९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

३० प्रतिशत काम पूरा

रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरमा निर्माणाधीन फलाखुखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण गरिँदै। तस्बिर: नागरिक

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको ३० प्रतिशत काम सकिएको छ।

१४.७ मेगावाटको आयोजना डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ। आयोजनाले अहिले मुख्य सुरुङ निर्माणको काम गरिरहेको छ। यो आयोजना चिनियाँ ठेकेदार चोङकिङ वाटर टर्बाइन वक्र्स एन्ड कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ।

आयोजनाले जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण सम्पन्न गरेसँगै संरचना निर्माणको काम अघि बढाएको बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले जनाएको छ। आयोजनाको सुरक्षाका लागि नेपाली सेनाको कालीजंग गणको क्याम्प राखिएको छ।

यार्सामा हेडवक्र्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहनेछ। आयोजनाको लागत दुई अर्ब ४० करोड रहेको छ। आयोजनाले दिएको जानकारी अनुसार दुई हजार तीन सय मिटर टनेल र एक हजार आठ सय मिटर पेनस्टक रहनेछ। तीमध्ये तीन सय मिटर टनेल निर्माण भइसकेको छ।

त्यस्तै फलाखुखोला (पाँच मेगावाट) जलविद्युत् आयोजनाको निर्माण कार्य २० प्रतिशत सकिएको छ। माथिल्लो आयोजनाबाट पानी कहाँ खसाल्ने भन्ने यकिन नहुँदा काम सुस्त भएको हो।

माथिल्लो आयोजनाले पानी खसाल्ने ठाउँ निश्चित गरेपछि ड्याम निर्माणको काम अघि बढाइने रसुवा हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक विसम रिमालले जानकारी दिए। यो आयोजनाको लागत करिब एक अर्ब रुपैयाँ रहेको छ।
आयोजनाले पावर हाउस सम्माउने काम गरिसकेको छ। आयोजनाले दिएको जानकारीअनुसार एक हजार एक सय मिटर मुख्य सुरूङ र एक हजार दुई सय मिटर पेनस्टक रहने छ। यो आयोजनाको ड्याम साँघाचौरमा रहने र दनुस्वारामा पावर हाउस रहने बताइएको छ।

उत्पादन हुने विद्युत् त्रिशुली थ्रिबी हवमा जोडिने छ। पाँच मेगावाट क्षमताको आयोजनाले नौ किलोमिटर र १३.७ मेगावाट क्षमताको आयोजनाले १४ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ। जिल्लामा अहिले १३ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। पाँच वर्षभित्र यी आयोजनाबाट ६ सय ९८ मेगावाट विद्युत् उत्पादन हुन्छ।

प्रकाशित: १५ वैशाख २०७६ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App