८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कछुवा गतिमा निर्माण

निर्माण कार्य भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक । तस्बिर : सरिता/नागरिक

सरिता श्रेष्ठ, धादिङ
हिमनाथ देवकोटा, रसुवा

जेठ - राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक निर्माणको काम कछुवा गतिमा भएको छ । धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाइको सडक निर्माण मुआब्जा विवाद र पोल सार्न ढिलाइ गर्दा स्तरोन्नतिको काम सुस्त भएको आयोजनाको भनाइ छ । तीन चरणमा विभाजन गरेर काम सुरु गरिएको साढे दुई वर्ष बितिसक्दा पनि सोचेजस्तो उपलब्धि हाँसिल गर्न सकेको छैन । सडक निर्माणमा देखिएका अवरोधका चाङले तोकिएको मितिमा यो सडक निर्माण हुने सम्भावना टर्दै गएको छ ।

धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्मको सडकमा अहिले ४६ किमि दूरीसम्मको काम भइरहेको छ । केही ठाउँमा कालोपत्रे गरिसकेको छ भने कुनै ठाउँमा सडकको दायाँबायाँ पर्खाल लगाउने कार्य भइरहेको छ । सडक निर्माण २१ महिनामा सम्पन्न गर्ने गरी २०७३ कात्तिक २२ मा सम्झौता भएर पुस १ गतेदेखि सडकको स्तरोन्नति तथा विस्तारको काम सुरु गरिएको थियो । तर सोचे जस्तो उपलब्धि हाँसिल गर्न नसकेपछि ६ महिना थप गरी २७ महिनाभित्र अर्थात २०७५ फागुन ५ भित्र काम सम्पन्न गरिसक्ने लक्ष्य लिएको थियो ।

सडक निर्माणका क्रममा भएको अवरोध, सुस्त कार्य र सोचेजस्तो उपलब्धि हुन नसकेपछि २०७६ असार मसान्तसम्ममा सक्ने लक्ष्य राखिएको थियो । निर्माण सम्पन्न गर्ने म्याद अब दुई महिना पनि बाँकी छैन । तोकिएको मितिका काम सम्पन्न गर्न नसकिने आयोजनाका प्रमुख नारायण दत्त भण्डारीले बताए । ‘लक्ष्य अनुसार निर्माण सम्पन्न गर्न काम गरिरहेका छौं,’ उनले भने, ‘फेरि म्याद थपेर भए पनि सडक निर्माण कार्यलाई जारी राख्नेछौं ।’

गल्छीदेखि त्रिशुलीसम्मको केही भागमा कालोपत्रेको काम पनि सुरु भएको छ । घर र जग्गाको मुआब्जा वितरणमा ढिलाइ हुँदा काममा समेत अवरोध आएको छ भने कालोपत्रेको काम पनि ठाउँठाउँमा मात्रै भएको छ । वर्षायाम सुरु भएकाले पानी आउनासाथ काममा अवरोध आउने गरेका कारण पनि निर्माणमा ढिलाइ भएको हो । कहिले धुलो, कहिले हिलोले सडक आसपासका स्थानीय आजित बनेका छन् ।

नेपाली सेना, ठेकेदार पक्ष र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमि सडक ठेक्का पाएका तीन कम्पनीमध्ये टुण्डी निर्माण कन्स्ट्रक्सनले गर्दै आएको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेंसीसम्म १८ किमी सडक नेपाली सेना र बाँकी स्याफ्रुबेंसीबाट रसुवागढीसम्मको १८ किमि सडक चीन सरकारले निर्माण जारी राखेका छन् । नौ अर्ब ५० करोड लगानीमा निर्माण गर्न लागिएको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किमि सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो ।
निर्माणाधीन सडक धादिङको गल्छी–देवीघाट–पिपलटार– त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी जुन चीनको केरुङ प्रवेशमार्ग मितेरी पुल रेसुओपोर्टमा जोडिने छ ।

यो सडक निर्माणपछि धादिङको गल्छी हुँदै नुवाकोट, रसुवा र धादिङकै उत्तरी भेगमा जान सजिलो बाटो हुन्छ । उत्तर–दक्षिण जोड्ने छोटो नाकाको रुपमा रहेको यो सडक विस्तारलाई प्रभावकारी बलियो तथा गुणस्तरीय सडक निर्माणका लागि स्थानीयले पनि जोड दिएका छन् ।
 
४५ प्रतिशत काम सम्पन्न
योजनाका अनुसार गल्छीदेखिको मैलुङसम्ममा ४५ प्रतिशत काम सम्पन्न भएको छ । आगामी असार मसान्तसम्ममा सक्नुपर्ने सडक मुआब्जा, निर्माण कार्यमा अवरोधको कारण देखाउँदै काममा ढिलाइ भएको आयोजनाको भनाइ छ । काममा अवरोध नआएको भए अहिले ८० प्रतिशतसम्म पुग्ने योजना प्रमुख भण्डारीले बताए । समयमै काम हुन नसकेपछि एक पटक म्याद थप गरी काम भइरहेको छ । लक्ष्य अनुसारको काम नहुँदा केही समय लम्बिन सक्ने भण्डारीले बताए ।
यो सडक तीनवटा देश जोड्ने सामरिक महŒव बोकेको योजना हो । यो सडकले चीनसँगको व्यापारिक नाका केरुङ जोड्ने र पछि भारतसँग सीमा जोडिएको ठोरी नाका जोड्ने व्यापारिक नाकाको रुपमा विस्तार गर्ने सरकारी योजना रहेको छ । यसलाई व्यापारिक, अन्तर्राष्ट्रिय र त्रिदेशीय मार्ग जोड्ने महŒवपूर्ण नाकाको रुपमा लिइएको छ ।  

मैलुङदेखि स्याफ्रुवेशी सडक अन्यौल
रसुवाको मैलुङदेखि स्याफ्रुवेशीसम्मको १८ किमिमा नेपाली सेनाले ट्र्याक खोलेको छ । यस खण्डमा सडक चौडा गर्ने कि सुरुङ खन्ने भन्ने अन्यौल छाउँदा टेन्डरको काम पनि सुरु हुन सकेको छैन । गत वर्षको कात्तिकमा टेन्डर गर्ने भनिएको भए पनि सुरुङ निर्माण गर्ने कि नगर्ने भन्ने अन्योलका कारण हालसम्म टेन्डर हुन नसकेको योजना प्रमुख भण्डारीले बताए । ‘सुरुङ निर्माणबारे विभागमा प्रतिवेदन बुझाएका छौं,’ उनले भने, ‘सुरुङ निर्माणका लागि मैलुङदेखि स्याफ्रुसम्म १९ किमि हुनेछ, एक किमि बराबर दुई अर्ब रुपैयाँ खर्च लाग्ने भएकाले अन्यौल छाएको छ ।’

२०७२ वैसाख १ देखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्र्याक खोल्ने कार्य सकिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किमि छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किमि रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेंसीको दूरी २९ किमि मात्रै छ । पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन ।
बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट जान कुनै पनि घुम्ती पार गर्नु पर्दैन । मैलुङ¬–स्याफ्रुबेंसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ । २०४२ देखि पासाङ ल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App