९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

ह्वावेका अब बन्ने फोनमा फेसबुक नचल्ने

बेइजिङ – अमेरिकी पार्टपुर्जा र सफ्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी ह्वावेमाथि अर्को धक्का लागेको छ। अमेरिकी कम्पनी फेसबुकले पनि ह्वावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ। ह्वावे स्मार्टफोन किनिसकेका ग्राहकले भने फेसबुक एप्स प्रयोग र अपटेड गर्न पाउने फेसबुकले जनाएको छ। तर, अब बन्ने नयाँ ह्वावे फोनमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप हुने छैन।

स्मार्टफोन उत्पादकहरुले फेसबुक, इन्स्टाग्रामजस्ता एप्स आफ्ना सेटमा पहिल्यै इन्स्टल गरेर ग्राहककहाँ पठाउन सम्बद्ध कम्पनीसँग व्यापारिक सम्झौता गरेका हुन्छन्। ट्विटर र बुकिङ डट कमजस्ता एप्स पनि ह्वावेको फोनमा पहिल्यै इन्सटल भएर आइरहेका छन् अहिलेसम्म। ट्विटरले उसको एप ह्वावेमा पहिल्यै इन्स्टल हुने, नहुने विषयमा बुझ्न खोज्दा प्रतिक्रिया दिन नमानेको र बुकिङ होल्डिङ्सले कुनै प्रतिक्रिया नदिएको प्राप्त समाचारमा उल्लेख छ।

फेसबुकको यो कदमले ह्वावेको बिक्री परिदृश्य धमिल्याउन सक्ने अनुमान गरिएको छ। गत वर्ष ह्वावेको प्रमुख आम्दानी स्रोत स्मार्टफोन नै थियो। पछिल्लो समय युरोपेली र एसियाली बजारमा ह्वावेको स्मार्टफोन निकै लोकप्रिय बनिरहेको छ। अल्फाबेटको गुगलले यसअघि नै अमेरिकी सरकारले दिएको ९० दिनको अवधि अगस्टमा सकिएपछि ह्वावेलाई एन्ड्रोइड सफ्टवेयर नदिने घोषणा गरिसकेको छ। तर, अहिले तयार भएर बजारमा पुगिसकेका र तयार भइसकेका ह्वावे स्मार्टफोनमा भने गुगलको प्लेस्टोर र सबै गुगल एप्सहरु उपलब्ध हुनेछन्। फेसबुक प्रतिबन्ध भने तयार भइसकेको तर, कारखानाबाट बाहिरिन बाँकी ह्वावे फोनमा पनि लागू हुने यस विषयका जानकार अधिकारीले बताएका छन्। यो निलम्बन कहिले लागू हुन्छ भन्ने विषयमा फेसबुकले केही खुलाएको छैन।  गत मेमा वासिंगटनले ह्वावेलाई प्रविधि बेच्न अमेरिकी कम्पनीहरुलाई प्रतिबन्ध लगाएको थियो। अमेरिकाले ह्वावेविरुद्ध लामो समयदेखि चलाइरहेको अभियानको एक हिस्साको रुपमा यो कदम चालेको हो। अमेरिकाले ह्वावे चिनियाँ सरकारसँग निकै नजिक रहेको र उसको टेलिकम नेटवर्क तथा अन्य उत्पादनहरु अमेरिकाविरुद्धको जासुसीमा प्रयोग हुन सक्ने आरोप लगाइरहेको छ। ह्वावेले भने यसलाई अस्वीकार गरेको छ।

ह्वावे फोनका अहिलेका मोडल खरिद गर्ने उपभोक्ताले आफ्नो फोनमा फेसबुक छैन भने पनि गुगल प्लेस्टोरबाट डाउनलोड गरेर चलाउन सक्छन्। अब आउने ह्वावे फोनले भने अमेरिकी सरकारले निर्णय नउल्टाएसम्म गुगल प्लेस्टोरमा पहुँच पाउने छैनन्। ह्वावेले आफू अमेरिकी कारबाहीको सामना गर्न तयार रहेको र जुनसुकै कठिनाइमा पनि काम गर्ने घोषणा गरेको छ। तर, युरोप र एसियाका केही पसलमा भेटिएका ग्राहकले भने यो अनिश्चयबीच आफूहरु ह्वावेका फोन किन्न अनिच्छुक रहेको समाचार संस्था रोयटर्सलाई बताएका छन्। विश्लेषकहरुले ह्वावेका फोनको बिक्रीमा नाटकीय गिरावट आउने अनुमान गरेका छन्।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App