२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

हलो छाडेर आधुनिक उपकरणतर्फ उन्मुख हुँदै किसान

सिद्धलेक गाउँपालिकाले किसानलाई वितरण गरेको मिनिटेलर।

धादिङ - केही वर्षअघिसम्म धादिङका किसान खेत जोत्न हलो प्रयोग गर्ने गर्दथे। प्रत्येक घरमा एक हल गोरु पाल्ने गर्दथे तर अहिले त्यो जमाना फेरिएको छ। अहिले न किसानका घरमा हलजोडी गोरु छ न त हलो नै छन्। कृषिलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख किसानलाई धादिङको सिद्धलेक गाउँपालिकाले मिनिटेलर प्रदान गरेको छ। कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गराउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटेलर प्रदान गरेको हो। गाउँपालिकाका किसानलाई ६१ वटा मिनिटेलर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले जानकारी दिए। 

आधुनिक प्रविधिसँगै खेतबारी जोत्न हलो छाडेर किसान आधुनिक उपकरण प्रयोग गर्न थालेको भट्टराईको भनाइ छ। किसानको मागअनुसार सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए। ‘किसानले हलो छाडेर नयाँ नयाँ कृषि औजार प्रयोग गर्न थालेका छन्,’ भट्टराईले भने, ‘किसानको बढ्दो आवश्यकता र मागलाई सम्बोधन गर्दै किसानलक्षित सामग्री वितरण गरेका हौं।’ मिनिटेलरबाट खेतबारी जोत्न तथा पानी तान्न मिल्छ। ५० प्रतिशत अनुदान र ५० प्रतिशत अर्थात किसानले १६ हजार सात सय ५० रुपैयाँमा मिनिटेलर पाएका छन्। पेट्रोल लाग्ने मिनिटेलरमा एक घण्टामा एक लिटर तेल लाग्ने छ। कम समय र छिटो काम गर्न सकिने भएपछि किसान खुसी भएका छन्। मिनिटेलर पाएपछि गाउँमा खेताला र गोरु नपाएर खेत बाँझो राख्नुपर्ने समस्या हल भएको किसानको भनाइ छ।

देशको ग्रामीण क्षेत्रको जीविकोपार्जनको एउटा मात्र विकल्प कृषि पेसा हो। गाउँमा गोरु अभावका कारण खेतीयोग्य जमिन पनि बाँझो राख्नुपर्ने अवस्था छ। भौगोलिक अवस्था, सुहाउँदो तरकारी तथा खाद्यान्न बाली लगाउन र आधुनिक उपकरण प्रयोगसँगै किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले सहयोग गरेको हो। देशको करिब दुई तिहाई जनसंख्याको जीविकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडि परेको छ। आकासे पानीको भरमा रोपाइँ हुने जमिन बाँझिने क्रम बढ्दो छ। यस्ता समस्या समाधानका लागि जमिन बाँझो नराखी खेती गर्न गाउँपालिकाले आग्रह गर्दै आएको छ।

सोही अनुरुप गाउँपालिकाले किसान लक्षित विभिन्न कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताए। ‘किसानको आम्दानी वृद्धि गर्न कृषि पेसालाई यान्त्रीकरणसँग जोड्नु आवश्यक छ,’ अध्यक्ष सिलवालले भने, ‘कृषिमा आधुनिकीकरण गर्नका लागि मिनिटेलर वितरण गरेका हौं, गाउँपालिकाका किसानका लागि थप विभिन्न अनुदानका कार्यक्रम पनि ल्याएका छौं।’गाउँपालिकाले गत वर्ष पनि ४६ वटा मिनिटेलर वितरण गरेको थियो। यस वर्ष दुई चरणमा गरेर एक सय सात मिनिटेलर वितरण गरेको छ। ग्रामीण क्षेत्रका किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यअनुरुप मिनिटेलर, मल, तरकारी तथा फलफूलका बिरुवा तथा कृषि औजार अनुदानमा वितरण गरिँदै आएको गाउँपालिकाले जनाएको छ। यसले एकातिर किसानलाई खाद्यान्न उत्पादनमा सहज भएको छ, भने अर्कोतिर उत्पादन लागतसमेत कम हुँदै गएको किसानको भनाइ छ।

 

प्रकाशित: २८ चैत्र २०७५ ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App