३ मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

विदेशी र नेपालीलाई एउटै हवाई भाडा अमान्य : निजी विमान कम्पनी

काठमाडौं - केही प्रभावशाली विदेशीको चासोका कारण नेपालका वायुसेवा कम्पनीले विदेशीसँग लिने हवाई भाडा नेपाली रुपैयाँ नै कामय गराउने लबिङ भइरहेको छ। अहिले नेपालका वायुसेवा कम्पनीले हवाई भाडा नेपालीसँग नेपाली रुपैयाँमै र विदेशीसँग डलरमा लिन्छन्।

प्रभावशाली विदेशीको दबाबमा विदेशीसँग पनि टिकटको पैसा नेपाली रुपैयाँमै लिने पहल भइरहेको बुझिएको छ। विदेशीसँग डलरमा हवाई भाडा लिने गरेकै कारण नेपालीले सस्तोमा उड्न पाइरहेको भन्दै शक्ति केन्द्रमा पहुँच भएका केही विदेशीको सुझावकै आधारमा विदेशीलाई नेपाली सरह नै टिकट मूल्य निर्धारण गर्न खोजिएको देखिन्छ।

विदेशीले डलरमा पारिश्रमिक बुझ्ने तथा नेपालीको भन्दा उनीहरुकोे पारिश्रमिक बढी हुने जनाउँदै नेपालीले महिनाभर काम गर्दा १३ हजार रुपैयाँ पारिश्रमिक पाउने तर, विदेशीले प्रतिघन्टा सय डलरको हिसाबले पारिश्रमिक पाउने गरेकाले समानान्तर रुपमा दाँज्न नहुने निजी क्षेत्रका वायुसेवा कमपनीहरुको भनाइ छ।

नेपालीको प्रतिमहिना पारिश्रमिक ९० डलरको हाराहारीमा हुँदा विदेशीले एक घन्टामा नै नेपालीको भन्दा बढी कमाइ गर्छन्। कसरी एकै प्रकारको मूल्य निधारण गर्न सकिन्छ ? व्यवसायीको प्रश्न छ। टिकट मूल्य समायोजन हुँदैमा पर्यटक आगमन बढ्ने आधार नभएको व्यवसायीको भनाइ छ। ‘उनीहरु नेपाली जहाज चढ्नकै लागि मात्र नेपाल आउने हो र ?’ एकजना व्यवसायीले प्रश्न गरे। नेपालमा पर्यटकको संख्या बढाउन टिकटको मूल्य एकै बनाउने होइन कि पर्यटकीय गन्तव्य बढाउन सरकारको ध्यान जानुपर्ने उनको सुझाव छ।

समान भाडा बनाए अहिलेसम्म नेपालीले तिर्दै अएको टिकटको मूल्य स्वतः बढ्ने व्यवसायीको भनाइछ। हाल नेपालीले काठमाडौंबाट विभिन्न आन्तरिक गन्तव्यमा पुग्न पाँच हजारदेखि १२ हजारसम्म भाडा तिरिरहेका छन्। विदेशीको हकमा भने दुई सय डलरभन्दा माथि भाडा छ। त्यसलाई समायोजना गरी एउटै टिकट दर कायम गरे निजी विमान कम्पनीको लागत नै नउठ्ने जानाकार बताउँछन्।

केही निजी विमान कम्पनीले उक्त पहलबारे सरकारको ध्यानाकर्षण गराउँदै हाल विदेशीले तिरिरहेको शुल्कमा परिवर्तन नगर्न सुझाव दिएका छन्। तर, सरकारले विदेशीको सुझावलाई प्राथमिकता दिएको बताइन्छ।

निजी विमान कम्पनीहरुले विदेशीको प्रतिव्यक्ति आय नै नेपालीको भन्दा बढी रहेको बताउँदै नेपाली सरहनै टिकटको मूल्य निर्धारण गर्न नहुने तर्क गरेका छन्। विदेशमा ४३ हजार पर्ने मोटरसाइकललाई नेपालमा तीन लाखभन्दा माथि पर्ने बताउँदै निजी कम्पनीहरुले विदेशी र स्वदेशीलाई फरक मूल्य लिँदा अन्याय नहुने तर्क गरेका छन्।

नेपाल वायुसेवा निगमले सस्तो दिन नसकेको अवस्थामा निजी कम्पनीले सस्तो मूल्यमा सहमति जनाउन नसक्ने व्यवसायीको भनाइ छ। सिजनमा काठमाडौंबाट पोखरा जाने बसमा पनि फरक–फरक भाडा हुने र जहाजमा पनि सिजन अनुसार टिकटको मूल्य निधारण हुने व्यवसायी बताउँछन्। पोखरा जाने पर्यटक बस, बस, माइक्रो बसको टिकट मूल्यमा पनि विदेशी र नेपालीलाई फरक हुने व्यवसायीले जानकारी दिए।

जहाजमा सिटको कमी हुँदै जाँदा टिकटको मूल्य बढ्दै जाने र खालि हुँदा इन्धनको पैसा उठाउन सस्तैमा भए पनि टिकट बेच्न बाध्य हुने गरेको निजी कम्पनीहरुको भनाइ छ। नेपालीको पुँजीगत आम्दानी कम रहेको अवस्थामा र आयातमा निर्भर रहेको बेला सरकारले सोचेर निर्णय गर्नुपर्नेमा विदेशी चासोको भरमा मूल्य समायोजनको पहल गर्नु गलत रहेको निजी कम्पनीहरुको भनाइ छ।

तीन महिनाको डिस्याचर तालिम लिन एक लाख ८० हजार खर्चेर हङकङ जानुपर्ने अवस्था रहेकाले नेपालमै उक्त तालिमको व्यवस्था गर्नेतिर भने सरकारको ध्यान नपुगेको व्यवसायी बताउँछन्। नेपालमै उक्त तालिमको व्यवस्था भए १० देखि १५ हजारले पुग्छ। त्यही तालिम लिन पाँच सय डलरभन्दा बढी तिर्न बाध्य हुँदै रिफ्रेसर तालिमको लागि प्रत्येक वर्ष हङकङ जान बाध्य रहेको सरकारले बुझ्नुपर्ने व्यवसायीको माग छ।

सरकारको उक्त कदमलाई लिएर निजी विमान कम्पनीहरुले एक–दुई दिनभित्रै छलफल गर्ने तयारी गरेका छन्। उक्त बैठकबाट सरकारलाई सुझाव पठाउने उनीहरुको तयारी छ। संसारभरी नै विदेशीलाई फरक हवाई भाडा लाग्ने गरेको अवस्थामा नेपालमा भने भारतीय र नेपालीलाई एकै प्रकारको भाडा कायम छ। अन्य मुलुकका नागरिकलाई छुट्टै भाडा दर छ।

प्रकाशित: ८ भाद्र २०७६ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App