काठमाडौं - यातायात व्यवस्था विभागले नयाँ ट्याक्सी दर्ता गर्दा १२ सय सिसीको हुनुपर्ने मापदण्ड तयार पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको छ। विभागले ट्याक्सी सेवालाई व्यवस्थित र आधुनिक बनाउन नयाँ मापदण्डको मस्यौदा तयार पारेर स्वीकृतिको लागि मन्त्रालयमा पेस गरेको हो।
विभागले तयार पारेको नयाँ मापदण्डको मस्यौदामा काठमाडौं उपत्यकामा गुड्ने नयाँ ट्याक्सी न्यूनतम १२ सय सिसीको हुनुपर्ने व्यवस्था गर्न लागेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले उपत्यकामा गुड्ने ट्याक्सीलाई समयसापेक्ष बनाउन नयाँ मापदण्ड ल्याउन लागेको बताए।
‘विदेशी सहरमा अत्याधुनिक खालका ट्याक्सी गुडिरहेका छन्,’ उनले भने, ‘राजधानी जस्तो सहरमा थोत्रा र अस्तव्यस्त ट्याक्सी गुडिरहेका छन्। त्यसैले, व्यवस्थित र सुविधाजनक सेवा दिनको लागि नयाँ मापदण्ड तयार पारेर तालुक निकायमा सिफारिस गरेका छौं।’ विभागले दुई महिनाअघि नै नयाँ ट्याक्सी दर्ताको मापदण्ड तयार पारेर मन्त्रालयमा बुझाइसकेको छ।
‘नयाँ ट्याक्सी दर्ता मन्त्रिस्तरीय निर्णबाट स्वीकृत भएपछि मात्रै लागू हुन्छ,’ प्रवक्ता खनालले भने, ‘उक्त मापदण्ड लागू भएसँगै उपत्यकामा गुड्ने ट्याक्सी व्यवस्थित हुने आशा गरेका छौं।’ उनका अनुसार नयाँ ट्याक्सी दर्ता खोलेसँग नयाँ आठ सय सिसीको ट्याक्सी दर्तामा रोक लाग्नेछ।
प्रवक्ता खनाल नयाँ मापदण्डले पुरानो आठ सय सिसीका ट्याक्सीलाई कुनै असर नपार्ने बताउँछन्। ‘नयाँ मापदण्डले पुराना ट्याक्सीलाई कुनै असर पार्दैन,’ उनले भने, ‘२० वर्ष पूरा भएपछि क्रमशः विस्तापित हुँदै जानेछन्।’ विभागले अहिले ट्याक्सीको नयाँ दर्ता रोकेर सिन्डिकेटलाई बढावा दिएको आरोप लाग्दै आएको छ। विभागका प्रवक्ताले नयाँ मापदण्ड लागू भएसँगै ट्याक्सीको नयाँ दर्ता प्रक्रिया अघि बढ्ने बताए। ‘ट्याक्सीको नयाँ मापदण्ड लागू भएसँगै नयाँ ट्याक्सीको दर्ता खोल्ने तयारी गरेका छौं,’ उनले भने, ‘नयाँ मापदण्ड ल्याएर ट्याक्सीलाई व्यवस्थित गर्नेछौं।’
यातायात अधिकारकर्मी रामबहादुर थापा सरकार आफैंले ट्याक्सीमा सिन्डिकेट बनाएको आरोप लगाउँछन्। ‘सरकारले नयाँ ट्याक्सी दर्ता प्रक्रिया रोकेको मात्रै छैन, २० वर्ष पुरानालाई फेरि सट्टा दर्ता गर्न दिएर एकाधिकारमा मलजल गरिरहेको छ। जसले गर्दा ट्याक्सीमा विकृति भित्रिएको छ।’
सारथि ट्याक्सी सेवाका प्रबन्धक अनिल चौधरी सरकारले नयाँ ट्याक्सी दर्ता तत्कालै खोल्नुपर्ने बताउँछन्। ‘सरकार आफैंले नयाँ ट्याक्सी दर्ता रोकेको छ। नयाँ ट्याक्सी भित्रिने वातावरण बनेको छैन,’ उनले भने, ‘नयाँ ट्याक्सी दर्ता खोलेर सेवालाई प्रतिस्र्धात्मक गराउन आवश्यक भइसक्यो।’
काठमाडौंमा रहेका ट्याक्सी उपत्यकामा मात्रै केन्द्रित छन्। थानकोट र जगातीबाहिर जाने ‘रुट पर्मिट’को व्यवस्था छैन। ‘उपत्यकामा चल्ने ट्याक्सी थानकोट र जगातीभन्दा टाढा जान पाउँदैनन्,’ यातायात अधिकारकर्मी थापाले भने ‘पटके रुट इजाजत लिएर गुड्नुपर्ने बाध्यता छ, सरकारले कम्तीमा पनि एउटा प्रदेशभित्र सञ्चालन गर्ने अनुमति दिन आवश्यक भइसक्यो।’
सरकारले २० वर्ष पुराना ट्याक्सीको नम्बर खारेज गरेर नयाँलाई खुला प्रतिस्पर्धाबाट दर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने थापाको भनाइ छ। ‘२० वर्ष पुराना ट्याक्सीका नम्बर प्लेट खारेज नगर्दा यसको बेचविखनमा धेरै विकृति देखियो,’ उनले भने, ‘सरकारले २० वर्ष नाघेका ट्याक्सीको दर्ता खारेज गरेर प्रतिस्पर्धाबाट नयाँ भिœयाउनेलाई बाटो खोल्न जरुरी भइसक्यो।’
हाल काठमाडौं उपत्यकामा करिब नौ हजार ट्याक्सी गुड्छन्। ट्याक्सी व्यवसायीका अनुसार अहिले साढे आठ लाखदेखि १० लाख रुपैयाँसम्म ट्याक्सीको नम्बर प्लेट खुलमखुला बिक्री हुन्छ। काठमाडौंमा गुड्ने ट्याक्सीका लागि यात्रु चढ्नेबित्तिकै १४ रूपैयाँ र प्रतिकिलोमिटर ३७ रूपैयाँका दरले भाडा तोकिएको छ।
हाल उपत्यकामा नौ हजार ट्याक्सी सञ्चालनमा छन्। तर, अधिकांश ट्याक्सी मिटरमा गुड्न मान्दैनन्। त्यसले गर्दा यात्रु दिनहुँ ठगिइरहेका छन्।
प्रकाशित: ५ असार २०७६ ०६:२० बिहीबार