काठमाडाैं- लामाे समयदेखि बन्द रहेकाे मलेसिया रोजगार खाेल्न बसेको दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको पहिलो दिनको बैठक निष्कर्षविहीन बनेकाे छ। दुई देशबीच श्रम सम्झौता भएपछि दोस्रो पटक बसेको प्राविधिक समितिको संयुक्त बैठकमा दुवै देशका अधिकारी आफ्नो अडानबाट टसमस नभएपछि पहिलो दिनको बैठक भोलि पुनः बस्ने गरी सम्पन्न भएकाे हाे।
नेपाली पक्षको नेतृत्व गर्दै वार्तामा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव रामप्रसाद घिमिरेले भोलि पुनः बैठकमा बस्ने गरि आजको बैठक सकिएको जानकरी दिए। 'बैठकमा दुवै पक्षले आ-आफ्नो धारणा सौहार्द रुपमा राखेका छौं। आजै केही निचोडमा पुगिसकिएको छैन। भोलि केही निष्कर्ष आउँला', उनले भने।
तर आजको वार्तामा सहभागी एक मलेसियाली अधिकारीले बैठकमा नेपाली पक्षको प्रस्तुतिप्रति असन्तुष्टि जनाएका छन्। नेपाली पक्षको भोलिको प्रस्तुतिमा वार्ताको निष्कर्ष निर्भर रहने बैठकपछि ति अधिकारीले बताए। संयुक्त बैठकमा स्वास्थ्य परीक्षण, सुरक्षा गार्ड र घरेलु कामदारको विषयमा छलफल भए पनि मुख्य एजेन्डा भने स्वास्थ्य परीक्षण गर्ने संस्था नै रहेको थियो।
हामीले बन्द गरेका छैनौं: मन्त्री सेगरन
मलेसियाका मानव संशाधन मन्त्री एमएस कुलासेगरनले नेपालीका लागि मलेसियाको ढोका सधैं खुला रहेको बताएका छन्। दुई देशबीच सम्पन्न श्रम सम्झौताले नै सबै विषय समेटेको उल्लेख गर्दै मन्त्री सेगरनले सम्झौता कार्यान्वयनमा मलेसिया सधैं प्रतिवद्ध रहेको जनाए। 'हाम्रो तर्फबाट नेपाली कामदार लिन कुनै अवरोध छैन। स्वास्थ्य संस्थाको विषयमा हामीले यसघि पनि पत्र पठाएर प्रस्ट पारिसकेका छौं। अहिलेलाई नेपाल सरकारले छनोट गरेका १ सय २२ स्वास्थ्य संस्था मध्येकै ३६ वटा संस्थाले स्वास्थ्य परीक्षण गर्नेछन्। जुन संस्थाहरु बायोमेडिकल र एफडब्लुसिएमयस सफ्टवएर सँग जोडिएका छन्। नयाँ संस्थाहरुको हकमा यी सबै प्रक्रियाहरु पुरा गर्न केही समय लाग्ने भएकाले हाललाई ३६ वटा मार्फत स्वास्थ्य परीक्षण गराउँदै लैजाने। तर क्रमशः थप्दै लान हामी सकारात्मक छौं। यो कुरा मलेसियाली दूतावास मार्फत जानकारी गराइसकेका छौं।'
आजको वार्ता निष्कर्षमा नपुगे पनि भोलिको बैठकले केही निकास दिनेमा भने मन्त्री सेगरन आशावादी छन्। कामदार आपूर्ति गर्दा लाग्ने स्वास्थ्य परीक्षण,भिसा प्रक्रिया लगायत सबै खर्च मलेसियाली रोजगारदाताले व्यहोर्ने श्रम सम्झौतामै उल्लेख भएकाले मलेसियाली संयन्त्रबारे उठेको प्रश्नको जवाफ आफूसँग भन्दा पनि नेपाली पक्ष सँगै रहेको मन्त्री सेगरनको भनाइ छ।
श्रम सम्झौतापछि कामदार आपूर्तिमा संलग्न विगतका संयन्त्र खारेज हुनु पर्ने नेपाली पक्षको मागलाई मलेसियाले अस्वीकार गर्दै हाललाई विगतकै संयन्त्र मार्फत कामदार लिने लिखित जवाफ विगत नौ महिना देखि पटक-पटक पठाउँदै आएको छ। पहिलो प्राविधिक समितिको बैठकमा सहमति भए अनुरुप मलेसियाले दुई देश सँगको परामर्शमा स्वास्थ्य संस्था छनोट गर्ने सहमति भए पनि नेपालले एकतर्फी रुपमा पुराना ३६ र नयाँ ८६ संस्था गरि १ सय २२ स्वास्थ्य संस्था छनोट गरेर प्रस्ताव गरेकोमा असन्तुष्टि जनाएको छ। मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड र प्रक्रियाको बारेमा गत वर्ष नोभेम्बरमै दूतावास मार्फत जानकारी गराईसकेको उल्लेख गर्दै मन्त्री सेगरनले स्वास्थ्य परीक्षण कै विषयलाई जोडेर कामदार आउने क्रम रोक्नु उचित नहुने बताए।
अबको विकल्प के?
१५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउने धेरै प्रयासहरु सार्थक नभैरहेका बेला आज र भोलि बस्ने प्राविधिक समितिको संयक्त बैठकले लामो समयको डेडलक अन्त्य गर्ने विश्वास गरिएको छ। तर पहिलो दिनको बैठकले मलेसिया रोजगारीको गाँठो नफुकाए पनि भोलि सकारत्मक परिणाम आउनेमा दुवै देशका अधिकारीहरु आशावादी छन्।
मलेसिया नेपाली कामदार आउन कुनै अवरोध नरहेको बताउँछ भने नेपाली पक्ष भेंडर र स्वास्थ्य संस्थाको टुंगो लगाउनु पर्ने अडानमा छ। दुवै देश आ-आफ्नै अडानमा रहँदा यो अवधिमा करिव डेढ लाख कामदार मलेसिया आउन पाएनन् भने ५० अर्ब भन्दा बढी रेमिट्यान्स नेपालले गुमाएको व्यवसायीको दाबी छ।
कामदार पठाउन आफूले पटक-पटक गरेको आग्रहलाई नेपालले वास्ता नगरेको भन्दै मलेसिया नेपालको विकल्प खोज्न अघि सरेको छ। अघिल्लो महिना मात्र मलेसियाका विदेश मन्त्री बंगलादेशबाट कामदार ल्याउने विषयमा छलफल गर्न बंगलादेश गएका थिए। नेपाल खुल्नु अघि बंगलादेश खुलेमा त्यसको प्रत्यक्ष असर नेपालीले पाउँदै आएको रोजगारीमा पर्ने देखिन्छ।
नेपाल र मलेसिया कामदार लिने/दिने प्रक्रियामा सहमत भए पनि कामदार आपूर्तिको प्रक्रियालाई अब कुनै निकास निकालेर सुचारु गर्नुपर्छ। स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्याको अनुगमन गरेर थप्न मलेसियाले लिखित सहमति गरेर अघि बढ्नुपर्छ भने नेपाली पक्षले कामदार मलेसिया जाने ढोका उघारेर विनविन परिस्थितिको निर्माण गर्नुपर्ने वैदेशिक राेजगार क्षेत्रका विज्ञहरूकाे राय छ।
प्रकाशित: २४ भाद्र २०७६ १६:२७ मंगलबार