२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

हुलाकी राजमार्गको गति निकै सुस्त

निर्माणमा ढिलाइ गरिएको वीरगन्ज–कलैया–बरियारपुर हुलाकी राजमार्ग। तस्बिर: उपेन्द्र/नागरिक

बारा - हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–कलैया–बरियारपुर खण्डको निर्माणमा हेलचेक्रयाइँ गरिएकोे पाइएको छ। सडक क्षेत्रमा पर्ने बिजुली पोल, तार र भौतिक संरचना हटाउन र सम्पन्न कामको भुक्तानीमा ढिलाइ हुँदा निर्माण कार्य सुस्त गतिमा अघि बढेको निर्माण कम्पनीले जनाएको छ।

यो सडक बनाउन २०७७ असार ११ सम्ममा सम्पन्न गर्ने गरी २०७४ पुस १२ मा स्वच्छन्द-पप्पु-हिम सगरमाथा जेभीले ८५ करोड ८५ लाखमा ठेक्का सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ।वीरगन्ज महानगरपालिकाको लक्षुमनवादेखि महागढीमाई नगरपालिकाको बरियारपुरसम्मको लगभग १९ किलोमिटर खण्ड बारा सदरमुकाम कलैयालाई वीरगन्जसँग जोड्ने एक्लो सडक विकल्प हो।

पहिलादेखि नै लगभग सात मिटर चौडा बरियारपुर–कलैया–वीरगन्ज सडक अहिले नालासहित १५ मिटरमा निर्माण भइरहेको वीरगन्जस्थित आयोजना कार्यालयले जनाएको छ। ठेक्का सम्झौतापछि पप्पु कन्सट्रक्सनले निर्माण गरिरहेको आयोजना कार्यालयका इन्जिनियर अमरेन्द्र यादवले जानकारी दिए। उनका अनुसार निर्माण सम्पन्न गर्न एक वर्षमात्र बाँकी रहँदा ४५ प्रतिशत काम मात्र भएको छ।

निर्माण कम्पनीका प्रतिनिधि जहुर मियाँले ठेकेदारभन्दा सरकारी पक्षकै ढिलासुस्तीले कामको गति सुस्त भएको बताए। सुरुमा साबिक सडकको मध्य भागदेखि दायाँ–बायाँ ७.५–७.५ मिटरभित्र परेको बिजुली पोल र भौतिक संरचना हटाउन समय खर्च भएको मियाँले बताए। ती संरचना हटाइएपछि भुक्तानीमा ढिलाइले कामको गति सुस्त भएको उनको भनाइ छ।

४५ प्रतिशत जति भौतिक प्रगति भए पनि अहिलेसम्म २० प्रतिशतको मात्र भुक्तानी पाएको उनले बताए। हुलाकी राजमार्ग आयोजनाले सकिएको कामको भुक्तानीमा ढिलाइ नगरेको  भए अहिलेसम्म ५५ प्रतिशत जति काम सकिने मियाँको भनाइ छ। अहिले कालोपत्रेको लागि उपयुक्त समय भए पनि भुक्तानी रोकिँदा नाममात्रको काम भइरहेको उनले बताए।

‘सडकमा पुरानो ग्राभेल प्रयोग गरेको बहानामा १५ करोडभन्दा बढी भुक्तानी रोकिएको छ,’ मियाँले भने, ‘भुक्तानी रोकिएपछि मजदुरको तलब दिनसमेत समस्या छ।’ नाला र कल्भर्ट निर्माण सम्पन्न गरिएको र कालोपत्रे गर्न ग्राभेल समेत खसालिएको उनले जानकारी दिए। हुलाकी राजमार्ग आयोजनाका प्रमुख अशोक तिवारीले प्रविधिक कारणले भुक्तानी ढिलो भएको बताए।

निर्माण कम्पनीले सुरुमा सडकमै रहेको पुराना ग्राभेल प्रयोग गरेको गुनासो आएपछि त्यसबारे बुझ्न समय लागेकोले भुक्तानीमा ढिलाइ भएको तिवारीको भनाइ छ। अब नयाँ ग्राभेलको प्राविधिक मूल्यांकन गरेर मात्रै भुक्तानी दिने उनले बताए।

प्रकाशित: २३ जेष्ठ २०७६ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App