८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौता हुँदै

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण गर्न लागिएको सुक्खा बन्दरगाह निर्माणस्थल। तस्बिर : नागरिक

रसुवा - रसुवागढी नाकामा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि चिनियाँ टोली नेपाल आएको छ। निर्माणको जिम्मेवारी पाएको तिब्बेत फुली कन्स्ट्रक्सनको टोली नेपाल आएको हो।

एक साताभित्र निर्माण पक्षसँग काम गर्नका लागि सम्झौता (इम्प्लिेमेन्टेसन माइनुट) हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। चीन सरकारको सहयोगमा चिनियाँ पक्ष आफैले बन्दरगाह निर्माण गर्ने छ। सम्झौता भएको एक महिनाभित्र काम सुरु हुने समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए। ‘गत असोजदेखि निर्माण कार्य अघि बढाउने योजना थियो,’ उनले भने, ‘प्राविधिक कारणले ढिलो हुन पुगेको हो।’

वर्षाको समयमा निर्माणको काम हुन नसक्ने भए पनि सामग्री आयात गर्ने, क्याम्प निर्माण गर्नेलगायत काम हुने इन्जिनियर आचार्यले बताए। बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएर ठेकेदार छनौटको काम सकिएको छ। ‘चीन सरकारको लगानीमा चिनियाँ टोलीले नै निर्माण गर्ने भएकाले हामीले समन्वय मात्रै गर्छौं,’ उनले भने, ‘नेपाली पक्षले के काम गर्ने र चिनियाँ पक्षले कसरी काम गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’

चीन सरकारले दुई चरणमा बन्दगाह निर्माण गर्ने जनाएको छ। डिजाइन अनुसारको काम पहिलो चरणमा पूरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरिने छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बन्ने बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिसकिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरिसकिएको छ।

चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ। समितिले २०७५ माघ १ गते चीनको छेन्दुमा पुगेर सुक्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो। नेपाली पक्षले स्थानीयको समस्या समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामग्री आयातमा भन्सार छुटको व्यवस्थालगायत कार्य गर्नेछ। निर्माण अवधिभर नेपाली पक्षले अनुगमन, निगरानी र समन्वयको भूमिका निर्वाह गर्नेछ।

आर्किटेक्चरल रिकन्नाइन्सेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो। बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक, ल्याब रहने छ। बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँचतले प्रशासनिक भवन, सात सय ५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुईवटा जाँचपास स्थल रहने उनले बताए। निर्माण सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको चिनियाँ पक्षले जनाएको छ।

बन्दरगाहमा तीन सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ। साढे आठ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ।

प्रकाशित: २३ वैशाख २०७६ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App