२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

६ हजार पाँच सय ६३ रुख कटान

निकुञ्जका रुख कटान गरी बिछ्याउँदै गरिएको पाइपलाइन । तस्बिर ः नागरिक

बारा - भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिएको छ। पाइपलाइन बिछ्याउने कार्यमा बाधा बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको उपस्थितिमा चैत ४ गतेदेखि काट्न सुरु गरिएको थियो।

निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रहेका ६ हजार पाँच सय ६३ वटा रुख काट्ने काम सकिएको आयोजनाका अधिकारीले जानकारी दिएका छन्। ती रुखलाई टुक्रा गरी सुरक्षित स्थानमा राख्ने र जरा हटाउने कार्य अन्तिम चरणमा पुगेको मोतिहारी–अमलेअगन्ज पेट्रोलियम पाइपलाइन परियोजना प्रमुख प्रदिप यादवले बताए। रुख कटान गरिएको निकुञ्जको नौ किलोमिटर जग्गामध्ये पाँच किलोमिटरमा पाइप बिछ्याउने काम सकिएको उनले बताए। बाँकीमा पनि वैशाखभरिमा बिछ्याइसक्ने उनले आयोजना प्रमुख यादवको भनाइ छ। ‘पाइपलाइनको ९० प्रतिशत काम सकिएको छ,’ आयोजना प्रमुख यादवले भने, ‘बाँकी काम वैशाखभित्र सकिनेछ।’ ६९ किमि पाइपलाइनमध्ये नेपालतर्फ पर्ने पाँच किमिमात्रै पूरा गर्न बाँकी रहेको उनले बताए।

यही वैशाख पहिलो हप्ताभित्र निर्माण सम्पन्न गरी पाइपबाट पेट्रोलियम आयात गर्ने योजना बनाए पनि निकुञ्जको रुख कटान र व्यवस्थापनमा समय बढी लागेकाले एक महिनापछि धकेलिएको यादवको भनाइ छ। अब भने जेठमा परीक्षण गरिने यादवले बताए।

पाइपलाइन निर्माणमा संल्गन भारतीय ठेकेदार कम्पनीको प्राविधिक टोलीले वैशाखमै काम सक्न रातदिन काम गरिरहेको यादवको भनाइ छ। यो पाइपलाइनको ३६.२० किमि नेपालमा र बाँकी ३२.८० किलोमिटर भारतीय भूमिमा पर्छ। प्रतिकिलोमिटर पाइपलाइन निर्माण गर्दा पाँच करोड भारतीय (आठ करोड नेपाली) रुपैयाँ खर्च हुने अनुमान गरिएको निगमका अधिकारीले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०७६ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App