coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चैतमा मात्र १३ अर्ब व्याज

काठमाडौं - विभिन्न वाणिज्य बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गरेका लगानीकर्ताले चैत मसान्तमा मात्र १३ अर्ब रुपैयाँभन्दा बढी ब्याज बुझाएका छन्। लगानीकर्ताले ऋण लिएबापत बुझाएको यो ब्याज रकमले बैंकको आम्दानीसँगै अहिले देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावमा समेत केही कमी ल्याउने छ।

‘चैत मसान्तमा ब्याजबाट मात्र बैंकले करिब १३ अर्ब रुपैयाँ आम्दानी गरेका छन्,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अहिले आएको ब्याजको रकमले लगानीयोग्य पुँजी अभावलाई कम गर्न सहयोग पुग्नेछ।’
पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन्। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चैत २४ सम्म वाणिज्य बैंकहरुले २७ खर्ब सात अर्ब निक्षेप संकलन गरेर २४ खर्ब १३ अर्ब लगानी गरेका छन्। तिनै लगानीबाट १३ अर्ब रुपैयाँ चैतमा ब्याज मात्र आएको हो। बैंकहरुले लामो सयमदेखि लगानीयोग्य रकम अभाव खेप्दै आएका छन्। त्यो अभाव कम गर्न ब्याजबाट उठेको रकमले सहयोग गर्नेछ।

वैशाख लागेसँगै सरकारले विकास निर्माणका कामलाई दु्रत गतिमा अघि बढाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिन थालेको छ। यसले ढुकुटीमा रहेको रकम बैंकिङ प्रणालीमा आउने भएकाले तरलता अभाव कम हुँदै जाने अध्यक्ष ढुंगानाले बताए। ‘बैंकलाई प्राप्त भएको ब्याज रकम र सरकारी खर्च समेत बढेकाले तरलताको अभाव कम हुँदै गएको छ,’ उनले भने, ‘लगानीयोग्य रकमको अभाव कम हुँदै गएकाले ब्याजदर पनि घट्न थालेको छ।’ ०.५ देखि एक प्रतिशतसम्म बैंकको ब्याज घट्न लागेको पनि उनले जानकारी दिए।

दुई वर्षदेखि बैंकहरुले तरलताको अभाव खेप्दै आएका छन्। २०७२ को वैशाखमा आएको भूकम्प र त्यसपछिको तराई–मधेस आन्दोलनका समयमा बैंकिङ प्रणालीमा प्रशस्त रकम थियो। बचतकर्ताले सुरक्षित हुन बैंकमा लगेर पैसा जम्मा गरेका कारण बैंकिङ प्रणालीमा यथेष्ट लगानीयोग्य पुँजी थियो। त्यसबेला बैंकहरुले बचत खातामा एक प्रतिशतदेखि १.५ प्रतिशतसम्म ब्याज दिइरहेका थिए। कर्जाको माग नभएकाले ६ देखि सात प्रतिशत ब्याजदरमा बैंकहरु कर्जा लगानी बाध्य थिए।

तर, अहिले परिस्थिति उल्टिएको छ। बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गर्ने बढेका छन्। ऋणको माग अनुसार निक्षेप बढेको छैन्। गत आर्थिक वर्ष तरलताको अभावका कारण बैंकहरुको नाफामा खासै वृद्धि हुन सकेको थिएन। तर, चालु आवमा बैंकमा लगानीयोग्य पुँजीमा संकुचन आए पनि नाफामा ठूलो वृद्धि हुने एक बैंकरले बताए। ब्याज आम्दानीका कारण बैंकको नाफा वृद्धि हुने अपेक्षा गरिएको छ। व्यापारको आकार बढेकोले बैंकको नाफा पनि गत वर्षभन्दा धेरै बढ्ने देखिन्छ। २८ वाणिज्य बैंकहरु चालु आर्र्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन्। वित्तीय विवरणमा बैंकको नाफा अपेक्षा गरिएभन्दा सुधार हुने अनुमान छ।

कर्जासँगै निक्षेप पनि बढेकाले आउँदो तेस्रो त्रैमासमा बैंकहरुको नाफा अझ बढ्न सक्ने संकेत देखिएको बैंकरहरु बताउँछन्। गत आवको तुलनामा लगानीको वातावरणमा सुधार भएकाले पनि बैंकको नाफा तेस्रो त्रैमासमा अझै बढ्ने अपेक्षा बैंकरहरुले गरेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर सन्तोषजनक हुने संकेत गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो अवस्था सार्वजनिक गर्दै चालु आवको आर्थिक वृद्धिदर सुधार हुन सक्ने संकेत देखिएको जनाएको छ। अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने कृषि, ऊर्जा, पर्यटन तथा उद्योग क्षेत्रमा सकारात्मक संकेत देखिएकाले अर्थतन्त्रको वृद्धि सम्भव हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ।

देशको वित्तीय विवरण घाटामा गए पनि राष्ट्र बैंकले भने अर्थतन्त्रमा केही सुधारको संकेत देखिन थालेको जनाएको छ। पर्याप्त वर्षा हुनुका साथै कृषिजन्य सामग्रीको वितरणसमेत सहज भएकाले बर्खे बालीको उत्पादन बढ्ने केन्द्रीय बैंकले जनाएको छ।ऊर्जा तथा अन्य कच्चा पदार्थको आपूर्तिमा सुधार आएकाले उद्योगको उपयोग क्षमता विस्तार भएको तथा पर्यटकीय होटलको बेड अकुपेन्सी दरमा सुधार आएकाले पर्यटन व्यवसायमा सकारात्मक सुधार आएको उसले जनाएको छ। त्यसले अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने राष्ट्र बैंकको अनुमान छ।

प्रकाशित: ३ वैशाख २०७६ ००:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App