१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वर्षा नसकिँदै ४५ पुलमा क्षति, मर्मत गर्न ४७ करोड चाहिने

काठमाडौं – वर्षा नसकिँदै यस वर्ष बाढी पहिरोले देशभरि ४५ पुलमा क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबारको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। मध्य बर्खा चलिरहँदा बाढी पहिरोले विकासमा ठूलो क्षति भएको हो।

महासेठले बाढी पहिरोले देशभरिका पुललाई क्षति पु-याएको जानकारी दिए। वर्षाले सबभन्दा बढी सडक डिभिजन कार्यालय नेपालगन्ज अन्तर्गतका पुलमा क्षति पु-याएको छ। यस कार्यालय अन्तर्गत पर्ने क्षतिग्रस्त पुल मर्मत गर्न कम्तीमा तीन करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

त्यस्तै, सडक परिक्रमा मार्ग जनकपुर अन्तर्गत क्षतिग्रस्त भएका पुल मर्मतका लागि दुई करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने महासेठले बताए। सातवटा पुलको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता देखिएको सडक डिभिजन झापाअन्तर्गत दुई करोड २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सडक डिभिजनका १३ कार्यालय र विभिन्न आयोजना अन्तर्गत सबभन्दा कम सडक डिभिजन खुर्कोट अन्तर्गत मर्मतका लागि ४७ लाख रुपैयाँ आवश्यक पर्ने मन्त्रालयले जनाएको छ। उक्त डिभिजन अन्तर्गत बाढी पहिरोले पाँचवटा पुलमा क्षति पु-याएको छ।

बाढी, पहिरोले संघ, प्रदेश र स्थानीय तह मातहत राखिएका पुललाई क्षति पु-याए पनि प्रदेश र स्थानीय तह मातहतको विवरण भने प्राप्त भएको छैन। मन्त्रालयले सम्पूर्ण क्षतिको विवरण संकलन हुने क्रम अझै जारी रहेको बताए। वर्षा हुने क्रम जारी रहेकाले समेत सडक र पुलमा हुने क्षति बढ्न सक्ने बताइन्छ।

वर्षाले सबभन्दा बढी सडक डिभिजन कार्यालय नेपालगन्ज अन्तर्गतका पुलमा क्षति पु-याएको छ

भौतिक पूर्वाधार मन्त्रालयले अहिलेसम्म क्षतिग्रस्त ४५ पुलको मर्मत गर्न ४७ करोड ३४ लाख रुपैयाँ आवश्यक पर्ने जनाएको छ। बैठकपछि समितिले वर्षाको कारण क्षतिग्रस्त सडक र पुल तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशनसमेत दिएको छ।

समितिकी सभापति कल्याणी खड्काले दसैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पु-याएका संरचना तत्काल मर्मत गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिइन्। समितिले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका सडक तथा पुलको जीर्णोद्धार तथा मर्मतको काम कसले गर्ने भन्नेबारे अन्योल पनि अन्त्य गर्न भनेको छ।

मन्त्री महासेठले वर्षाले क्षति पुगेका सबै सडक तथा पुलको मर्मत गर्ने जिम्मेवारी सरकारको रहेको उल्लेख गर्दैै मर्मतका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी गराए। बाढीपहिरोले  क्षति पु-याएका पुल र सडकको मर्मत नहुँदा सर्वसाधारणलाई हिँड्डुलमा समस्या भइरहेको छ।

स्थान                              क्षतिग्रस्त पुल संख्या                           अनुमानित खर्च
सडक डिभिजन नेपालगन्ज             ३                                          तीन करोड
सडक डिभिजन विराटनगर              ३                                          दुई करोड २५ लाख
सडक डिभिजन जनकपुर                 ५                                          दुई करोड ९० लाख
सडक डिभिजन लहान                     ६                                          एक करोड
उत्तर–दक्षिण व्यापारिक मार्ग           १                                          ५० लाख
सडक डिभिजन हेटौंडा                     ३                                          दुई करोड १० लाख
सडक डिभिजन खुर्कोट                    ५                                          ४७ लाख रुपैयाँ
मध्यपहाडी लोकमार्ग आयोजना         २                                          एक करोड २० लाख
सडक डिभिजन झापा                      ७                                          दुई करोड २५ लाख
सडक डिभिजन दमौली                    १                                          एक करोड ३५ लाख
सडक परिक्रमा मार्ग जनकपुर            १                                          दुई करोड ५० लाख
सडक डिभिजन चन्द्रनिगाहपुर           १                                          १४ लाख
हुलाकी राजमार्ग जनकपुर                ७                                           दुई करोड ५० लाख

प्रकाशित: २७ श्रावण २०७६ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App