमैत्री नभएको गुनासो गरे। सरकारले धेरै कर लगाएपछि सीमा क्षेत्रमा भारतबाट अवैध रुपमा मदिरा आयात भइरहेको बताए। ‘विदेशबाट आउन रोकिएको भए चित्त बुझाउने ठाउँ हुन्थ्यो,’ केसीले भने, ‘भन्सार बढाएपछि अवैध बाटोबाट आउन थाले।’ सरकारको नीतिका कारण मदिराको कच्चा पदार्थ उत्पादन गर्ने उद्योग धरासायी भएको उनले बताए। ‘सरकारले वैधानिक उद्योगलाई कडाइ गरेपछि घरपालुवा रक्सी प्रयोग गर्ने क्रम बढेको छ,’ उनले भने, ‘यसले राजस्वमा असर गर्छ।’ न्यूनतम १० करोडदेखि साढे दुई अर्ब रुपैयाँसम्मको लगानीमा उद्योग सञ्चालन भएको केसीले बताए।

नेपाली वाइन उद्योगले पनि प्रयोगकर्ताको मन जित्दै गएका छन्। स्वदेशी वाइनको बजारमा माग र लोकप्रियता बढेपछि लगानीकर्ता पनि उत्साहित छन्। नेपाली बजारमा हिन्वा, तीननजुरे वाइन इन्ड्रस्ट्रिज प्रालि, मकालु वाइन इन्डस्ट्रिज प्रालि, स्नो म्यान वाइनरी प्रालि, महाकाली वाइन प्रालि, डिभाइन वाइन, डाँडाघरे वाइन, युनिभर्सल वाइन इन्डस्ट्रिज, रोयल काठमान्डु हिमालय वेभरज प्रालि लगायत वाइन रहेका छन्।

उद्योगीका अनुसार स्वदेशी बजारको ८० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगट्न थालेका छन्। ‘बजार मागको ८० प्रतिशत हिस्सा स्वदेशी उद्योगको छ,’ संकटा वाइन स्टोर्सका सञ्चालक थापाले भने, ‘आवश्यकताभन्दा धेरै वाइनका उद्योग खुले।’

पछिल्लो समयमा सुगरका बिरामीलाई लक्षित गर्दै कम्पनीहरुले सुगर फ्री मदिरासमेत बजारमा ल्याएका छन्। दुर्गम क्षेत्रमा स्थानीयले बनाएको रक्सी प्रयोग गर्छन् भने सहरी क्षेत्रमा स्वदेशीसहित विदेशी ब्रान्डका मदिरा प्रयोग गर्ने गरेका छन्। रुचीअनुसार गाउँमा पाइने तीनपाने, जाँड, छ्याङसहित बियर, वाइन, भोड्का, रम, ह्विस्की, जिनको प्रयोग गर्छन्। मदिरा सरकारले राजस्व संकलन गर्ने गतिलो माध्यम पनि बनेको छ। लिमिटमा प्रयोग गरे बियर, वाइन, हिस्कीलगायत मदिराले स्वास्थ्य राम्रो भए पनि अत्याधिक प्रयोग गरे विभिन्न प्रकारका रोगको खतरा रहेको चिकित्सक बताउँछन्।

करमा अझै सहुलियत दिए उद्योग फस्टाउने व्यवसायी बताउँछन्। स्वदेशी उद्योगलाई प्रोत्साहन दिनुपर्ने व्यवसायीको माग छ। खपत बढेपछि यस क्षेत्रमा लगानी बढेको हो। स्वदेशीमात्र नभएर नेपालमा बहुराष्ट्रिय कम्पनीका ब्रान्ड आउने क्रम बढिरहेको छ। बहुराष्ट्रिय कम्पनीहरुले नेपाली बजारमा मदिरा बिक्री गरिरहेका छन्। नेपालमा छिमेकी मुलुक भारत, चीनसहित फ्रान्स, स्कटल्यान्ड, अमेरिका, अस्ट्रेलिया युरोपियन मुुलुक स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका दर्जनौं देशबाट चर्चित ब्रान्डका रक्सी आउने गरेका छन्।

नेपालीको आयस्तर वृद्धिसँगै महंगा रक्सी पनि नेपाली उपभोक्ताले उपभोग गरिरहेका छन्। यहाँ २०–३० रुपैयाँ गिलासमा पाइने घरपालुवादेखि पाँच लाख रुपैयाँ बोटलसम्म पर्ने हिस्की पनि बिक्री भइरहेका छन्। विश्वका ब्रान्डेड रक्सी पनि खपत हुन्छ। आफ्नो आर्थिक हैसियतअनुसार मदिरा सेवन गर्छन्। राजधानीको दरबारमार्गमा रहेको ग्रिन लाइन सेन्टरमा फ्रान्समा बनेको केन्याक ब्रान्डीको पाँच लाख १९ हजार रुपैयाँ राखिएको छ। यो ब्रान्डी फ्रान्समा बनेको हो।

नेपालमा फ्रान्स, स्पेन, इटली, अस्ट्रेलिया, चिलीलगायत दर्जनौं देशबाट महंगा मदिरा आउने गरेका छन्। ग्रिन लाइन सेन्टरका सेल्स इन्चार्ज रोशन गौतमका अनुसार नेपालमा करिब १४ सय प्रकारका मदिरा बिक्री वितरण हुुुन्छ। मदिरा प्रयोग गर्ने वृद्धि भएसँगै लगानीकर्ता पनि आकर्षित भएका छन्। पछिल्ला वर्ष मदिरा उद्योग दर्ता भएर पूर्वाधार तयार गरिरहेका छन्।

नेपालमा रक्सी उत्पादन गर्ने चार दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन्। नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव गुरु अधिकारीका अनुसार मदिरा व्यवसायले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ। ‘कुल राजस्वमा १७ प्रतिशत मदिरा क्षेत्रको योगदान छ,’ अधिकारीले भने, ‘सरकारले यो क्षेत्रलाई उपेक्षा गर्नु भएन।’ राज्यको अस्थिर नीतिले उद्योग समस्यामा परेको उनले बताए। ‘सरकारले पटक–पटक मदिरासम्बन्धी ऐन, कानुन फेर्न खोजेको देखिन्छ,’ उनले भने, ‘स्थिर नीति नहुँदा उद्योग धरासायी भए।’ एउटा मदिरा उद्योग चलाउन न्यूनतम सात करोडदेखि तीन अर्ब रुपैयाँ लगानी हुन्छ।

नेपाली उद्योगीले गुणस्तरीय मदिरा उत्पादन गरेकोले विदेशी मदिराको प्रतिस्थापन हुने क्रम बढेको छ। सरकारले मदिरामा लगाउँदै आएको कर वृद्धि दर निकै बढी भएको संघका अध्यक्ष केसीले बताए। ‘सरकारले हरेक वर्ष अन्तःशुल्क बढाउँदै आएको छ,’ केसीले भने, ‘यसले उद्योग धरासायी भए।’ 

अन्य सिजनको तुलनामा दसैं तिहारसहितका चाडबाडमा खपत सतप्रतिशतले बढ्ने मदिरा व्यवसायी बताउँछन्। बिदाको समय आफन्त, साथीभाई भेटघाट हुने भएकाले मदिरा प्रयोग गरेर रमाइलो गर्छन्। अत्याधिक रक्सी सेवन गर्नेलाई मुख तथा घाँटीको क्यान्सर हुने जोखिम, मुटुरोग, उच्च रक्तचाप, पाचनक्रियामा गडबडी, अनुहार फुल्ने, छाला चाउरिने, निद्रा नलाग्ने र निराशा बढ्ने समस्या पनि देखिन्छ। जनसंख्या वृद्धिकै अनुपातमा उपभोग गर्नेको संख्या पनि बढ्दै गएको छ। सफ्ट ड्रिङ्क्सको रुपमा रहेका बियरमा उपभोक्ताको मागअनुसार कम्पनीले अल्कोहलको मात्रा बढाएर ‘हार्ड ड्रिङ्क’ बनाउन थालेका छन्।

प्रकाशित: ९ आश्विन २०७६ ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App