२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कामदार नहुँदा ट्रायल अप्रेसन हुन सकेन

रसुवा - माथिल्लो त्रिशूली थ्रि ‘ए’मा कामदार नहुँदा ट्रायल अप्रेसनको काम रोकिएको छ । आयोजनाको पहिलो युनिटमा कार्यरत चिनियाँ कामदारको वर्किङ भिसाको म्याद सकिएर स्वदेश फर्केपछि कामदार अभाव भएको हो । गत बिहीबारसम्म ट्रायल अप्रेसन सकाएर पहिलो युनिटबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य थियो । आयोजनाले यही जेठ ३ गते शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । यही जेठ ३० गते कामदार फर्कने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए ।

‘दोस्रो लटमा कार्यरत कामदारलाई ल्याउने गरी छलफल पनि चलिरहेको छ,’ उनले भने, ‘भिसाको म्याद थप्न प्रक्रिया लामो हुँदा समस्या भएको छ।’ नेपाल विद्युत् प्राधिकरणले ट्रायल अप्रेसन सकिएपछि निर्माण पक्षलाई टेकिङ ओभर सर्टिफिकेट प्रदान गर्ने छ ।’

परीक्षण उत्पादन हुने समयमा चिनियाँ कामदारको म्याद सकिन लागेको हो । विदेशी कामदारले पाँच वर्षसम्म वर्किङ भिसा पाउने र आयोजना निर्माण गर्न नौ वर्षसम्म लागेकाले समस्या आएको हो । ६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् जेठ २ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । आगामी असारको तेस्रो साताभित्र दोस्रो युनिटको लोड टेस्ट गरिने छ ।

असार मसान्तसम्ममा आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन सुरु गर्ने छ । पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहने छ ।

दुवै युनिटबाट ३०–३० मेगावाट विद्युत् उत्पादन हुन्छ । रसुवामा बाँध र नुवाकोेटमा विद्युत् गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो । चालु आर्थिक वर्ष २०७५÷७६ भित्र दुबै युनिटबाट विद्युत् उत्पादन गरिने लक्ष्य लिइएको छ । आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो । आयोजनाको निर्माण ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी)ले गरेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी)सँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।

आयोजना २०६८ वैशाखदेखि निर्माण सुरु भएको थियो । भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो । भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु¥याएको थियो । आयोजना निर्माण सम्पन्न गर्नका लागि १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । आयोजनाबाट उत्पादन भएको विद्युत् थ्री बी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिने छ । जसमा पावर हाउस (सिम्ले)देखि थ्री बी हबसम्म १३२ केभी, थ्रिबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ ।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App