२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा

काठमाडौं–  हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन। मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन्।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३२ विमानस्थलमध्ये १३ वटाले मात्र नाफा कमाइरहेका हुन्। 

अघिल्लो आर्थिक वर्षमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित १३ विमानस्थलले नाफा कमाए। चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा, गौतमबुद्ध, नेपालगञ्ज र धनगढी विमानस्थल फाइदामा छन्।

त्यस्तै लुक्ला, जनकपुर, भरतपुर, जोमसोम र सिमिकोट विमानस्थलले फाइदामा छन्। विमानस्थलले लगानीअनुरुप कुनै प्रतिफल दिएका छैनन्। प्राधिकरणको वार्षिक साधारण खर्च मात्र धान्ने गरेका छन्।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार लगानी गरिएका विमानस्थलबाट मुस्किलले वार्षिक साधारण खर्च मात्र धान्ने गरेका छन्। विकास खर्चमा त्यो रकम समावेश हुँदैन।

प्राधिकरणले गत आर्थिक वर्षमा छ अर्ब रुपैयाँ र विमानस्थल शुल्कबापत दुई अर्ब रुपैयाँ गरी जम्मा रुपैयाँ आठ अर्ब नाफा कमाएको थियो। वार्षिक बजेटको तुलनामा यसलाई नाफा कमाएको मान्न सकिन्न। उक्त आर्थिक वर्षमा प्राधिकरणले ४५ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो।

प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४६ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएर बजेट छुट्याइएको छ।

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एकमुष्ट रु २३ अर्ब विनियोजन गरिएको छ।

प्राधिकरणको विवरणमा मुलुकभर रहेका ५० वटा विमानस्थलमध्ये हाल ३२ सञ्चालनमा रहेका छन्। प्राधिकरणले नाफा कमाउनेभन्दा पनि राज्यको नीतिअनुरुप सेवामूलक हिसाबले धेरै विमानस्थल सञ्चालनमा रहेकाले नाफा आर्जन गर्न नसकेको महानिर्देशक पोखरेलको भनाइ छ।

सन् २०२० को शुरुआतमै सञ्चालन गर्ने लक्ष्यका साथ भैरहवा विमानस्थल निर्माण कार्य तीब्र गतिमा अघि बढको छ। हालसम्म विमानस्थलको ७४ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ।

क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्धारित सन् २०२१ अगाडि नै निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्य प्रभावकारीरुपमा भइरहेको छ। अहिले यो आयोजनाको प्रगति ३० प्रतिशतभन्दा बढी रहेको छ।

चालू आवका लागि प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुदृढीकरणका लागि छ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। 

पहिलोपटक धावनमार्गको स्तरोन्नति  ‘रनवे रिह्याव’ हालै सम्पन्न भएको थियो भने सेप्टेम्बर महीनादेखि विमानस्थलको ‘ट्याक्सी वे’ स्तरोन्नतिको काम धमाधम भइरहेको छ।

नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानको शुरुआत हुनु अगाडि नै विमानस्थलको स्तरोन्नतिको काम सकिने जनाइएको छ। रासस

प्रकाशित: ३ आश्विन २०७६ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App