१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

नियम मिचेर सोझै खरिद

ओखलढुंगा- जिल्लाका ६ स्थानीय तहले फर्निचर, कम्प्युटर, मेसिनऔजार र सवारी साधन सार्वजनिक खरिद ऐन मिचेर सोझै खरिद गरेको पाइएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८(२) मा खरिद प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा–टुक्रा खरिद गर्न नमिल्ने र नियम ८४ मा पाँच लाखदेखि २० लाख लागत अनुमान भएको मालसामान सिलबन्दी दरभाउपत्रद्वारा खरिद गर्नुपर्ने व्यवस्था छ ।

एक नगरपालिकासहित पाँच गाउँपालिकाले तीन करोड ५२ लाख ७५ हजार मूल्यको सामान सोझै खरिद गरेका हुन् ।
सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ, चम्पादेवी, लिखु, खिजिदेम्बा र चिशंखुगढी गाउँपालिकाले फर्निचर, मेसिनऔजार, सवारी साधन र मर्मतको काम पटकपटक सोझै खरिद गरेको पाइएको हो । सामान खरिद गर्दा नियम बमोजिम दरभाउपत्र तथा बोलपत्रबाट गर्नुपर्ने र प्रतिस्पर्धाबेगर पटकपटक सोझै खरिद गरेको नियमसंमत नदेखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

महालेखाको प्रतिवेदन ०७४/७५ अनुसार सिद्धिचरण नगरपालिकाले ९० लाख ३० हजारभन्दा बढीको फर्निचर, मेसिनरी औजार सोझै खरिद गरेको छ । नगरपालिकाले ८० लाख पाँच हजार रुपैयाँको फर्निचर, मेसिनरी औजार र मर्मत लगायत सामान र काम विभिन्न मितिमा पटकपटक गरी सोझै खरिद गरेको हो । यसका साथै १० लाख २५ हजार भेटेरिनरी औषधि लगायत सामान पनि पटकपटक सोझै खरिद गरेको छ ।

गोविन्द फर्निचर उद्योगबाट ३० लाख ७७ हजारको फर्निचर नगरपालिकाले सोझै खरिद गरेको छ । १० फरकफरक बिल बनाई उक्त मूल्यको फर्निचर खरिद गरेको हो । एकैपटक पाँच लाखदेखि २० लाख रुपैयाँ लागत अनुमान भएको मालसामान सिलबन्दी दरभाउपत्रद्वारा खरिद गर्नुपर्ने भएकाले टुक्रा टुक्रा गरेर विभिन्न मिति र बिलमार्फत खरिद गरेको देखिन्छ ।

करिब दुई महिनाको अवधिमा एउटै आपूर्तिकर्ताबाट ३० लाख ७७ हजारको फर्निचर सोझै खरिद गरिएको छ । एउटै फर्मबाट पटकपटक सामान खरिद गरिनु र बिल मिलाउनु नियमविपरीत भएको जानकार बताउँछन् ।

यसबाहेक दुईवटा आपूर्तिकर्ताबाट पाँच लाखभन्दा बढीको सामान सोझै खरिद गरेको भेटिएको छ । न्यू कान्तिपुर फर्निचर एन्ड जनरल सप्लायर्सबाट पाँच लाख तीन हजारको फर्निचर र जेटा कम प्रालि, काठमाडौंबाट पाँच लाख ६१ हजारको ल्यापटप तथा कम्प्युटर सिलबन्दी दरभाउपत्र आह्वानबिना खरिद गरेको छ ।

नगरपालिकाले १२ वटा आपूर्तिकर्ताबाट सामान खरिद गरेमध्ये अधिकांशबाट दोहोर्‍याएर खरिद गरेको छ । नगरपालिकाले १० लाख २५ हजारको भेटेरिनरी औषधिलगायत सामान पटकपटक गरी एउटै फर्मबाट सोझै गरिद गरेको छ । गीता एग्रोभेट कन्सर्नबाट भेटेरिनरी औषधि खरिद गरिएको हो । प्रचलित नियमको अनुशरण गरी खरिद कार्य गर्दा वार्षिक खरिद योजनाअनुसार दरभाउपत्र तथा बोलपत्रबाट गर्नुपर्ने महालेखाले सुझाव दिएको छ ।

सिद्धिचरण नगरपालिकाका उपमेयर इच्छाकुमारी गुरुङले सार्वजनिक खरिद ऐन अनुसार सामान खरिद गरिएको दाबी गरिनन् । ‘कार्यालयका लागि आवश्यक सामग्री नियमअनुसार खरिद गरिएको हो,’ उपमेयर गुरुङले भनिन्, ‘आवश्यकता बिनाका सामान ल्याइएको छैन ।’ नगरपालिकाले खरिद समिति गठन नगरी सोझै खरिद गरिएको पनि उनले बताइन् ।

मानेभन्ज्याङ गाउँपालिकाले ६९ लाख ६७ हजार रुपैयाँको सामान सोझै खरिद गरेको छ । यसले ४६ लाख ३२ हजारको कम्प्युटर, फर्निचर, ब्याट्री लगायत सामान पटकपटक सोझै खरिद गरेको छ । गाउँपालिकाले एसपी इन्टरप्राइजेज र सुसज्जित इन्टरप्राइजेजबाट सामान गरिद गरेको छ ।

२०७४ भदौ ३ गते दुइटा बिल बनाई एसपी इन्टरप्राइजेजबाट ६ लाख २१ हजार पाँच सयको काठको टेबल र इन्भर्टर, ब्याट्री किनेको छ । आठ लाख १४ हजार दुई सय ५६ को ल्यापटप, इन्भर्टर र ब्याट्री सुसज्जित इन्टरप्राइजेजबाट खरिद गरेको हो । यसबाहेक सातवटा अन्य आपूर्तिकर्ताबाट सोझै सामान खरिद भएको छ ।

मानेभन्ज्याङले आठवटा मोटरसाइकल र एउटा स्कुटर बोलपत्र आह्वान नगरी सोझै किनेको छ । कार्यालयले मोटरसाइकल खरिदका लागि २७ लाख विनियोजन गरेकोमा बोलपत्रबाट खरिद नगरी वडा कार्यालयलाई रकम उपलब्ध गराई २३ लाख ३४ हजारमा आठवटा मोटरसाइकल र एउटा स्कुटर सोझै खरिद गरेको हो ।

चम्पादेवी गाउँपालिकाले ७५ लाख नौ हजारको सामग्री सोझै खरिद गरेको छ । ३१ लाख ४८ हजारको फर्निचर, कम्प्युटर र इन्जिनियरिङ सामग्री खरिद गरिएको छ । गाउँपालिकाले १४ लाख ७० हजारको फर्निचर विभिन्न आपूर्तिकर्ताबाट किनेको छ । सात लाख ६२ हजारको कम्प्युटर थ्रीस्टार कम्प्युटरबाट दुईपटक टुक्र्याएर किनेको छ ।
गाउँपालिकाले २०७४ माघ ४ गते गुडलक अटो पावर ट्रेडबाट ६ लाख ९६ हजारको सोलार प्यानल, युपिएस तथा ब्याट्री किनेको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ बमोजिम २० लाखभन्दा बढीको खरिद कार्य बोलपत्रद्वारा गर्नुपर्छ । सार्वजनिक खरिद ऐनको दफा १४ बमोजिम बोलपत्रको सूचना राष्ट्रियस्तरको पत्रिकामा ३० दिनको म्याद दिई प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

कार्यालयले ३६ लाख ६५ हजारको पाइप खरिद कार्य १५ दिनको सूचना दिई २०७४ पुस २० गते दरभाउपत्र आह्वान गरी हिसी पोलिथिन एन्ड प्लास्टिक इन्डस्ट्रिजसँग किनेको छ ।

खिजिदेम्बा गाउँपालिकाले पनि विभिन्न फर्मबाट सोझै सामान खरिद गरेको छ । नियमानुसार एकमुष्ठ खरिद योजना बनाई सिलबन्दी दरभाउपत्र, बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्नेमा गाउँपालिकाले ५५ लाख ३९ हजारको सामान सोझै खरिद गरेको छ ।
३५ लाख ७८ हजारको सामान पटकपटक गरी विभिन्न मितिमा विभिन्न फर्मसँग सोझै किनेको छ । ती सामानमा फर्निचर, कम्प्युटर, ल्यापटप, प्रिन्टर, क्यामेरा, मेसिनरी लगायत छन् ।

औषधि किन्दा नियमावली बमोजिम लागत अनुमान तयार गर्नुपर्ने, औषधिको आयु खुलाई खरिद कार्य नियमावलीबमोजिम दरभाउपत्रबाट गर्नुपर्ने व्यवस्था छ । यसो नगरी गाउँपालिकाले सोझै दुईवटा फर्मबाट नौ लाख ४७ हजारको औषधि खरिद गरेको छ ।

स्वास्थ्य सेवा विभागको मापदण्ड बमोजिम खरिद गरिएको औषधिको आयु न्यूनतम १८ महिना वा कुल आयुको ७५ प्रतिशत बाँकी हुनुपर्ने व्यवस्था छ । जिल्लाका स्थानीय तहमध्यै सबैभन्दा पहिले एम्बुलेन्स खरिद गर्ने खिजिदेम्बा गाउँपालिका हो ।

एम्बुलेन्स पनि सोझै किनेको पाइएको छ । यसले सिप्रदी ट्रेडिङ प्रालिबाट १० लाख १२ हजारमा टाटा सुमो गाडी खरिद गरी भुक्तानी दिएको हो । भन्सार छुटमा क्लियरिङ र फरवार्डिङ चार्ज एक लाख २४ हजार र गाडीको आठ लाख ८८ हजार गरी १० लाख १२ हजार तिरिएको हो ।

चिशंखुगढी गाउँपालिकाले पनि डेस्कटप, ल्यापटप, प्रिन्टर र फर्निचर लगायत ३७ लाखभन्दा बढीको सामान सोझै किनेको छ । १९ लाख ४४ हजारको डेस्कटप, ल्यापटप, प्रिन्टर र फर्निचर १८ लाख ३६ हजार गरी गाउँपालिकाले विभिन्न फर्मबाट ३७ लाख ८० हजारको खरिद गरेको हो ।

लिखु गाउँपालिकाले १० वटा मोटरसाइकल खरिद गरेको छ । कोटेसनमार्फत जगदम्बा मोटर्स प्रालि, नक्साल, काठमाडौंबाट दुई लाख ४४ हजार नौ सयका दरले १० वटा टिभिएस १६० आरटिआर मोटरसाइकल खरिद गरेको हो । गाउँपालिकाले २४ लाख ४९ हजार मोटरसाइकल खरिदमा खर्च गरेको हो । उसले दुईजना वडाअध्यक्ष एक वडा सदस्य गरी तीन सदस्यीय खरिद समिति गठन गरी कोटेसनमार्फत मोटरसाइकल किनेको हो ।

सुनकोसी र मोलुङ गाउँपालिकाको सिधा खरिद सम्बन्धमा महालेखापरीक्षकले केही उल्लेख गरेको छैन । एक नगरपालिकासहित पाँच गाउँपालिकाले तीन करोड ५२ लाखको सोझै खरिद गरेका छन् । सबैभन्दा बढी सिद्धिचरण नगरपालिकाले ९० लाख ३० हजारको सामान सोझै गरिद गरेको छ । एउटै फर्मबाट पटकपटक गरी खरिद गर्नेमा पनि सिद्धिचरण अगाडि छ ।

नगरपालिकापछि चम्पादेवी गाउँपालिकाले ७५ लाख नौ हजारको सामान नियम मिचेर खरिद गरेको छ ।

 

प्रकाशित: ५ आश्विन २०७६ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App