काठमाडौं – फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पूरा भएको छ। राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी प्रदर्शनीस्थलको भौतिक काम बाहेकको सबै तयारी पूरा भएको आयोजक संस्थाले जानकारी दिएको हो।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यही भदौ २५ गतेदेखि चल्ने सातौं संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पूरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताए।
‘विगत वर्षमा जस्तै यसपटक मेलाको सबै तयारी पूरा भएको छ। परिष्कृत रुपमा मेला आयोजना हुन लागेको जानकारी गराउँन पाउँदा हामीलाई खुसी लागेको छ,’ संघका अध्यक्ष प्रधानले पत्रकार सम्मेलनमा बताए।
बढ्दो आधुनिक जीवनशैली सँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने उनको भनाइ छ। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ। यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ।
फर्नेक्स २०१९ को शीर्ष प्रायोजन जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर छन्। एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन्। यसैगरी, यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एसोसिएसनले सहयोग गरेका छन्।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए। नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आमउपभोक्तालाई आग्रह गर्दै संयोजक अग्रवालले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको जानकारी गराए।
प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाइ छ। यसका साथै फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भिœयाउँदै फर्निचर उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पु-याउने अपेक्षा गरिएको छ।
एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको छ। इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको जानकारी गराए। फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मुख्य आकर्षण बन्न सक्ने उनको भनाइ छ।
पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय २० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन्। नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ।
प्रकाशित: १९ भाद्र २०७६ ०१:४१ बिहीबार