२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बंगुरपालनबाट वार्षिक ६ लाख आम्दानी

रसुवा - रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका पेमा तेन्जिन तामाङले बंगुर पाल्न थालेको साढे चार वर्ष भयो। जिल्लामा बंगुरको माग बढ्दै गएको र यसबाट राम्रो आम्दानी हुने देखेपछि उनले २०७१ फागुनदेखि बंगुरपालन सुरु गरेका हुन्।

सुरुमा उनले खोर निर्माण र नौवटा बंगुर खरिदका लागि ६० हजार रुपैयाँ लगानी गरेका थिए। लामो समयदेखि तरकारी तथा खुद्रा पसल सञ्चालन गरिरहेका उनी साथीभाईको सल्लाहबाट व्यवसाय सुरु गरेको बताउँछन्।

‘पसलबाट तरकारी खेर गइरहन्थ्यो,’ उनले भने, ‘खेर जाने तरकारीको सदुपयोग गर्न साथीभाईले बंगुर पाल्ने सल्लाह दिए।’ दुई–चारवटा बंगुर पालिहेरौं न त भनेर व्यवसाय सुरु गरेको उनले बताए। उनले साढे तीन वर्षमै एक सय १५ वटा बंगुर पु¥याउन सफल भए।

अहिले उनले २४ वटा खोर बनाएका छन्। त्यहाँ सानाठूला गरी ५४ वटा बंगुर छन्। उनले पालेका बंगुर धुन्चे बजारमा नै खपत हुन्छ। उनका अनुसार शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र होटलले बढी मात्रामा मासु लैजाने गरेका छन्। ‘उत्पादन भएको मासु यही खपत हुने गरेको छ,’ उनले भने, ‘केही परिमाणमा जलविद्युत् आयोजनाले पनि लैजाने गरेका छन्।’

अहिले उनले बंगुरपालन व्यवसायबाट वार्षिक करिब ६ लाख आम्दानी गर्छन्। कामदारको ज्याला, बंगुरको पाठापाठी खरिद र दानाको खर्च कटाएर ६ लाखसम्म बचत हुने गरेको उनले सुनाए। बंगुरको बजार बढ्दै गएको र आम्दानी पनि राम्रो हुँदै गएपछि उनले अब तीन सय बंगुर पु¥याउने लक्ष्य राखेका छन्। बंगुरको संख्या बढाउनुका साथै अर्गानिक तरकारी उत्पादन गर्ने उनले लक्ष्य लिएका छन्।

‘सदरमुकाम धुन्चेमा दैनिक ७० केजी बंगुरको मासु खपत हुन्छ,’ उनले भने, ‘यहाँ उत्पादन भएको बंगुर बाहिर बिक्री गर्नुपर्ने अवस्था छैन।’ बंगुरपालनबाट राम्रो आम्दानी भए पनि यसमा चुनौती पनि थुप्रै छन्। औषधिको अभाव, प्राविधिकको अभाव, दानाको अभाव तथा दाना ढुवानी यसका प्रमुख समस्या हुन्।

बजरा व्यवगस्थापनका लागि सहकारी सञ्चालन
बंगुरपालन व्यवसायलाई व्यवस्थित, एकीकृत तथा बजारको व्यवस्थापनका लागि छुर्तेन कृषि सहकारी संस्था र जिल्ला बंगुर व्यवसायी संघ क्रियाशील छ। यी दुवैमा उनले अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

सहकारीमा आबद्ध भएका ४५ जनाले व्यवसायिक रूपमा बंगुर पालिरहेका संस्थाले जनाएको छ। आफ्ना सदस्यले पालेका बंगुर तथा मासु बिक्रीका लागि सहकारीले बजारको व्यवस्था गरेको छ। सहकारीको आफ्नै मासु पसल छ।

‘यहाँ उत्पादन भएको बंगुर यही खपत हुँदा समदस्य पनि खुसी छन्,’ उनले भने, ‘बंगुरको संख्या बढाउनका लागि भने आर्थिक समस्या देखिन्छ।’ देश संघीयतामा गएपछि साविकको जिल्ला पशु सेवा कार्यालय हटेपछि समस्या आएको उनले बताए। ‘पहिले पशु कार्यालयले दिने सेवा स्थानीय तहले दिन्छ भनेको थियो,’ उनले भने, ‘तर सेवा तथा औषधि चाहिए बाहिरबाट ल्याउनुपर्छ। बंगुर बिरामी भएमा नुवाकोटको त्रिशूलीबाट प्राविधिक ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

प्रकाशित: २९ भाद्र २०७६ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App