१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मल पाउन सधैं सकस

कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरको गोदामबाट मल निकाल्दै मजदुर। समयमै मल आयात नहुँदा धानबालीका लागि मल अभाव भएको छ। तस्बिरः विनोद/नागरिक

विराटनगर–रोपाईंको सिजन सुरू भइसके पनि पूर्वका किसानले मागअनुसार मल पाउन सकेका छैनन्। सरकारले समयमै मल आयातको प्रबन्ध नमिलाउँदा यो वर्ष बर्खे धानबालीका लागि किसानले  मल पाउन नसकेका हुन्।

हुन त, हरेक वर्ष मुख्य बाली लगाउने समयमा मल नपाउनु नेपाली कृषकको नियति नै हो। राष्ट्रिय आयमा समेत प्रत्यक्ष असर पार्ने बर्खे धान खेतीका लागि किसानलाई मलको जोहो गर्न गाह्रो परेको छ। मलका लागि दिनहुँ कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ गुहारे पनि आवश्यकताभन्दा निकै कम मल उपलब्ध भइरहेको मोरङ जहदाका किसान रामप्यार यादवले बताए।

स्थानीय कृषि समूहका अध्यक्षसमेत रहेका यादवले भने, ‘दिनहुँ ताकेता गर्दा पनि कृषि सामग्री कम्पनीले मागभन्दा थोरै मल दिइरहेको छ।’ सरकारले कृषिलाई प्राथमिकतामा राख्दै जमिन बाँझो राख्न नपाउने, कृषिजन्य वस्तुको आयात घटाउनेलगायत थुप्रै योजना घोषणा गरे पनि बाली लगाउने बेला सहज रुपमा मल कहिल्यै नपाएको उनले बताए।

मलका लागि दिनहुँ कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ गुहारे पनि आवश्यकताभन्दा निकै कम मल उपलब्ध भइरहेको छ । सीमामा कडाइ गरिएका कारण भारतबाट पनि मल ल्याउन समस्या परेकाे किसान बताउँछन् ।

उनको कृषि समूहमा २५ किसान सदस्य छन्। किसानको माग अनुसार ५५ बोरा डिएपी मल उपलब्ध गराउन समूहको सिफारिस पनि लिएर आएको उनले बताए। तर, कृषि सामग्री कम्पनीले पाँच बोरा मात्रै मल दिएपछि समूहका सदस्यलाई कसरी मल बाँड्ने भन्ने चिन्ता उनलाई परेको छ। ‘५५ बोरा माग्दा पाँच बोरा पाइयो,’ उनले भने, ‘अब, समूहका सदस्यलाई बोरा हैन किलोका दरले मल बाँड्नुपर्ने अवस्था आएको छ।’

धानको रोपाईं गर्नुभन्दा पहिले डिएपीको प्रयोग बढी हुने गरेको उनले बताए। यादवले भने, ‘रोपाईं गर्नुअघि खेतमा डिएपी मल धेरै हाल्नुपर्छ।’ तर, आव्श्यक मात्रामा मल पाउने अवस्था छैन। उनका अनुसार एक बिघामा कम्तीमा एक बोरा डिएपी चाहिन्छ। मल नै नपाएपछि आवश्यकभन्दा निकै कम मात्रामा मल प्रयोग गर्नुपर्ने अवस्था आएको उनले बताए।

सीमा क्षेत्रमा गरिएको कडाइका कारण भारतबाट मल ल्याउन समस्या परेपछि किसान थप मारमा परेको मोरङ बबियाबिर्ताका किसान दयानन्द मण्डलले बताए। ‘सरकारले त कहिल्यै पर्याप्त मल दिन सक्दैन थियो,’ उनले भने, ‘तर, पारिबाट पनि मल ल्याउन कडाइ गरिएपछि हामी मारमा परेका छौं।’ केही वर्ष पहिलेसम्म मोरङका दक्षिणी भेगका किसान मल र बीउका लागि भारतमै निर्भर रहँदै आएका थिए। भारतबाट मल बीउ ल्याउन सहज थियो। नेपाल–भारत सीमामा सुरक्षाकर्मीले कडाइ गरेका कारण आफूहरू भारतबाट पनि मल र बीउ ल्याउन सक्ने अवस्थामा नरहेको उनले बताए।    

यता कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरले बर्खे धान लगाउने समयमा डिएपी मल अभाव भएको बताएको छ। समयमै मल खरिद नभएका कारण डिएपी मल अभाव भएको क्षेत्रीय कार्यालयका प्रमुख गोविन्दप्रसाद पराजुलीले बताए। उनका अनुसार रोपाईंका बेला डिएपीको माग धेरै हुने गरे पनि मागअनुसार मल मौज्दात नरहेका कारण हरेक सहकारीलाई २५ बोराका दरले डिएपी मल वितरण गरिरहेको बताए। तर, युरिया मल भने मागअनुसार नै वितरण गरिरहेको उनको दाबी छ। कृषि सामग्री कम्पनीले किसानलाई सोझै नभई सहकारी र कृषि समूहमार्फत मल वितरण गर्दै आएको छ।   

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरको गोदाममा हाल युरिया एक हजार ५० मेट्रिक टन, डिएपी दुई सय ७२ मेट्रिक टन र पोटास तीन सय ६४ मेट्रिक टन मौज्दात छ। यस्तै पूर्वाञ्चलका सबै शाखा कार्यालयको गोदाममा एक हजार नौ सय ८६ मेट्रिक टन युरिया र पाँच सय ६० मेट्रिक टन डिएपी र पाँच सय १९ मेट्रिक टन पोटास मौज्दात छ। यस्तै पूर्वका लागि १३ हजार पाँच सय मेट्रिक टन युरिया मल पनि आइरहेको र साल्ट ट्रेडिङ विराटनगरको गोदाममा पनि युरिया मल मौज्दात रहेकाले बर्खे धानलाई युरिया मल पुग्ने कार्यालयले जनाएको छ।

सीमामा हुने अवैध आयातमा कडाइ, मल अभाव हुने डरले किसानले मल किनेर मौज्दात गर्ने प्रवृत्तिका कारण धान बाली लगाउने सिजन सुरू नहुँदै मलको माग उच्च दरले बढेको कम्पनीले जनाएको छ। हरेक वर्ष किसानले बालीमा रासायनिक मलको मात्रा बढाउँदै लगेका कारण पनि माग उच्च देखिने गरेको छ। नेपालमा वार्षिक सात लाख मेट्रिक टन मल आवश्यक पर्ने कृषि मन्त्रालयले प्रक्षेपण गरे पनि हाल करिब तीन लाख मेट्रिक टन मात्रै मल आयात भइरहेको छ। मागभन्दा न्यून आयात र बढ्दो खपतले किसानले पर्याप्त मल नपाउने समस्या देखा परेको हो।

यता साल्ट ट्रेडिङ लिमिटेड विराटनगरले पनि डिएपी मल अभाव रहेकाले कोटा तोकेर सहकारीलाई मल वितरण गरिरहेको जनाएको छ। साल्ट ट्रेडिङले युरिया मल मागअनुसार नै उपलब्ध गराइरहेको र डिएपीमा कोटा तोकेर एउटा सहकारीलाई १० बोराका दरले उपलब्ध गराइरहेको विराटनगर कार्यालयका प्रमुख नविनचन्द्र झाले जानकारी दिए। कृषि सामग्री कम्पनीसँग डिएपीको विकल्पमा प्रयोग गर्न सकिने जिंक, एसएसबीलगायत मल भए पनि किसानले डिएपी नै खोज्ने गरेकाले वितरणमा समस्या आएको झाले बताए। ‘किसान डिएपी नै खोज्छन्,’ उनले भने, ‘डिएपीको विकल्पमा प्रयोग गर्न सकिने अन्य मल लानै मान्दैनन्।’

पर्याप्त वर्षा नभएकाले मलको हाहाकारको स्थिति उत्पन्न नभएको पनि झाले बताए। उनका अनुसार साल्ट ट्रेडिङ लिमिटेडले खरिद गरेको मल चीनबाट आउने क्रममा रहेको छ। असार १७ सम्म मल आइपुगे पूर्वमा विकराल समस्या नआउने उनले बताए। ‘पाँच हजार मेट्रिक टन डिएपी मल लोड भएर कोलककता बन्दरगाहमा आइपुग्ने क्रममा रहेको झाले जानकारी दिए। आउनेक्रममा रहेको मल असार १७ सम्ममा आइपुगे पूर्वका किसानले डिएपी मल पनि पाउने झाले बताए।

प्रकाशित: ८ असार २०७६ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App